सीमा निरीक्षण गर्न समिति

सीमा निरीक्षण गर्न समिति

काठमाडौं : सीमा विवाद चर्किएपछि सरकारले नेपाल–भारत र नेपाल–चीनको सीमा निरीक्षण गर्न समिति गठन गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले सीमाको अवस्थाबारे बुझ्न समिति गठन गर्ने निर्णय गरेको हो। 

समितिले भारत र चीनतर्फ नेपालसँग जोडिएको सीमाको अवस्था र सीमास्तम्भबारे अध्ययन गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए। भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि सरकारले समिति निर्माणमा तदारुकता देखाएको हो। 

‘समितिले भारत र चीनतर्फका सीमा दुरुस्त छन् कि छैनन्, कति अतिक्रमण भएको छ, सीमास्तम्भ छन् कि हराए, ठीक ठाउँमा छन् कि छैनन् भन्ने अध्ययन गर्छ’, सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘यसमा परराष्ट्र, गृह, भूमि व्यवस्थालगायत योसँग सम्बन्ध राख्ने मन्त्रालयका प्रतिनिधि रहन्छन्। यसले तीन महिनाभित्र परराष्ट्र मन्त्रालयमा प्रतिवेदन बुझाउँछ। ’

भारतले आफ्नो नक्सामा पारेको भूमि नेपालले कूटनीतिक आधारमा फिर्ता ल्याउने दाबी उनले गरे। ‘यो भूमि नेपालले यताउता गरेर लिएको हैन। यो जन्मजात र प्राकृतिक हो’, उनले भने, ‘कूटनीतिक र राजनीतिक तवरबाट समाधान गर्न सबै पार्टीले र जनताले तागत दिएका छन्। यो ६०–६५ वर्षदेखिको विवाद समाधान गर्ने अवसर पनि हो। हामी कसैले सैनिक र सामरिक समाधान खोजेका छैनौं। ’

‘कांग्रेसले उपनिर्वाचनमा जाल हान्न खोज्या होला’

कांग्रेसले मंगलबार सरकारको २१ महिनाको २१ असफलता सार्वजनिक गर्‍यो। सरकार राष्ट्रियतामा चुकेकोदेखि कामै गर्न नसकेकोसम्म उसले भनेको छ। सरकारका प्रवक्ता बाँस्कोटाले उपनिर्वाचनमा कांग्रेसले जाल हान्न यो आरोप लगाएको दाबी गरे। ‘कांग्रेसले आरोप लगाउन पाएकै थिएन। ऊ २००७ सालदेखि राजनीतिक सत्ताको मियो बनेको छ। इतिहासमा पहिलो पटक जनताले नेकपाको हातमा सत्ता सुम्पिए। सत्ताका ती दिन सम्झेर धुरुधुरु रुनुपर्ने भयो’, उनले भने, ‘कांग्रेस नेतृत्वमा हुँदा के गर्‍यो ? त्यसतर्फ हेरेर आरोप लगाएको भए हुने। यो त उपनिर्वाचनमा जाल हान्न खोजेजस्तो भयो। तर, जनता आफैं फैसला गर्न सक्षम छन्। ’

नेपालमा सत्ताको अस्थिरताको सुरुवात पनि कांग्रेसले गरेको उनले दाबी गरे। कांग्रेसले सुविधाजनक बहुमत हुँदा पनि सत्ता टिकाउन नसकेको टिप्पणी उनले गरे। उनले सरकारले ठूला घटनाको छानबिन गरिरहेको दाबी गरे। ‘कांग्रेसका पनि २९ वर्षका २९ गल्ती निकाल्न सक्छौं। लोकतन्त्रका लागि योगदान गरेको भन्दै कांग्रेसले सुवर्ण शमशेरलाई बालुवाटारको जग्गा दिएको हैन ? त्यो अहिले हामी छानबिन गर्दै छौं’, उनले भने, ‘सुन काण्ड हाम्रो पालामा भएको हो ? हामीले पक्राउ गर्‍यौं त। यी सबै बेतिथिबाट थिचिएको देशलाई मुक्त गर्दै छौं। हामीसँग पनि केही कमीकमजोरी छ, सुधार्दै अघि बढ्दै छौं। ’

उनले इँटाभट्टामा जीउँदै जलाएर २२ जनाको हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका निलम्बित सांसद मो. अफताव आलमलाई पार्टीबाट बर्खास्त गर्न कांग्रेसलाई चुनौती दिए। ‘म कांग्रेस प्रवक्ता (विश्वप्रकाश शर्मा)लाई भन्छु, तपाईं आलमको बारेमा बोल्न सक्नुहुन्छ ? ’, उनले भने, ‘पार्टीबाट बर्खास्त गरेर देखाउनुहोस् न। हामीले त सभामुख भएको व्यक्ति (कृष्णबहादुर महरा) लाई कारबाही गर्‍यौं। तपाईंहरू त पक्राउ हुँदा पनि १२ वर्ष पुरानो घटना भन्नुहुन्छ। ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.