‘सरकारविरुद्ध सडक र सदनमा धर्ना’

‘सरकारविरुद्ध सडक र सदनमा धर्ना’

काठमाडौं : संवैधानिक परिषद्को बहुमतबाट निर्णय गर्ने गरी सरकारले ल्याउन लागेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश नसच्याए सडक र सदनबाट सशक्त प्रतिरोध गर्ने कांग्रेसले चेतावनी दिएको छ। संविधान विपरीत सरकारले परिषद्लाई आफू अनुकुल बनाउन खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो। 

परिषद्बाट सर्वसम्मत निर्णय गर्नुपर्ने प्रावधानविपरीत सरकारले बहुमतका आधारमा संवैधानिक आयोगमा नियुक्त गर्न सकिने गरी ल्याउन लागेको अध्यादेशविरुद्ध सडक र सदनमा प्रतिरोध गर्ने प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले चेतावनी दिए। 

‘संवैधानिक व्यवस्थाविरुद्ध गएर सरकारले एकाधिकारवादी र अधिनायकवादी सोचका साथ ल्याउन लागेको यो अध्यादेश हामी कुनै पनि हालताम स्वीकार गर्दैनौं’, नेपाल ट्रेड युनियन कांग्रेसको प्रथम राष्ट्रिय परिषद् बैठकको काठमाडौंमा बिहीबार उद्घाटन गर्दै सभापति देउवाले भने, ‘सरकारको यो कदम लोकतान्त्रिक व्यवस्था विपरीत छ। यसका विरुद्ध हामी सडक र सदनमा धर्ना दिने अवस्था आउँछ। ’ सभापति देउवाले अध्यादेशलाई सदनमा पेश गर्नै नदिने स्पष्ट पारे। 

६ सदस्यीय परिषद्मा अध्यक्षसहित तीन सदस्य उपस्थित भए गणपुरक मानिने व्यवस्था प्रस्तावित अध्यादेशमा छ। प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ। संविधानले सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने बाध्यकारी व्यवस्था गरेकाले पनि सरकारले परिषद् बैठक बहुमतबाट निर्णय गर्न मिल्ने गरी अध्यादेश ल्याउन लागेको हो। 

कांग्रेस सभापति देउवाले अध्यादेशविरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावदी दिए। संवैधानिक परिषद्‍मा सभामुख र उपसभामुखका साथै प्रतिपक्षी दलका नेता अनुपस्थित हुँदा पनि निर्णय गर्न सक्ने गरी ल्याउन लागिएको संशोधनले परिषद्को गरिमा नै समाप्त हुने दाबी गरे। 

देउवाले सरकारको राष्ट्रवाद कालापानीमा पोखिएको भन्दै कटाक्ष गरे। उनले राष्ट्रवादको नारा दिएर चुनाव जितेको नेकपाको सरकारको राष्ट्रवाद छर्लंग भएको टिप्पणी गरे। ‘ओली सरकारको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारवाद भएको छ,’ उनले भने, खोक्रो राष्ट्रवादको नारा दिएर जनतालाई झृुक्याउने काम भयो। ’

सत्ताको आडमा आचारसंहिता उल्लंघन

कांग्रेसले सत्तारुढ दल नेकपाले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाएको छ। नेकपाले सत्ताको आडमा निरन्तर आचार संहिताविपरीत निर्वाचनलाई प्रभावित पार्ने काम गरिरहेको आरोप कांग्रेसको छ। केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको उपनिर्वाचन अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिले बिहीबार पत्रकार सम्मेलन गरी नेकपाले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाएको हो। 

‘पछिल्लो समयमा निरन्तर आचारसंहिता विपरीत सत्ताको दुरुपयोग गरी उप–निर्वाचनलाई प्रभावित गर्ने काम भइरहेका छन्’, संयोजक लेखकले भने, ‘उप–निर्वाचन हुने स्थानमा सरकार र सोसम्वद्ध पार्टीका सार्वजनिक पद धारण गरेका व्यक्ति निर्वाचन प्रचार प्रसारमा लाग्ने, विभिन्न स्थानमा पूर्व कार्यक्रममा नभएका नयाँ योजना, कार्यक्रम दिने, त्यस्ता आश्वासन दिने, बजेट दिने, अवाञ्छित क्रियाकलाप गरी मतदातालाई प्रभावित पार्ने लगायतका क्रियाकलाप भएका छन्। ’

कांग्रेसले निर्वाचन आयोगलाई पनि आचारसंहिता कार्यान्वयन गराउन कांग्रेसले ध्यानाकर्षण गराएको छ। मंसिर १४ गते ३७ वटा जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.