यतिबेला कांग्रेस एकजुट छ

यतिबेला कांग्रेस एकजुट छ

न्युयोर्कमा रहेकी कांग्रेस नेत्री सुजाता कोइरालासँग अमेरिकास्थित अनिल अधिकारीले प्रमुख प्रतिपक्षी दल कांग्रेसले खेल्ने भूमिका र आगामी महाधिवेशन लगाएतका विषयमा गरेको कुराकानीको सम्पादित अंश।


कांग्रेस बलियो प्रतिपक्षको भूमिकामा देखा पर्न नसकेको आम जनताको गुनासो छ नि ?

जनताले नै कांग्रेसलाई प्रमुख प्रतिपक्षी भूमिकामा रहन जनादेश दिएका हुन्। त्यही भूमिकामा कांग्रेस सक्रिय छ। कमजोर नै म भन्दिनँ, धेरै विषयमा कांग्रेसले सशक्त भूमिका खेलिरहेको छ। हुलदंगाभन्दा पनि कांग्रेसले विधिमा टेकेर संविधानतः काम गरिरहेको छ। नेकपाको बहुमतको सरकार जसरी एकपक्षीय ढंगले अगाडि बढ्न खोजेको थियो, त्यसलाई कांग्रेसले नै रोकेको हो। जनताको आवाज र लोकतन्त्रका अन्य आधार जोगाउन कांग्रेस स्पष्ट छ। हामी संख्याको हिसाबले भूमिकामा कमजोर भए पनि जनमतमा कमजोर छैनौं। प्राविधिक रूपमा केही भोटले उनीहरू सत्तामा रहे पनि कांग्रेसको जनमत कमजोर छैन।

कांग्रेसमा कमजोरी नै नभएको पनि म भन्दिनँ। कमजोरी नभएको भए त बहुमत आइहाल्थ्यो नि। कतिपय विषयमा हामी चुप लाग्ने र नेतृत्वले लत्तो छाडिदिने गरेको अवस्था छ। यसलाई हामीले हैसियतअनुसारको प्रतिनिधित्व भएको मान्नुपर्छ। जस्तो नेता, उस्तै जनमत र उस्तै काम। हामी चारैतिर हारेका छौं। स्थानीय सरकारमा हाम्रो स्थान कमजोर छ। संसदभित्र पनि हाम्रो संख्या कम छ। यस हिसाबले कमजोर झैं देखिएका हौं। यतिबेला सरकारका क्रियाकलापका कारण पनि जनतामा कांग्रेसप्रति आशा जागेको छ। नेतृत्वले यसमा ध्यान दिन जरुरी छ।

नेतृत्वको अधिक आलोचनालाई कसरी हेर्नुभएको छ ?

काम नेतृत्वले नै गर्ने भएकाले आलोचना पनि नेतृत्वकै हुन्छ। तर पार्टी नेताहरूले पछिल्ला क्रममा धेरै राम्रो भूमिका निर्वाह गरिरहेका छन्। पत्रपत्रिकामा आएजस्तो खत्तमै भयो भन्ने पक्षमा म छैन। केही विषय गम्भीर हुन्छन्, त्यसलाई सही ढंगले बोल्न सकिएको हुँदैन।

केही विषयमा बोल्दै जाँदा नेताहरूले गल्ती पनि गरेका हुन्छन्, तर समग्रमा कांग्रेस नेताहरू अहिले सही ट्र्याकमा छन्। नेतृत्वको कामप्रति व्यक्तिगत रूपमा म पनि पूर्ण सन्तुष्ट नभए पनि पार्टीको अवस्था कमजोर भयो भन्ने विश्लेषणमा दम छैन।

नेताहरू चारतिर फर्केका छन्, पार्टी गुट–उपगुटले थला परेको त सत्य हो नि ?

पार्टीले अहिले आफू सुधारिन धेरै मेहनत गरेको छ। यताउता फर्केका नेताहरू मिल्न थालेका छन्। गुट–उपगुट पहिला थियो अहिले विलिन हुँदै गएको छ। राष्ट्र र लोकतन्त्रका लागि नेताहरूले अब हामी एक हुनुपर्ने रहेछ भन्ने जिम्मेवारीबोध गरेका छन्। हिजो रामचन्द्रजी, शेरबहादुरजी या अन्य समूह भनेर जुन व्याख्या गरिन्थ्यो, अहिले पार्टीमा त्यस्तो अवस्था छैन र हुनु हुँदैन। कुनै पनि गुट नै नभएको त होइन तर अहिले कांग्रेसले चेतेको मेरो बुझाइ हो। सबै मिलेर अघि बढ्नुपर्छ भन्ने रियलाइजेसन सबैमा भएको छ। यही मंसिर १४ गते हुने उपनिर्वाचनमा सबै नेताहरू सम्बन्धित गाउँगाउँमा पुगेर क्याम्पेनिङ गरिरहेका छन्। यसले पार्टीलाई नयाँ ढंगले रक्तसञ्चार गरेको छ।

नेकपा र सरकारले हामी मात्रै हौं, हाम्रो मात्रै चल्छ या हामी मात्रै चलाउँछौं भनेर सोच्यो भने देश दुर्घटनामा फस्छ। यसमा हामी सचेत हुनुपर्छ।

हामी एक भयौं भने पार्टी बलियो हुन्छ भन्नेमा सब नेता एकमत छन्। कांग्रेस आफ्नै कारणले कमजोर भएको हो। कांग्रेसका नेताहरूबीच आन्तरिक विवाद नहुने हो र अन्तर्घातको संस्कृति मेटिने हो भने कांग्रेसलाई कसैले हराउन सक्दैन। कांग्रेसले प्राप्त गरेको मत र हिजोका चुनावमा भएको विवादको मूल्यांकन गर्नुभयो भने प्रस्ट हुन्छ—कांग्रेस आफ्नै कारणले हारेको हो, अन्य कुनै समूहले हराएको होइन। नेताहरूको भूमिका सकारात्मक हुँदै गएकाले मेरो भूमिका पनि त्यहीअनुरूपको हुनेछ।

आगामी महाधिवेशनमा सभापतिमा कोइराला परिवारकै सदस्य हुनुपर्छ भन्ने चाहना हो ?   

लोकतान्त्रिक पार्टी भएकाले हामीले यो वा त्यो सभापति भनेर भन्नु हुँदैन। चुनावमा गएपछि कार्यकर्ताले निर्णय गर्ने विषय हो। हामीले केही समयअघि एक चरणमा हामी तीन (म, शेखर र शशांक) जना बसेर छलफल गरेका हौं। नेतृत्वमा आउन चाहना गर्नु नराम्रो होइन। हाम्रा बीचमा एकमत छ तर सभापतिमा कोइराला परिवारबाट हुनुपर्छ भन्ने हुँदैन। सभापति जो पनि हुन सक्छ, रामचन्द्रजीले इच्छा गर्नुभएको छ, शशांक या शेखर पनि हुन सक्नु हुन्छ र मेरो पनि इच्छा हुन सक्छ।

अर्को व्यक्ति पनि सभापतिमा आउन सक्छ। कार्यकर्ताको भावना बुझ्न सक्ने र सिंगो देशकै नेतृत्व गर्न सक्ने नेता नै सभापति हुने हो। यसर्थ कुनै समूहभन्दा पनि समयमै महाधिवेशन गर्ने र पार्टीलाई नयाँ ढंगबाट सञ्चालन गर्नुपर्नेछ। चुनाव लड्दा सबैको सहयोग आवश्यक पर्छ। अहिल्यै यो व्यक्ति सभापति भन्ने कुरा हुँदैन।

तपाईंको व्यक्तिगत इच्छा नि ?

म गिरिजाबाबुले सिकाउनुभएको र गर्नुभएको राजनीतिमा हुर्केको मान्छे हुँ। म राजनीतिभन्दा टाढा जान सक्दिनँ। तर मैले अहिल्यै अबको महाविधेशनमा यो पदमा उठ्छु भन्नु पार्टीलाई कमजोर बनाउनु हो। हामी मिलेर जानुपर्छ। पार्टीको अहित हुने गरी कुनै पनि क्रियाकलाप गर्नुभएन। म त्यो गर्दिनँ र कुनै समूह या गुटलाई समातेर पनि हिँड्दिनँ। त्यो मेरो आदत पनि होइन।

सरकारका क्रियाकलापबारे कांग्रेसभित्र कस्तो छलफल हुन्छ ?

हिजो गिरिजाबाबुले ठूलो मेहनत गरेर माओवादीलाई सहमतिमा ल्याउनुभएरै आज हामी यो अवस्थामा छौं। सरकार मनपरी ढंगबाट अगाडि बढ्न खोज्दैछ। सहमति, सहकार्य र एकताले नै मुलुक बलियो हुने हो। संघीयता र संविधान कार्यान्वयनको चरणमा छौं हामी। यसर्थ, अहिलको सरकारले कांग्रेसलाई पाखा लगाएर जान्छु भन्ने नसोच्दा हुन्छ।

यो मुलुकको रक्षा र प्रजातन्त्रका लागि कांग्रेसले जुनसुकै बेला पनि सचेत भएर आफ्ना क्रियाकलाप अगाडि बढाउन सक्छ। त्यो भनेको हामी प्रजातन्त्रका लागि कसैसँग सम्झौता गर्दैनौं। (पूर्व एमालेप्रति इंगित गर्दै) नेकपाभित्र पनि प्रजातान्त्रिक पद्धतिमा चलेको एउटा समूह छ, जसले केही सोचेर निर्णय गर्छ। उसले कांग्रेससित मिलेर प्रजातन्त्रका लागि आन्दोलन पनि गरेको छ।

समग्रमा यो सरकार एकलौटी ढंगले चलेको छ। यति सजिलो र बुझेको पार्टी प्रतिपक्ष हुँदासमेत सरकारले काम गर्न सकेको छैन। काम गर्न सरकारलाई केले छेकेको छ ? हामीले देश विकासमा बाधा पुग्ने गरी कुनै पनि विरोध या गलत क्रियाकलाप गरेका छैनौं। बरु सहयोग नै गरेका छौं। नेकपा र सरकारले हामी मात्रै हौं, हाम्रो मात्रै चल्छ या हामी मात्रै चलाउँछौं भनेर सोच्यो भने देश दुर्घटनामा फस्छ। यसमा हामी सचेत हुनुपर्छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.