सिसिटिभीको निगरानीमा कालिकोट
कालिकोट : जिल्ला प्रहरी कार्यालय कालिकोटले अपराध नियन्त्रणका लागि सक्रियता देखाएको छ । 'हाम्रो कालिकोट, सुरक्षित कालिकोट' भन्ने नारासहित जिल्लालाई नै अपराध रहित जिल्ला बनाउने घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले अपराध नियन्त्रणका लागि जिल्ला सदरमुकाम मान्म बजारमका साथै आसपासका बजारहरुमा पनि सिसीटिभीको जडान गर्न लागेको हो।
गत आर्थिक वर्षमा जिल्लाको सदरमुकामको मुख्य बजारमा जडान गरिएको सिसिटिभी अपराध नियन्त्रणमा प्रभावकारी भएपछि जिल्लाको जिते बजार, हुल्म बजार, मान्मको गाउँ, जिल्ला अस्पताल, सदरमुकामको तल्लो बजार, माथिल्लो बजार, कोटदरबार हुँदै ताडी बजारसम्म सिसिटिभी जडान गर्न लागिएको जिल्ला प्रहरी कार्यालयय प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।
उनले अब कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारका साथै आसपासका बजारमा अपराध न्यूनिकरणका लागि सिसीटिभी मार्फत निगरानी गरिने बताए ।उनले भने, 'खाँडाचक्र नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सक्रियतामा प्रदेश सरकारबाट बजेटको माग गरि १८ वटा ठाँउमा क्यामेरा जडान गर्न लागिएको छ । जसका लागि बिहिबार खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डे, प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल र प्राविधिकसहितको टोलीले सिसिटिभी जडानका लागि सर्बे गरेको छ ।
जसका आधारमा लागत स्टमेट पनि निकालिएको छ । प्राविधिक टोलीले गरेको स्टमेट अनुसार जिते बजार, हुल्म बजार, मान्मको गाउँ, जिल्ला अस्पताल, सदरमुकामको तल्लो बजार, माथिल्लो बजार, कोटदरबार हुँदै ताडी बजारसम्म सिसिटिभी जडान गर्न १८ लाख ३ हजार ९ सय २५ रुपैयाँ आवश्यक पर्नेछ ।
उक्त बजेट प्रदेश सरकारको आन्तरिक मामिलला तथा कानुन मन्त्रालयमा माग गरिएको छ । जिल्ला सदरमुकाम मान्म बजारको ठाउँ ठाउँमा जडान गरिएको सिसिटिभी क्यामेराले कहाँ के भइरहेको छ भन्ने कुरा जिल्ला प्रहरी कार्यालयको एक कोठाबाट निगरानी हुन्छ ।
डिएसपी ओलीयाले भने, 'बजारमा हुने चोरी, सार्बजानिक सम्पत्तिको सुरक्षा, झैंझगडालगायतका सामाजिक अपराधमा कमी आउने छ । उनले कालिकोट जिल्लालाई अपराध रहित जिल्ला र शान्त, सभ्य जिल्लाका रुपमा पहिचान बनाउन जिल्ला सदरमुकामबाट सुरुवात गरिएको बताए । उनले भने, 'कालिकोटको परिचय सदरमुकामले दिन्छ । अब बजारका सार्बजानिक स्थानमा फोहोर गर्नेहरुलाई पनि सिसीटिभीको निगरानीका आधारमा कारबाही गरिनेछ ।'
खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले सुरक्षित जिल्ला बनाउनका लागि सिसिटिभी क्यामेरा जडान गर्न पहल थालिएको बताए । उनले भने, 'नगरपालिकाका बढी अपराधहरु हुने र हुन सक्ने स्थानहरु सबैमा सिसिटिभी क्याम्यरा जडान भएपछि अपराधिक घटनाहरुमा कमी आउने अपेक्षा गरिएको छ।