अजरबजानमै तुहियो पोल्यान्ड सपना
काठमाडौं : सामान्य चिनजानकै भरमा गुल्मीका कृष्णप्रसाद भण्डारीले इटहरीका सन्तोष अधिकारीको विश्वास गरे– वैदेशिक रोजगारमा पोल्यान्ड जान। चिनेको साथीले १२ लाख रुपैयाँमा पोल्यान्डमा रोजगारी दिलाउने आश्वासन दिएपछि भण्डारीले अमेरिकामा रहेकी दिदीसँग रकम मागे।
भाइले पोल्यान्डमा राम्रो रोजगारी पाउने भयो भनेर दिदीले अमेरिकाबाट ५ हजार अमेरिकी डलर पठाइदिइन्। अधिकारीले भण्डारीलाई अरु साथी पनि खोज्न भने। एकै लटमा १५ देखि २० जना लैजानुपर्छ भने। भण्डारीले आफ्ना साथीभाइ बाग्लुङका दीपेन्द्र भण्डारी र चितवनका सुनित चौधरीलाई ‘पोल्यान्डमा काम गर्न जाने हो ? ’ भनेर सोधे। चितवनमा त्यसै बसिरहेका चौधरीले बुवाआमालाई भनेर गाउँमा ऋण उठाए। बाग्लुङका दीपेन्द्रले जापानमा रहेका आफन्तबाट पैसा झिकाए।
गत साउनमा तीनै जना काठमाडौं आए। अधिकारीले भनेबमोजिम मेडिकल जाँच गराए। भिसा आवेदनका लागि राहदानी लिए। भिसा पनि लाग्यो। सुरुमा अधिकारीले २ हजार २ सय अमेरिकी डलर लिए। भिसा त लाग्यो तर विचित्रको। उनीहरूलाई दुबई हुँदै अजरबैजान लग्ने र अजरबैजानबाट पोल्यान्ड लैजाने भनियो। भिसा लगाउँदा पनि दुबईको पर्यटक र अजरबैजानको स्टुडेन्ट भिसासँगै पर्यटक भिसा लगाइएको थियो। त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा साउन ८ गते पुगेका अधिकारीले दिनेश चापागाइँ नाम गरेका व्यक्तिमार्फत विमानको टिकट लिएका थिए। प्रगति ट्राभल एन्ड टुर्सबाट टिकट लिइएको थियो।
विमानस्थलमा चापागाइँ स्वयं पुगेको कृष्णप्रसादले बताए। सुरुमा उनीहरूलाई अध्यागमनले रोक्यो बोर्डिङ पास लिने बेलामा। तर अधिकारी र चापागाइँले कर्मचारीसँग केहीबेर कुरा गरेपछि जाने स्वीकृति पाए। झन्डै साढे तीन महिना अजरबैजानमा अलपत्र परेर नेपाल फर्किएका भण्डारीद्वय र चौधरीले बिहीबार बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोमा दुखेसो पोख्दै थिए। दुबईलाई ट्रान्जिट बनाएर लगिएका उनीहरूसँग अन्य १५ जना पनि थिए।
अजरबैजान पुग्नासाथ अधिकारीले त्यहाँ बसेका पाकिस्तानी सहवीर हुसेनको जिम्मा लगाए। सहवीरले अजरबैजानमा युसिप ट्राभल्स, टुरिजम एन्ड होस्टेल सञ्चालन गर्थे। ‘हामीलाई अजरबैजान पुर्याउन अधिकारी आफैं गएका थिए। त्यहाँ पुग्नासाथ सहवीरको जिम्मा लगाएर उनी फर्किए,’ कृष्णप्रसादले भने, ‘हुसेनले राहदानी माग्यो, हामीले दियौं। उसले होस्टलमा दुई दिन राखेपछि हामीलाई निकालिदियो।’ अधिकारीले उनीहरू त्यहाँ पुगेपछि त्यहाँको वेस्टर्न क्याम्पियन युनिभर्सिटीमा अंग्रेजी अध्ययन गर्ने र केही दिनपछि पोल्यान्डको भिसा लगाउने आश्वासन दिएका थिए। युनिभर्सिटीमा भर्ना गरिदिने जिम्मा अधिकारीकै भाइ पर्ने रविन अधिकारीले लिएका थिए। तर रबिन भागेर दुबई पुगेको कृष्णप्रसादले बताए।
केहीलाई भर्ना गरिदिए पनि बाँकीलाई नगरिदिएपछि उनीहरू झनै अलपत्र परे। पाकिस्तानीलाई ४५ सय अमेरिकी डलर बुझाइसकेका उनीहरूले न पोल्यान्डको भिसा पाए न सजिलै अजरबैजानमै बस्न पाए। कृष्णप्रसादले भने, ‘हामीलाई पाकिस्तानीले निकालेपछि घरबाट पैसा मगाएर अर्को होस्टलमा बस्यौं। भिसा नलाग्ने देखिएपछि परराष्ट्र मन्त्रालयमार्फत पत्र लेखेर नेपाल फर्कियौं।’ उनले अजरबैजानमा अझै धेरै नेपाली अलपत्र रहेको बताए। उनले भने, ‘हाम्रो लटमा २० जना थियौं। ५ जना अझै अलपत्र छन्। अरु दलालमार्फत गएका पनि अलपत्र छन्।’
सुनित मलिन स्वरमा भन्दै थिए, ‘राम्रै होला भनेर पैसा तिरेर गएँ तर भएन। ऋण तिर्न नसकेपछि बुबाले आधा कट्ठा जमिन बेचेर ऋण तिर्नुपर्यो।’ उनका अनुसार दलालले केहीलाई दिल्ली हुँदै र केहीलाई दुबई हुँदै अजरबैजान लैजाने गरेका छन्। नेपालबाट सेटिङ मिलाउने अधिकारी अहिले सम्पर्कविहीन छन्। ब्युरोमा उजुरी लिएर पुगेका उनीहरूसँग अधिकारीलाई रकम दिएको कुनै दसी प्रमाण छैन।
ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले उजुरीका आधारमा अनुसन्धान गर्ने बताए। उनले भने, ‘विश्वासका भरमा दलालको चंगुलमा परेर पैसा तिर्छन् तर कुन कुन देशमा श्रम भिसा लाग्दैन भन्ने जानकारी नहुँदा फस्ने गरेको पाइन्छ।’ पोल्यान्ड जाने आसमा धेरै नेपाली अलपत्र परेको सूचना ब्युरोले पनि पाएको छ।