झुलाघाट सीमा नाका बन्द
बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबारदेखि ४ दिनका लागि बन्द भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ९ गतेसम्म झुलाघाट नाका बन्द रहने छ।
मंसिर ९ गते अर्थात् (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण शुक्रबार साँझ ५ बजेदेखि सीमा नाका बन्द भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।
नाका मंसिर ९ गते साँझ ५ बजेसम्म बन्द रहनेछ। सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा नाका खोल्नुपरेमा आपसी सहमति गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए।
आकस्मिक बिरामी तथा अन्य कामका लागि नाका खोल्ने बारेमा नेपाल र भारत दुवै देशका अधिकारीबीच सहमति गरेर नाका खोल्न सकिने उनले बताए। नाका बन्द भएपछि रोजगारीका लागि भारत जाने नागरिक मर्कामा परेका छन्। दसैं, तिहार तथा जात्राजस्ता पर्व सकिएपछि झुलाघाट नाकाबाट रोजगारीका लागि भारत जानेको लर्को लागेको छ।
यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ गतेदेखि असोज १८ गते ३ दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो।