म मान्छे हैन, बारुद हुँ

म मान्छे हैन, बारुद हुँ

के वसन्तको पहिलो कोकिल सुनेर नाच्न नपाइने ?

गिदीको सट्टा मुटुले संसार छाम्न नपाइने ?

तुफानसँग गीत गाउन नपाइने ?

के संवेदनशील हुनु पागल हुनु हो ?

अनि शुष्क, पाषाण हुनुचाहिँ सद्दे हुनु हो ?

महाकवि देवकोटा कुनै सुन्दरीको केशमा समयको सेतो छिर्का परेको देखेर रोए। यो सुन्दरता, यो यौवन सबै एक दिन बितेर जान्छ भन्ने सम्झेर रोए। बुद्धले आत्मा छोएको भएर रोए। हामीले उनलाई राँची पठाइदियौं। पागल भनिदियौं। यस्तै केही भयो महानतम् दार्शनिक फ्रेडरिक नित्सेको जीवनमा पनि।

साल  : १८८९

महिना  : जनवरी

गते  : ३

बार  : शनिबार

समय  : बिहान

स्थान  : इटालीको एक सहर ट्युरिनको कुनै सडक

सहरको गल्लीमा भौंतारिएर हिँडेका नित्से एक ठाउँमा टक्क अडिए। घोडामा सामान लदाएर हिँडाउन ठिक्क परेको एउटा व्यापारी आफ्नो घोडालाई कोर्रा हान्दै थियो। सायद भारी धेरै भएर, घोडा भने डेग सर्न मानिरहेको थिएन। यो दृश्य सहन गर्न नसकेर नित्से हान्निएर घोडातर्फ लम्किए। कोर्राको प्रहारबाट जोगाउन त्यसलाई ग्वाम्लांग अँगालो मारे र डाँको छाडी रुन थाले। केही बेरमा उनी बेहोश भएर त्यहीँ ढले। प्रहरी बोलायो घोडा मालिकले।

हल्लाखल्ला सुनेर आएका नित्सेका मित्र डेभिड फिनोले तत्काल हस्तक्षेप गरेर घर नपुर्‍याएको भए सायद नित्से पक्राउ पर्थे। घर पुर्‍याइएका उनले सुरुमा आफ्ना कपडा फुकाले र नांगै नाच्न थाले। केही बेरमा भने कुर्सीमा चुपचाप बसे र टोलाउन थाले। त्यहीँ त्यसरी टोलाएरै उनले दुई दिन बिताइदिए। दुई हप्तापछि उनलाई मानसिक अस्पताल पुर्‍याइयो। निरीह घोडालाई त्यसरी कोर्रा हानेको दृश्यलाई सायद उनले मानवताको पतन ठाने र निर्दयी मान्छेहरूको निस्सार संसारमा सहभागी हुनुभन्दा आफ्नै सपनाको संसार रोजे। एघार वर्ष मानसिक अस्पतालमा बिताएर यी महान दार्शनिकको मृत्यु भयो। उनको दर्शन, उनका मौलिक र रौं ठाडो पार्ने किसिमका विचारहरूको प्रभावले संसारलाई नै एउटा नयाँ दिशा दियो। राम्रो र नराम्रो दुवै अर्थमा।

सुपरम्यान र हिटलरको सपना

नित्सेका अनुसार मान्छे पूर्ण छैन। अन्य सबै जनावर पूर्ण जन्मिएका हुन्छन्। कुकुर, कुकुरै भएर जन्मिन्छ र कुकुरै मर्छ त्यसैले उसमा तडप छैन। अशान्ति छैन। तर मान्छे सम्भावना हो। मान्छे बीउ हो। सही अर्थमा उसको विकास भयो भने मान्छे देवता बन्न सक्छ। भएन भने ऊ आफ्नो अपूर्णताले छटपटिएर बाँच्छ र त्यसैगरी मर्छ। त्यसैले मान्छेमा बेचैनी छ। कसो गरौं के गरौं छ। सही अर्थमा विकास भएर आफ्नो पूर्णता प्राप्त गरेको यस्तो मान्छेलाई ‘उबरमेन्स’ अर्थात् सुपरम्यान नाम दिए उनले।

नित्सेको यो विचारबाट प्रभावित भएर उनको कल्पनाको सुपरम्यान बनाउने सपना हिटलरले देखेकै कारण दोस्रो विश्वयुद्ध भयो। हिटलरको सुपरम्यानको परिभाषामा नपर्ने करोडभन्दा बढी मान्छे मारिए। नीलो आँखा र खैरो कपाल भएका अग्ला, राम्रा र स्वस्थ मान्छे मात्र बाँच्नुपर्छ र सन्तान उत्पादन गर्ने हक तिनलाई मात्र दिइनुपर्छ भन्ने हिटलरको सोचका कारण कन्सन्ट्रेसन क्याम्पका ग्याँस च्याम्बरमा युरोपभरका यहुदी, समलिंगी, कम्युनिस्ट, अशक्तहरू मारिए। नित्सेको सुपरम्यानको अवधारणा हिटलरले कल्पना गरेको जस्तो भने हुँदै हैन। नित्से एक शून्यवादी दार्शनिक थिए। मान्छेले मान्दै आएका सारा धारणा र विश्वासमाथि उनले प्रश्न उठाएका थिए। सत्य बोध गर्ने यही एक तरिका थियो उनको दृष्टिमा। सही र गलत, पाप र धर्मका द्वैतबाट माथि उठेपछि मात्र सत्यको बोध गर्न सकिन्छ र त्यसरी परम सत्यको बोध गरी भय र मोहबाट मुक्त भएको मान्छे नै सुपरम्यान हो भन्ने उनको दृष्टि थियो। यो अर्थमा त उनको दर्शन बुद्धको दर्शनसँग नजिक छ बरु। हिटलरले बुझेको जस्तो कमजोर, गरिब र रोगीजति सबैलाई मारेर बलियालाई मात्र राख भनेर नित्सेले भनेका हैनन्।

अन्य दार्शनिकहरूको झैं बोझिल र प्राणहीन छैन नित्सेको दर्शन। त्यसैले नित्सेको दर्शन जीवन्त दर्शनझैं लाग्छ। उनको विचारमा अथाह गहिराइ भएकै कारण नित्से सर्वाधिक उद्धृत दार्शनिक त हुन् नै, साथै सर्वाधिक अपव्याख्या भएका दार्शनिक पनि हुन्।

मान्छेको सिर्जना गर्नु भगवान्को गल्ती थियो। अथवा भगवान्को कल्पना गर्नु मान्छेको गल्ती।

छोटा, गहिरा र अर्थपूर्ण भनाइहरूको त यिनी पिता नै हुन् भन्दा हुन्छ। ट्विटर, फेसबुक आदि जस्ता सामाजिक सञ्जालहरूको उदयसँगै त नित्सेका भनाइहरूलाई साभार र उद्धृत गर्ने क्रमको बाढी नै आएको छ। नित्से नै भन्ने गर्थे, ‘परम सत्य भन्ने चिज छँदै छैन। सत्य सधैं सापेक्षिक हुन्छ। हरेक व्यक्ति आफ्नो सीमित बुझाइलाई नै सत्य मानिरहेको हुन्छ।’ दुर्भाग्य ! नित्से नै अनेक गलत व्याख्याको सिकार बन्न पुगे। हुन त एक व्यक्तिको बुझाइ सधैं नै अर्को व्यक्तिभन्दा फरक हुने हुँदा कहीँ कतै सबै दर्शनको अपव्याख्या भएकै हुन्छ, तर नित्सेको सन्दर्भमा यो खतरा झन् बढी हुनुको कारण छ।

मानसिक स्थिति असन्तुलित भएपछि नित्सेका सम्पूर्ण रचना उनकी दिदी एलिजाबेथको स्वामित्वमा गयो। एलिजाबेथ उग्र राष्ट्रवादी र नश्लवादी थिइन्। उनैले नित्सेको दर्शनलाई आफ्नो अवधारणा प्रचार गर्न मद्दत पुग्ने हिसाबले तोडमरोड गर्न थालिन्। अक्सर लेखाइ वा बोलाइमा आक्रोश पोख्नेहरू आफ्नो व्यक्तिगत जीवनमा भने शान्त र शिष्ट हुने गर्छन्। नित्से पनि त्यस्तै थिए। ‘म मान्छे हैन बारुद हुँ’ भनेर लेखे पनि उनी सजिलै साथी बनाउन सकिने स्वभावका मान्छे थिए। उनको जीवनका अन्तिम दिनहरूको कथा शब्दमा व्यक्त गर्न धेरै पीडादायी हुन सक्छ। यस्तो भन्दा हुन्छ, मृत्युले उनलाई कष्टप्रद जीवनबाट उन्मुक्त गरिदियो।

हिन्दी फिल्म आनन्दमा क्यान्सरका कारण जवानीमै मर्न लागेको पात्र आनन्द बनेका राजेश खन्ना भन्छन्, ‘बाबुमोसाय, जिन्दगी बडी होनी चाहिए, लम्बी नहीं।’ यस्ता अनेक गायक, कवि, लेखक, दार्शनिक भए जसको जीवन निकै छोटो रह्यो। यद्यपि उनीहरूको रचना र सिर्जना भने हरेक कालखण्डले समकालीनसरह नै मान्यो। पुरानो र खुइलिएको भन्ठानेन। जम्माजम्मी पन्ध्र वर्षको सक्रिय लेखन अवधिमा नित्सेले त्यस्तै लगभग पन्ध्रवटा पुस्तक लेखे। ती किताब विस्फोटक विचारहरूले लबालब छन्। असाधारण प्रतिभा र पागलपनलाई छुट्ट्याउने सिमानाको मध्यमा दौडने किसिमका छन्।

सन् १८८९ को आसपास लेखिएका उनका किताब त झन् पागलपन र जिनियसको डरलाग्दो मि श्रणझैं लाग्छ पढ्दा। एघार वर्ष इन्तु न चिन्तु भएर अरूको हेरचाहमा बस्नुपर्ने भएपछि उनको हेरचाह गर्नेहरूले उनको दर्शनबाट आफ्नो रुचि र स्वादअनुसारका शब्द निकाल्दै तिनको आफ्नै हिसाबले व्याख्या गर्न थाले। त्यसैको नतिजा हो नित्से र उनको दर्शनलाई भिराइएको ‘शून्यवाद’ , ‘नव नास्तिकवाद’, ‘अहमवाद’, ‘अभिजात्य चरमपन्थ’ आदि अनेक बिल्ला। संसारदेखी क्रुद्ध, कालो लुगा मात्र लगाउने, रक म्युजिक सुन्ने र जीवन कसरी जिउनुपर्छ भनेर कसैबाट सल्लाह लिन नचाहने टिनएजरहरूदेखि लिएर ओशो र सद्गुरुजस्ता धर्मगुरुहरूसम्मले आआफ्नो ढंग र बुझाइअनुसार व्याख्या गरेका छन् नित्सेलाई। यही गहिराइ र सरलताको मि श्रण नै नित्सेको गरिमा हो।

उनको एकांकी जीवन एकपछि अर्को पाण्डुलिपिको सिर्जना गर्नमै बित्यो जसको उनी बाँचुन्जेल कुनै सोधपुछ भएन। कालान्तरमा भने उनकै दर्शनमाथि टेकेर अडोल्फ हिटलरले आफ्नो बर्बर नाजी दर्शनको प्रत्युत्पादन गरे। नित्सेलाई महिलाविरोधी दार्शनिक भएको आरोप पनि लाग्ने गरेको छ। हुनसक्छ, आफ्नो कमजोर शरीर भएकै कारणले गर्दा उनी कमजोर मान्छेहरूलाई घृणा गर्थे। जीवनभर एकपछि अर्को रोगले उनलाई सताई नै रह्यो। कमजोर स्वास्थ्यकै कारण प्राय : उनले हप्तौं ओछ्यान पर्नुपथ्र्याे। सोही कारणले गर्दा उनले आफूले खाँदै आएको प्रोफेसरको जागिर छाड्नु परेको थियो। जीवनमा आफूले चाहेजस्तो प्रेम पाउन नसकेकै कारणले गर्दा प्रेम कमजोरी हो भन्ने मान्यता उनले आफ्नो दर्शनमा समाविष्ट गरे। हिटलरको जीवन दर्शनमा नित्सेका यिनै आदर्शवादी कठोरता र शून्यवादको ठूलो प्रभाव रह्यो। यिनै कारणले गर्दा उनलाई धेरैले महिलाविरोधी र कठोर दार्शनिक पनि मान्ने गर्छन्।

जीवनभर अविवाहित रहेका नित्सेले जीवनमा केवल एकपल्ट प्रेम गरे। उनकै एक विद्यार्थीले परिचय गराएको २१ वर्षीया सुन्दरी केटी लु आन्द्रियाससँग। लुको सुन्दरता देखेर सम्मोहित भएका नित्सेले पहिलो भेटमै भनेका थिए रे, ‘कुन ताराबाट झरेर यहाँ आएकी हौ तिमी ? ’ युवतीले भने सपाट स्वरमा ‘ज्युरिचबाट’ भनेकी थिइन् रे। त्यसको एक हप्ताभित्र नित्सेले युवतीसमक्ष विवाहको प्रस्ताव राखे। युवतीले अस्वीकार गरिन्। त्यसपछि पनि नित्सेले दुईपटक उनीसमक्ष सोही प्रस्ताव राखे। अन्त्यमा युवतीले जसले नित्सेको उनीसँग परिचय गराएका थिए, उनैसँग विवाह गरिन्। यस घटनापछि नित्से निकै विरक्तिए र प्रेमलाई अनावश्यक कमजोरी मान्न थाले।

बिछ्यौनामा थलिएपछिका दिनहरूमा उनलाई मन्द प्रकारका लठ्याउने औषधिहरू दिइन्थ्यो। त्यसका बाबजुद उनी अनेक बहुलठ्ठी गरिरहन्थे। विशेष गरी संगीतकार वाग्नरकी पत्नी कोसिमालाई आफ्नोबारेमा बढाइचढाइ गरिएका पत्रहरू लेख्ने गर्थे। यो क्रममा उनले लेखेका पत्रहरूलाई ‘म्याडनेस लेटर्स’ भनिन्छ जो उनका प्रोफेसर मित्रहरूदेखि लिएर तत्कालीन जर्मन चान्सलर विस्मार्कसम्मका लागि लेखिएका हुन्थे। त्यसो त आधिकारिक रूपमा बहुला घोषित हुनुभन्दा अघिदेखि नै उनी मध्यरातमा पियानोको संगीत बजाएर नांगै नाच्ने गरेको गुनासो उनी बस्ने गरेको घरको घरबेटीले गर्ने गरेकी थिइन्। उनका रात्रिकालीन बितण्डा सहनै गाह्रो भएपछि तिनै घरबेटीले नित्सेलाई उनकी आमालाई जिम्मा लगाएकी थिइन्। उनी ठीक हुन्छन् कि भन्ने आशामा नित्सेकी आमा फ्रान्जिस्काले उनलाई सुरुमा एक मानसिक अस्पतालमा भर्ना गरिन्। त्यहाँ केही हुन नसक्ने देखिएपछि उनलाई घरै लिएर गइयो।

बोल्न, लेख्नै नसक्ने अवस्थामा लामो समया गुजारेपछि आफ्नी आमाको घरमा यी महान् दार्शनिकको मृत्यु भयो। तत्कालीन समयमा अन्तिम अवस्थाको भिरंगीको कारण यिनले आफ्नो मानसिक सन्तुलन गुमाएको मानिए पनि हालका अनुसन्धानहरूले नित्सेलाई भिरंगी नभएको हुनसक्ने अनुमान गरेका छन्।

पारिवारिक नातासम्बन्धलाई उस्तो महत्व नदिने नित्सेको आमा र दिदी एलिजावेथ दुवैसँग खासै राम्रो सम्बन्ध थिएन। उनी भन्ने गर्थे, ‘मलाई आमा र बहिनी दुवै मन पर्दैनन्। एलिजाबेथको त म आवाज पनि सुन्न रुचाउँदिनँ।’ आफूलाई यी दुवैभन्दा निकै बुद्धिमान् ठान्ने नित्से यिनीहरूसँग संगत गर्नुपर्ला भन्ने पीरले नै अक्सर युरोपका विभिन्न सहर घुम्दै बस्ने गर्थे। जीवनको अन्तिम अवस्थामा भने यिनै आमा र बहिनीको शरण पर्नु पर्‍यो। एलिजाबेथको सम्बन्ध तत्कालीन जर्मनीका कुख्यात नश्लवादी बर्नार्ड फरेस्टरससँग गाँसिएपछि त नित्सेले एलिजाबेथलाई झनै घृणा गर्न थालेका थिए। यहाँसम्म कि उनीहरूको विवाहसमेत नित्सेले बहिष्कार गरे। एलिजाबेथ दम्पतीको सोच जर्मन आर्यहरूका लागि ‘नयाँ जर्मनी’ नामको बस्ती बसाउने थियो। त्यसैका लागि उनीहरू पाराग्वे गए।

फरेस्टरको आत्महत्यापछि एलिजाबेथ त्यहाँस्थित आफ्नो सम्पत्ति सबै बेचेर पुन जर्मनी फर्किइन्। पाराग्वेस्थित उनीहरूले बसाएको बस्तीमा पुराना बासिन्दाहरूको सन्तती अझै पनि बसोबास गरिरहेको छ। एलिजाबेथ हतार गरेर जर्मनी फर्किनुमा नित्सेको दर्शनले जर्मनीमा ख्याति पाउँदै जान थाल्नु पनि प्रमुख कारण थियो। उनी नित्सेको दर्शन र लेखनीलाई आफ्नो फाइदाका लागि प्रयोग गर्न चाहन्थिन्। यसैका लागि उनले आमा र अन्य नातेदारहरूलाई पन्छाएर नित्सेका सबै लेखनीमाथि आफ्नो कानुनी एकाधिकार कायम गरिन्। लगत्तै उनले नित्सेका पाण्डुलिपिहरू आफ्नो स्वार्थ अनुकूल हुने गरी सम्पादन र प्रकाशन गर्न थालिन्।

आमाको मृत्युपछि एलिजाबेथले नित्से र उनको दर्शनलाई नश्लवादी लेप दिएर जर्मनीमा उदय हुँदै गरेको नश्लवादी आन्दोलनसँग गाँसिन् र त्यसैको आडमा प्रशस्त पैसा संकलन गरिन्। हिटलरलाई पनि आफ्नो सोचलाई बुद्धिजीवीहरूको आड लिएर बौद्धिक देखाउने लोभ थियो। त्यसैले उनले अनेकपल्ट एलिजाबेथलाई भेटे। नित्सेले प्रतिपादन गरेका धेरै शब्द हिटलरले आफ्नो नाजी दर्शनमा गाँसे। नित्सेको दर्शनसँगको साँठगाँठले हिटलरको बुद्धिजीवीसँग सहकार्य गर्ने लोभ पूरा भयो। त्यसैको फलस्वरूप नित्सेका ‘सुपर म्यान’, ‘विल टु पावर’जस्ता दर्शनको गलत अर्थ लाग्न गयो। आमाको घरबाट एलिजाबेथको घर लागिएको तीन वर्षपछि नित्सेको मृत्यु भयो। यो हिटलर सत्तामा आउनुभन्दा ३३ वर्षअघिको घटना थियो।

हिटलरसँग यसरी जोडिएको कारणले गर्दा नै दोस्रो विश्वयुद्धलगत्तै युरोपका कैयौं मुलुकमा नित्सेको दर्शन र पुस्तकहरू प्रतिबन्धित थियो। सन् १९९१ पछि पूर्वी र पश्चिमी जर्मनीको एकीकरणपछि आएर बल्ल नित्से दर्शनमाथिको प्रतिबन्ध फुकुवा भयो र संसारले खुला रूपमा नित्से दर्शन अध्ययन गर्न पायो।

एके होमो

काँडाको मुकुट लगाइएका, कुटेर रक्ताम्य बनाइएका जिजस क्राइस्टलाई मृत्युदण्डको घोषणा सुनाएर भीडका सामु उपस्थित गराउँदै गर्दा रोमन साम्राज्यअन्तर्गत पर्ने जुडेयाको गभर्नर पोन्टियस पिलाटस ल्याटिन भाषामा भन्छ, ‘एके होमो..’ अर्थात् ‘हेर यो मान्छेलाई !’

असाधारण प्रतिभा भएको मान्छे बहुलायो र बर्बराउन थाल्यो भने के भन्ला भन्ने उत्सुकता हुने मान्छेले नित्सेको अन्तिम पुस्तक ‘एके होमो’ पढ्दा हुन्छ। बहुलाएर लेख्नै नसक्ने अवस्थामा पुग्नुपूर्व उनले लेखेको यो पुस्तकका च्याप्टरहरूको नाम उनले राखेका छन्, ‘म किन यति धेरै बाठो छु’, ‘म किन यति धेरै बुद्धिमान् छु’, ‘म किन यति राम्रा पुस्तकहरू लेख्छु’ आदि। एके होमोका अंग्रेजी भाषाका अनुवादक पल कोफम्यानले यस पुस्तकलाई भ्यान गगका कलाकृतिसरह मानेका छन् जुन मस्तिष्कले नभएर हृदयले मात्र ग्रहण गर्न सकिने अर्कै लोकको सुगन्धले लबालब हुन्छ।

एके होमो आत्मकथाको शैलीमा लेखिएको छ र सायद आत्मकथा विधाकै सबैभन्दा अनौठो पुस्तक हो यो। सायद नित्से आफैंलाई जिजसकै सरहको मसिहा ठान्ने गर्थे। उनलाई त्यसै कारण जिजससँग आरिस हुँदो हो। अथवा त्यसभन्दा अझ बढी, लभ-हेट रिलेसनसिप हुँदो हो।

भनिन्छ, पागलपनको अन्तिम अवस्थामा पुग्दा पनि उनी आफ्नो नाम भने लेख्न सक्थे रे तर नामको अघिल्तिर ‘एन्टी क्राइस्ट’ भनेर लेख्ने गर्थे रे। जिससको समयमा उनको समाजमा यहुदीहरूको प्रभाव थियो। यहुदीहरूको हिंस्रक कानुनले कसैले तिम्रो आँखा फुटाए त्यसको पनि आँखा फुटाइदेऊ भनेर सिकाउँथ्यो। यस्तो अवस्थामा जिजस विरोधको बिगुल बजाउँदै, सबैलाई प्रेम गर भन्दै आए। त्यसै कारण उनलाई झुन्ड्याइयो।

नित्सेको समयमा उनको समाज इसाई दर्शनको प्रभावमा चलेको थियो। उनी त्यसलाई तोड्न चाहन्थे। सही र गलतका परिभाषा बदल्न चाहन्थे। यसै उनी आफूलाई जिसस बराबरकै तर जिससभन्दा सर्वथा भिन्न र मौलिक मान्छे ठानेका हुँदा हुन्। जसरी जिसस आफ्नो समयभन्दा अघिका मान्छे भएका कारण तत्कालीन समाजबाट बहिष्कृत भए, त्यसैगरी आफू पनि आफ्नो समकालीन समाजभन्दा धेरै अघिको मान्छे भएको दाबी नित्से आफ्नो अर्को प्रख्यात पुस्तक ‘दस स्पेक जरथुस्त्र’मार्फत गर्छन्। सायद त्यसैले पनि नित्सेले साधारण मान्छेले सहज रूपमा बुझ्ने कुरा लेखेनन्। उनी दुरुह नै बन्न चाहन्थे। उनी अप्ठ्यारो बाटो नै हिँड्न चाहन्थे। भयो पनि त्यस्तै। उनी बहुलाएर मरे। बर्बराउँदै मरे। र जसरी आज जिससको मृत्यु भएको दुई हजार वर्षभन्दा बढी बित्दा उनलाई मान्ने मान्छेहरूको संगठन सबैभन्दा ठूलो संगठन बनेको छ, जिसस कैयौंले पुज्ने मसिहा बनेका छन्, त्यसरी नै नित्से पनि दर्शनशास्त्रका पितामहसरह बनेका छन्।

शून्यवाद

सबै कुराको विरोध गरेकै कारणले नित्सेलाई शून्यवादी दार्शनिक भनियो। उनी समाज, ईश्वर, नैतिकता, प्रेम, अध्यात्म भनौं सबै कुरालाई घृणा गर्छन्। मान्छेले विभिन्न लेबल लगाएर असीम ब्रह्माण्डलाई सीमा दिने दुष्प्रयास गरेको कारणले जीवनको गरिमा कम भएको दाबी उनी गर्छन्। उनका अनुसार माया-दया, प्रेम आफ्नो कमजोरीलाई ढाकछोप गर्न मान्छेले निर्माण गरेका शब्द हुन्। सारा शब्द, नियम र सीमाहरूबाट मुक्त भएपछि बल्ल मान्छे आफ्नो वास्तविक स्वरूपमा आउँछ भन्ने उनको दर्शन बौद्ध दर्शनसँग मिल्दो जुल्दो देखिन्छ।

उनको पुस्तक ‘दस स्पेक जरथुस्त्रको’ पात्र आफ्ना कुरा सुन्न जम्मा भएका श्रोताको अघि आफूले हातमा बोकेको लालटिन फुटाउँदै भन्छ, ‘ताराहरूको प्रकाश धर्तीमा आइपुग्न समय लाग्छ। म आफ्नो समयभन्दा धेरै छिटो यस धर्तीमा आएछु।’

नित्से भन्छन्  :

बच्चा पनि बाउआमा नै झैं हुनु,

उसले आफ्नो मार्ग आफैं नपहिल्याएर बाउआमाकै पदचाप पछ्याउनु, जीवनको विकासक्रमप्रतिकै अपमान हो। घिनलाग्दो हो।

मान्छेको सिर्जना गर्नु भगवान्को गल्ती थियो।

अथवा भगवान्को कल्पना गर्नु मान्छेको गल्ती हो।

खतरामा बाँचेको जीवनमा मात्र जीवन्तताको स्वाद हुन्छ।

आफ्नो सहर जहिल्यै दुरुह पहाडको टाकुरामा बसाऊ।

खतरा देखी नडराऊ। जे कुराले मार्दैन त्यसले तिमीलाई बलियो बनाएर जान्छ।
@swamianoopamaxl


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.