डिजिटल बालापन

डिजिटल बालापन

मोबाइलको मोहजालमा ऊ यति फसिसकेको छ कि खाना खान र पिसाब फेर्नसमेत करकाप गर्नुपर्ने छ।


घर पुग्नेबित्तिकै छोराका आँखा मेरो अनुहारभन्दा पनि गोजीमा एकैपटक गुच्चा खेल्न आइपुग्छन्। दिनभरिको कामको धपेडी र थकान छोरासँग रमाएर मेट्ने आशाले मनको चुचुरोमा स्पर्श गरेको हुन्छ। सन्तानसँग रमाउनु जति सुख र खुसी केमा पो हुन्छ र ?  तर एकाएक गेट घर्काउनेबित्तिकै ढोका खोल्नका लागि हतारहतार आइपुगेको छोरोले ‘खोइ मोबाइल दिनुस् त’ भनेर फलाक्दा मेरो मनको उत्तेजना बिना कुहिरो नै हराउँदै जान्छ। छोरा मलाई होइन मेरो मोबाइललाई कुरिरहेको हुन्छ। छोराको अनुहारमा बाबुलाई भेट्ने प्यास डिजिटलाइज्ड भएर मोबाइलमा रूपान्तरित भएको हुन्छ।

मोबाइल हातमा पर्नेबित्तिकै उसलाई केही पनि चाहिँदैन। न बा न आमा, न आफ्नै उमेरका साथीभाइ नै। उसको मोबाइल दुनियाँ सुरु भयो भने उसको नजिकैमा के भइरहेको छ, थाहै पाउँदैन। थाहा पाउनु उसका लागि त्यति चासोको कुरा होइन। मोबाइलको मोहजालमा ऊ यति फसिसकेको हुन्छ कि खाना खाने र पिसाब फेर्नसमेत उसलाई निकै करकाप गर्नुपर्ने हुन्छ। पूरै जीवनमा सबै सम्बन्ध मोबाइलको स्क्रिनमा कैद हुने गर्छन्। यो एक घरको होइन घरघरको कहानी हो।

एउटा मात्रै मनको होइन मनमनको कहानी हो। गफ गर्ने चौतारो र चिया पसल हराउँदै गएको छ। हरेक चिया पसलमा हुने वाइफाईले सबैको ध्यान मोबाइलको स्क्रिनतिर नै तानेको हुन्छ। सुनिँदैन चिया पसलमा चर्का चर्का विमर्शहरू। मानिसले सामाजिक सञ्जाललाई वनाएको छ त्यो बहस चौतारो। खैर कुरा छोरो र बालापनको जो हुँदै थियो।

संसार एउटै जिनिसमा अटाउने प्रविधिको विकास भएको छ। आत्मीय सम्बन्धको फेरो भर्चुअल सम्बन्धमा परिवर्तित भएको छ। पल्लो घरमा कुरा गर्नु पर्‍यो भने पनि मानिस अचेल म्यासेन्जरमै कुरा गर्छन्। आँगन जोडिएका मान्छेहरू फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बन्छन्। अनि त्यहीँबाट सुरु गर्छन् बात मार्न ?  उज्यालोले बिदा माग्न माग्न आँटेको झम्के साँझमा खाली चौरमा मान्छेको बथान देखिन छाडेको धेरै भयो।

हिजो हामीले भोगेको धुलो र माटोको बालापन र आजको डिजिटल बालापन साँच्चै कति धेरै फरक छ। हामी गाउँभरिका नाता लाग्नेलाई कसरी ढोग्ने, कसको घरमा कस्तो छ सबै थाहा पाउँथ्यौं। आज यही मोबाइल नै सत्य लाग्छ। मोबाइल नै संसार लाग्छ।

केही दिनअगाडि बर्दियाबाट आफन्तीहरू घरमा आएका थिए। लामो समयपछि उनीहरूसँग भेट भएको थियो। उनीहरूले आउनेबित्तिकै राउटरतिर हेरे अनि अनुहार उज्यालो बनाए। पासवर्ड मागेसँगै उनीहरूको अर्को दुनियाँ सुरु भयो। करिब चौबीस घण्टा घरमा बस्दासम्म राम्रोसँग चौबीस मिनेट पनि कुरा हुन पाएन। कहाँ गयो रातरातभर कुरा गरेर पनि नसकिने त्यो समय ? आफ्नै आँखाअगाडि बदलिएको समय पचाउन पनि मलाई सकस भएको छ।

आजको बढ्दो सहरीकरणले खेल्ने ठाउँ मात्रै साँघुरो बनाएको छैन, खेल पनि साँघुरो बनाउँदै लगेको छ। हिजोका दिनमा हामीले खेल्ने गरेका लुकामारी, सातढुंगे, आठकाठ कुन काठ, खुट्टी कहाँ गए ?  कुनै आँगन देखिँदैन अचेल खुट्टीका वर्गाकार रेखा कोरिएको, कुनै चौरमा देखिँदैन चाँजिएका ढुंगा अनि देखिँदैन काठले बनेका सामग्री खोज्दै दौडिने बालकहरू।

सबै खेल, सबै रहर, सबै कुरा डिजिटलाइज्ड भएको छ। मोबाइलमा खोजे के पाइँदैन ? सारा संसार भेटिन्छ। सबै खेल भेटिन्छ तर भेटिँदैन सँगै खेल्ने साथी, आत्मीयता, सहिष्णु अनि कहिलेकाहीँ झगडा गरेर मुखबाट रगत बग्ने गरी पिटेर अर्को दिन घरमै आएर माफी माग्ने साथी। छोएर भागेको साथीलाई चाहार्दा (लखेट्दा) चाहार्दै लडेर खोल्सिने घुँडो कहाँ भेटाउनु ?   

त्यो जमानामा के थिएन ? सलाईको खोलको दुईतिरका भाग च्यातेर वावा खेल्ने। बजारभरि दौडिन्थ्यौं हामी। सलाईको खोल खोज्नका लागि। पैसा हुनेहरू पैसामा हामीसँग किन्थे अनि खेल्थे। कहिलेकाहीँ खेल्दाखेल्दै कसैले झ्याल्टी (झुक्याउनु) गरेर पूरै बाबा च्यातिदिन्थे। मनमा अमिलो फलाउनुभन्दा अरू उपाय केही हुँदैनथ्यो।

कहिलेकाहीँ खेल्दाखेल्दै असमझदारीले नेटो काट्थ्यो। मुखले मात्रै मन बुझाउन गाह्रो पथ्र्यो। घरदेखि अलि पर खेतमा गएर गोदागोद खेल्ने सहमति हुन्थ्यो। सहमतिको अक्षरश : पालना गर्दै रमिते समेतलाई बोकेर लड्न गइन्थ्यो। करिब १५ मिनेटजति गोदागोद चल्थ्यो। मुखबाट रगत बगेपछि रोकिन्थ्यो हाम्रो लडाइँ। रगत बग्नु हाम्रा लागि रेड सिग्नल हुन्थ्यो। केही दिन बोली बारिन्थ्यो तर बाँच्न कहाँ सकिन्थ्यो ? आज आँगन जोडिएकासँग नबोलेर होइन चिनाजानसमेत नगरेर मान्छेले जीवनको मज्जा लिइरहेको छ।

संसारमा सबैभन्दा मीठो पल भनेकै बालापन हो। बालापन सम्पूर्ण जीवनको आधार पनि हो। जग पनि हो। आज कोठाभित्र मात्रै घोरिएर रहने छोराले स्कुलमा पढेको सामाजिक शिक्षाबाट मात्रै सिकेको समाजले उसलाई के सिकाउला ? मोबाइलको पब जीमा दौडेर मेरो छोरो कसरी स्वस्थ होला। हिलो देख्दा डराउने भाग्ने छोरोलाई जीवन कसरी सिकाउने होला ?   

मलाई अझै पनि याद छ। सानोमा खुबै सिसाको गोली खेलिन्थ्यो। जितेको बेलामा पूरै हाफ पाइन्टको गोजा भरिएको हुन्थ्यो। गोलीले हाफ पाइन्ट झाटेर हातले समाउँदै घरसम्म जानुपर्ने हुन्थ्यो। यस्तो गर्दा गोलीको वजनका कारण हाफ पाइन्ट छिटै फाट्ने गथ्र्यो। बाले हाफ पाइन्ट छिटै फाट्यो भनेर गोजा नभएको सिलाइदिनुहुन्थ्यो। गोलीमैत्री नभएको त्यस्तो लगाउनुभन्दा पुरानै गोजावाला पाइन्ट नै लगाइने गरिन्थ्यो। आज मेरो छोरा मोबाइलभरि विभिन्न एप्लिकेसन्स डाउनलोड गर्छ। नअटाउँदा मेरा कामलाग्दा कुरा फालिदिन्छ। म रिसाएजस्तो गरी मोबाइल लुकाउँछु र गेम डिलिट गरिदिन्छु। ऊ फेरि आफ्ना गेम डाउनलोड गरिहाल्छ।

मेरा घर बसाइका निकै कम समयमा मैले छोराको निकै कम समय पाउँछु। कहिलेकाहीँ विरक्तलाग्दो हुन्छ अनि बन्द गरिदिन्छु इन्टरनेटको स्विच। छोरो झनै चलाख पो छ। अफलाइन गेम र भिडियो उसले पहिल्यै डाउनलोड गरिसकेको हुन्छ। जिन्दगीका सबै रङ मिसाउने उसका लागि एउटै ठाउँ छ, मोबाइल। बालककालको सबैभन्दा सुन्दर पक्ष भन्नु नै मामाघर हो। हरेक मान्छेको जीवनमा मामाघरका अत्यन्त स्वर्णिम पलहरू कोरिएका हुन्छन्। तर उसलाई मामाघर पनि जानु छैन। मामाको आँगनभन्दा फराकिलो उसलाई मोबाइलको स्क्रिन भएपछि केको मामाघर ?  थोरै समय पायो कि पूरै तुलसीपुर बजार नाप्ने गर्थे हाम्रा पैतलाले। तर आज उसका पैतालाले कोठाको चौघेरो नाघ्न सक्दैनन्। सिसाभित्र संसार हेर्ने मेरो छोरोलाई मैले मेरो आँगनको मजा दिन सकेको छैन। पल्लो घरमा मान्छे मर्दा दु :ख मिसाउनुपर्छ भन्ने सिकाउन सकेको छैन। मेरो छोरोको पुस्ताले आँगनका लास टेकेर हिँड्दै फेसबुकमा रिप लेख्ने दिन नआउला भन्न सकिन्न।

एकपटक लेखक अमर न्यौपानेले भनेका थिए- बालकहरू पहाडजस्ता हुन्छन्। पहाडले फोटो खिच्दा हेरिरहन्छ। बालबालिकाहरू पनि हेरिरहन्छन्। तर मोबाइलको गतिसँगै गति बढाउने आजको मेरो छोराको पुस्तालाई कसरी पहाड भनूँ ?  जोसँग मोबाइलका क्यामेरा देख्नेबित्तिकै सेल्फीका अनेक पोज आउँछन्।

धेरैलाई लाग्छ, बालबालिका धेरै जान्ने हुनुपर्छ। मलाई लाग्छ, बालबालिका नजानेकै हुनुपर्छ। सुत्दा अँध्यारो हुन्छ भने उठ्दा किन उज्यालो हुन्छ। मेरो छोरालाई यसको अर्थ थाहा नहोस्। अनि थाहा नहोस् किन जाडोमा चुरोट नखाँदा पनि मुखबाट धुवाँ आउँछ भनेर ? जीवनका केही समय आश्चर्यमा बिताउने उसको बालअधिकार हो। सानोमा घरमा रेडियो नभएपछि छिमेकीको घरमा रेडियो सुन्न गइन्थ्यो। रेडियोमा फटाफट मान्छे बोलेको सुनेर लाग्थ्यो, ‘यति सानो रेडियोमा कसरी यति धेरै मान्छे अटाएका होलान् !’ साँच्चै यही भ्रमले जीवनलाई कति आनन्द दिएको थियो। बालापनमा भ्रमहरूमा बाँच्नुको आनन्द साँच्चै नै बेग्लै हुन्छ।

यो डिजिटल दुनियाँले सबै भ्रम तोडेर लगेको छ। बस् यौटै भ्रम बाँकी छ, यो मोबाइलमा नै जीवन छ, खुसी छ।

हिजो खेलिने सबै कुरा आज मोबाइलमा छ। विद्यालयमा खाजा खाने पैसा लुँडोमा हार्दा दुख्ने मनको अनुभूति गुगलप्ले स्टोरबाट जन्मिएको लुँडोमा कहाँ हुनु ?  जित्न जित्न लागेको बेला ९९ बाट सीधै तल आउँदा आधा होश हराउने दिमागको अनुभूति आज कहाँ हुनु ?

हिजो भौतिक र प्राविधिक कुरा खासै थिएन तर जीवनले टुक्राटुक्रामा आनन्द लिएर बाँच्न जानेको थियो। आज भौतिक र प्राविधिक सबै कुरा छन्। तर जीवन सुनसान सुनसानजस्तै छ। आजको बालक हुनुको अनुभूति नगरेर नै ठूलो हुन्छ। घरकुली खेलेर आपूmले मन पराएकी केटीलाई खेलेको निहुँमा माटोको सिन्दूर हालेर घर लैजानुको स्वाद कहाँ भेटिन्छ काँचको सानो बाकसमा। सबै अटाएर पनि केही नअटाएजस्तो। सबै भएर पनि केही नभएजस्तो। अहिले पनि मेरा हात खुट्टा अनि पूरै शरीरभरि हेर्ने हो भने खतैखत भेटिन्छन्। सातढुंगे खेल्दा ढुंगाले लागेको, आठकाठ कुन काठ खेल्न दौडँदा साथीसँग जुधेर लडेको अनि छुत खेल्दा रूखबाट खसेका कैयौं दाग छन्। छोरालाई हेर्छु, के दाग हुनु उसको जीवनमा ?  साँच्चै कुनै दाग नै नहुनु जीवन नै नहुनु होइन र ?   

छोरालाई सम्झाउँछु, बुझाउँछु। उसको आँखामा आँखा जुधाएर मेरा जीवनका पानाहरू पल्टाउँछु। उसले सबै कुरा सुनिसक्छ अनि टिकटक बनाउन उठ्छ, ‘हामी यस्तै त हो नि ब्रो।’
@basantbibas1


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.