छाडेर जानेहरू

छाडेर जानेहरू

बाँचुन्जेल कसरी र कुन अवस्थामा बाँचेको छ भन्ने पत्तोसमेत हुँदैन। मरेपछि सबैको सहानुभूति।


साहित्यका विभिन्न विधाहरूमा जीवनी पनि एउटा अलग्गै विधा हो। हामीले आजसम्म संसारका जति पनि महान् मानिसहरूका बारेमा जानकारी राखेका छौं, ती सबै जीवनी लेखनकै कारणले हुन्। सिर्जना र समालोचनाका आफ्नै पाटाहरू छन् तर स्रष्टालाई चिन्न अलग्गै लेखनको पाटो पनि हुनुपर्छ। सबै लेखक वा पाठकका रुचि समान हुँदैनन्। कुनै पनि मानिसको बारेमा कहीँ कतै चर्चा चल्यो भने जसलाई पनि त्यसको बारेमा जानकारी लिन मन लाग्छ। उसको जिन्दगीका बारेमा विशेष चासो भइहाल्छ। यसै पनि मानिसको मनोविज्ञान अरूको चासो राख्नमा रमाउँछ। यी चासोका पनि अर्थ छन्। जीवित नै रहेको मानिसको चासो उसका अवगुणहरू थाहा पाउन बढी जिज्ञासु हुन्छ भने दिवंगत भइसकेपछि उसका अवगुणहरू सुन्न मन लाग्दैन।

नेपाली साहित्यमा जीवनी लेखनलाई नै आफ्नो मूल लेखन बनाउने मानिसहरू एकदम नै थोरै छन्। यसै त अर्काको प्रचार गर्नुभन्दा किन आफ्नै सिर्जनामा नलाग्ने भन्ने पनि हुँदो हो। जीवनी लेखन एकप्रकारको इतिहास लेखन नै हो। समाजमा रहेका हरेक व्यक्तिले कुनै न कुनै रूपमा समाजको प्रतिनिधित्व गरिरहेको हुन्छ र हरेक व्यक्तिले कुनै खास कालखण्डको सूचना दिइरहेको हुन्छ। एउटा एउटा व्यक्तिविशेष कारणले राज्यको कालबोधक भएकै हुन्छन्।

जीवनी कसको र किन लेख्ने ! भन्ने कुरा पनि सँगसँगै आउँछ। कुनै खास विषयमा कुनै खास कालखण्डमा विशिष्टता हासिल गरेको भए तिनलाई त छोड्नै मिल्दैन। तर कहिलेकाहीँ लेखिनैपर्नेहरू छोपिएर खासै भूमिका नभएकाहरू अग्रपृष्ठमा हाँसिरहेका देखिन्छन्।

प्रस्तुतिको ढंगले नै कृति पठनीय हुने नहुने निश्चित हुन्छ। हरेक लेखन सिर्जनात्मक हुन्छ, त्यसमा कला पनि भर्न सकियो भने। पढ्न थालेपछि छोड्नै मन नलाग्ने हुनु नै लेखकको सफलता हो। जीवनी त अझ त्यस्तो विधा हो जसले सम्बन्धित व्यक्तिलाई प्रस्तुत गर्न नजाने ध्वस्त बनाउन सक्छ। एकपल्ट लेखिएर बजारमा गइसकेपछि त्यो फिर्ता गर्न सकिँदैन। राणाहरूले सारा शक्ति लगाएर खोज्दा पनि मकैको खेतीको एक प्रति भेट्न सकेनन्।

जीवनी, एउटै मानिसका बारेमा सिंगा सिंगै कृति पनि बनाउन सकिन्छ। सामूहिकतामा पनि प्रस्तुत गर्न सकिन्छ। राम्रो जीवनीकारले छोटैमा पनि सम्बन्धित व्यक्तिको सुन्दर चित्रण गर्न सक्छ। पछिल्लो कालमा आफ्नो बारेमा आफैं लेख्ने चलन पनि आएको छ। त्यस्तो लेखन कतिपय अवस्थामा दुर्घटनाग्रस्त भएका छन्। आफूलाई बचाउँदै लेखिएका कृतिहरू समाजका आँखामा गलत सावित हुन्छन्। वास्तवमा जीवनी भनेको अरूले नै लेखिदिएको राम्रो हुन्छ। त्यसबाट सम्बन्धित व्यक्तिलाई पनि आफ्नो चित्र समाजमा कस्तो रहेछ भन्ने थाहा हुन्छ।

देशीविदेशी धेरै जीवनी पढियो होला। संसारका विशिष्ट मानिसहरूका बारेमा जान्दछु भन्ने अहम् पनि अरूले लेखेकै पढेर त हो ! हाम्रै देशमा पनि जीवनी लेखनको अभ्यास लामै छ। तर पनि पुग्दो लेखन भएको छैन। हामीले गुगल खोलेर संसारका जुनसुकै मानिसका बारेमा तुरुन्त थाहा पाउन सक्छौं तर त्यही भीडमा हामी हाम्रा कैयौं महान् मानिसहरूलाई भेट्दैनौं। सिर्जना मात्र हैन, त्यसको सर्जकको व्यक्तिगत जीवन कस्तो छ ? कसरी बाँचिरहेको छ ? समाज र राष्ट्रले उसलाई कसरी मूल्यांकन गरेको छ भन्ने कुरा पनि सबैको चासोको विषय हुनुपर्छ।

पछिल्लोपल्ट थोरै पृष्ठमा धेरैको जीवनी समेटिएको कृति मेरो हातमा परेको छ। १७६ पृष्ठमा ३६ जना अट्नु भनेको जीवनीको संक्षिप्त रूप नै मान्नुपर्छ। स्मृतिमा छाडेर जानेहरू कृति मलाई निकै अघि जयदेव भट्टराईले दिएका थिए। निकै दिनसम्म पुस्तकका थाकमा मतिर फर्किएर हेरिरहेको किताबलाई टिपेर एकपल्ट सररर पल्टाएँ। विषयसूची हेरेँ। विषयसूचीमा विशेषणयुक्त शीर्षकहरू देखेपछि अब छानेर हैन सुरुदेखि नै पढ्ने बाध्यता आइलाग्यो। प्राय : सबै स्रष्टाका फोटा छन् तर कतिपयलाई मैले प्रत्यक्ष भेटेको रहेनछु र अब भेट्ने सम्भावना पनि टरिसकेको रहेछ।

मेरो धेरै समय झापामा बितेको हुनाले काठमाडौं केन्द्रमा रहेका लेखकहरूसँग भेट्न नजुरेको थियो। २०६४ मा काठमाडौं आएपछिको पछिल्लो छ वर्षमा पनि मैले धेरै विशिष्ट लेखकहरूलाई सजिलै भेट्ने मौका पाइनँ। भेट्नु पर्ला भन्दाभन्दै एकएक गर्दै बिदाइ हुँदै गए। दोहोर्‍याएर भेटौं भन्दाभन्दै हालै अमर गुरुङ, कृष्णचन्द्रसिंह प्रधान, जगदीश घिमिरेहरू बिते। भेटौं भन्दाभन्दै हालै मदनमणि दीक्षित बिते। अहिले पनि भेट्न मन लागिरहेका निकै अग्रजहरू छन् तर भेट्न नभ्याइरहेको व्यस्तताको कथा बनाइरहेको छु।

आज यो किताब पढ्न पाउँदा मलाई धेरैजनाका बारेमा सामान्य जानकारी पाउन सजिलो भयो। यो कृतिमा समावेश गरिएका पुण्यरश्मि खतिवडा, बुलु शर्मा, सुन्दरप्रताप शाह दु :खी, सोमध्वज विष्ट, हेम हमाल, देवी शर्मा र प्रेमा शाहलाई मैले कहिल्यै भेटिनँ। यीमध्ये प्रेमा शाहसँग अमेरिकामा हुँदा मेसेन्जरमा केहीपल्ट संवाद भएको थियो। उहाँका विषयान्तर र पहेँलो गुलाफ कथासंग्रह भने मनोयोगले नै पढेको थिएँ। पछिल्लो कालमा लेखनबाट किन टाढिनुभएको भनेर सोध्दा उहाँका केही निराशाजनक विचारहरू थिए। खासमा असफल वैवाहिक जीवनबाट उत्पन्न भएका विषाद्हरूका कारण केही लेख्न मन नलागेको कुरा भन्नुभएको थियो।

बाँकीमध्ये हेम हमालका कविताको म फ्यान थिएँ। बुलु शर्माको एउटै किताब पढेको थिएँ— जीवन आनन्दको अनि पीडाको। यो किताब पढ्दा मैले धेरैपल्ट आँखाहरूलाई पुछिरहेको थिएँ। पछि उहाँ नाताले मदनमणि दीक्षितकी बहिनी पनि पर्नुहुन्छ भनेपछि झन् रुचि बढेको थियो। पुत्रशोकमा आमाले लेखेको त्यो गद्य हरेक पाठकका लागि भावनाको र शोकको सन्दुक नै लाग्दछ।

बाँकी २९ जनामा प्राय : धेरैसँग मेरो नजिककै सम्बन्ध पनि रह्यो। सेतो बाघ पढेरै मैले राणाहरूको इतिहास बुझेको थिएँ। नेपाली लेखकहरूमध्ये म नै पहिलो त्यो लेखक हुँ जसले पुस्तकको लेखकस्वबाटै जीवनको आर्थिक पक्षलाई सन्तुलित बनाएँ भनेर भन्नुभएको थियो एक दिन उहाँकै घरमा, उहाँलाई सासंक प्रतिष्ठानको कार्यक्रममा प्रमुख अतिथिको निम्ति अनुरोध गर्न छविलाल खतिवडा र म पुग्दा। तर उमेरको कारणले झापा लान सकिएन। डायमन शमशेरबाटै यो पुस्तक प्रारम्भ भएको छ।

कृष्णचन्द्रसिंह प्रधानले मेरो पहिलो निबन्धसंग्रह बालक हराएको सूचना (२०४८) काठमाडौंमा विमोचन गरिदिनुभएको थियो। त्यो निबन्धको विमोचन मन्तव्यमा उहाँले— मैले निबन्धमा आफ्नो उत्तराधिकारी भेटेको अनुभव गरेको छु भनेर भन्नुभएको थियो र उहाँको त्यो विचारबाट आशीर्वाद प्राप्त गरेको म अहिलेसम्म पनि सबैभन्दा बढी निबन्धमै रमाइरहेको छु। पाँचौं निबन्धसंग्रहको तयारीमा जुटिरहेको पनि छु।

इन्द्रबहादुर राईसँगको संगतले त मेरो साहित्यिक जीवनकै कायापलट भएको छ। २०४५ सालदेखि उहाँको लीलालेखन अभियानमा हेलिएको म आज पारि कुनै टापुमा आइपुगेको छु।

कमलमणि दीक्षितले पहिलोपल्ट २०४६ सालमा दमकमा भएको चौथो महानन्द पुरस्कार समारोहको प्रमुख अतिथि भएर मलाई सो पुरस्कार प्रदान गर्नुभएको थियो र २०६२ मा त्यसैगरी मदन पुरस्कार पनि हस्तान्तरण गर्नुभएको थियो। जहिले भेटे पनि नयाँनयाँ लेख्न उक्साइरहनु हुन्थ्यो।

भवानी घिमिरे हामी झापाली युवा कविहरूका नेता हुनुहुन्थ्यो। उहाँको संगतले मलाई कवि, निबन्धकार, कथाकार, पत्रकार, सम्पादक, आन्दोलक केके बनायो केके ! सडक कवितादेखि भोक कविता आन्दोलनसम्म, भानुयात्रा-भारतका डुवर्स, दार्जिलिङ, सिक्किम र आसामदेखि २०४६ सालको सडक आन्दोलनसम्म। काव्यिक चेतनाका संवाहक भवानी घिमिरे धेरै युवापुस्ताका प्रेरणाका स्रोत र नेता पनि हुनुहुन्थ्यो।

राजेश्वर देवकोटासँग मेरो एकपल्ट मात्र प्रत्यक्ष भेट भयो, त्यो पनि झोला फिल्म प्रदर्शनीको चापाचापका बेला कुमारी हलमा। तर भेटै नहुँदा पनि खास खास बेलामा उहाँले मलाई फोन गरेको सम्झना हुन्छ। २०५८ सालमा आमा खसेको बेला, २०६७ सालमा सीताजी बितेको बेला र २०६२ सालमा मदन पुरस्कारको घोषणा भएको बेला। उहाँको द्वन्द्वको अवसान भन्ने पुस्तकले ममा माधवी पढ्दाको जस्तै आनन्द र कौतूहल उत्पन्न गराएको थियो।

बालकृष्ण पोखरेलसँगका संस्मरण धेरै छन् लेख्नु हो भने। पूर्वमै बसेर उहाँले नेपाली भाषालाई अतुलनीय योगदान दिनुभयो। झर्रोवादी आन्दोलनबाट नेपाली भाषालाई आजको अवस्थामा ल्याइपुर्‍याउन उहाँले गरेको योगदानको मात्र कुरा गरे पनि पुग्छ। साहित्यका विविध विधामा कलम चलाउन सक्ने उहाँले मलाई हरेक पल्टको भेटमा लेखनको निरन्तरता र अभ्यासलाई नछोड्ने सुझाव दिनुहुन्थ्यो।

मैले कक्षा ५ को विद्यार्थी हुँदा पहिलो पल्ट कृष्णप्रसाद पराजुलीकै बालकथा सारेर कक्षामा सुनाई साहित्यको यात्रा प्रारम्भ गरेको थिएँ। यो कुरा मैले मेरो आधाबाटो किताबमा लेखेको उहाँले पढ्नुभएछ। पछि भेटमा भन्नुभो— तपाईंमा मैले इमानदारी देखेँ। धेरैले यति सजिलै अर्काको प्रभाव वा सहयोगको प्रशंसा गर्दैनन्। यो साँचो बोल्ने जिब्रोलाई बँचाएर राख्नुहोला। मेरो कोसिस जारी छ।

जगदीश घिमिरेसँग पनि काठमाडौं आएपछि नै भेट भो र त्यो भेट एकदम नै आत्मीयतामा परिणत भएको थियो। उहाँले फोनमा लामालामा साहित्यिक विमर्शहरू पनि गर्नुहुन्थ्यो मसँग।

पहिलोपल्ट गरिमामा आमालाई बेच्नु हुँदैन लाटा ! भन्ने कथा पढेपछि म मनु ब्राजाकीको जबरजस्त फ्यान बनेको थिएँ। त्यसपछि भेटेसम्म उहाँका कथा र गजलहरू कुनै छोडिनँ। अमेरिकाको कोलोराडोमा पछिल्लोपल्ट भेटेको थिएँ। त्यस बेला उहाँ मुटुको रोगसँग लडिरहनुभएको थियो।

कृष्णभूषण बल त पूर्वका हाम्रा साहित्यिक नेता नै हुनुहुन्थ्यो। बैरागी काइँला झापाबाट काठमाडौं आएपछि उहाँले नै हामीलाई निरन्तर काम दिनुहुन्थ्यो। जगदीशशमशेर राणाको नरसिंह अवतार पढेर केही नबुझेपछि म उहाँको आलोचक थिएँ। पछि सेतो ख्याकको आख्यान त झन् अनौठो भएर आएको थियो। उहाँको सेतो ख्याकमाथि आईबी राईले सानो पुस्तिका नै छापेपछि बल्ल केही बुझेझैं लाग्यो। मेरोे इन्द्रबहादुर राई, बैरागी काइँला, ईश्वरबल्लभहरू जस्ताका लेखाइहरू पनि बुझ्न सक्छु भन्ने अहम् राणाका लेखनका अघि चुरचुर भएको थियो। नेपाली भाषाको साहित्यमा सबैभन्दा क्लिष्ट लेखन उहाँकै हो भन्ने मलाई लाग्छ।

मोहनराज शर्माले २०३७ सालमा बिर्तामोडमा भएको मेची अञ्चलस्तरीय साहित्य सम्मेलनमा मैले सुनाएको त्यो रात शीर्षकको कविताको चर्चा गरिदिएपछि ममा लागेका पखेटा अझै आकाशमै कावा खाइरहेका छन्।

अरू गोविन्द गोठाले, फणीन्द्रराज खेताला, धर्मराज थापा, माधवलाल कर्माचार्य, देवकुमारी थापा, राधिका राया, नित्यराज पाण्डे, भीम विराग, वासु शशी, वासु रिमाल यात्री, राममणि रिसाल, राममान तृषित, शिव रेग्मी, डा. कुमारबहादुर जोशी, क्षेत्रप्रताप अधिकारी, दैवज्ञराज न्यौपाने आदि सबैसँग लामा छोटा मीठा संस्मरणहरू छन्।

जयदेव भट्टराईसँग पहिलोपल्ट मेरो भेट भएको थियो २०४४ सालमा झापामा। त्यस बेला उनी साहित्यकार परिचय र अभिव्यक्ति कृतिको तयारीको यात्रामा भेटिएका थिए। सुरुदेखि नै साहित्यिक पत्रकार तथा जीवनी लेखकका रूपमा स्थापित उनले अहिलेसम्म व्यक्तित्व र शब्दचित्र, सन्दर्भ र खोजी, छाडेर जानेहरू आदि एघारवटा कृति प्रकाशित गरिसकेका छन्।

यो कृतिको विशेषता भन्नु सबै दिवंगत लेखकहरूलाई सम्झाइएको छ। तीमध्ये कति कुनै सञ्चारमाध्यमले चिन्दै नचिनिएकाहरू पनि छन् भने कतिपय पछिल्लो कालमा आर्थिक, पारिवारिक कारणले एकदम नै दु :खी हुँदै बितेका भेटिन्छन्। सबैभन्दा बढी ९४ वर्ष बाँचेका डायमनशमशेरदेखि सबैभन्दा कम ५६ वर्ष बाँचेका वाशु शशीसम्मलाई समेटेका छन्।

उनले एक ठाउँमा एकदम नै मार्मिक वाक्य यसरी लेखेका छन्— जीवनभरि स्रष्टाले, पीडा भोगेको जीवन बाँचेको भए पनि मरेपछि ओइरिन थाल्छ समवेदना र महानताका कुरा। हेरिसाध्य हुँदैन, सुनिसाध्य हुँदैन, सबैले भेटेका, नजिकबाट चिनेका केके हुन् केके ! बाँचुन्जेल कहाँ र कुन अवस्थामा भन्ने पत्तोसमेत नभएकाहरू एकाएक सल्बलाउन थाल्छन्। नजिक हुन थाल्छन् र फेसबुकका पेज हेरेरै भ्याइँदैन। बाँचुन्जेल कसरी र कुन अवस्थामा बाँचेको छ भन्ने पत्तोसमेत हुँदैन। मरेपछि सबै खुलस्त, सबैको सहानुभूति। गज्जब !

यो पढेर म निकै बेर घोरिएँ। हाम्रो औपचारिकताको यथार्थ रूप। यो रूप राज्यको पनि हो। २०१२ सालमा सुरु भएको झर्रोवादले नेपाली भाषालाई आज यस्तो रूप दिन सकेको छ। २०२० सालमा सुरु भएको तेस्रो आयामले नेपाली कवितामा बौद्धिकताको उचाइ आज यहाँ ल्याइपुर्‍याएको छ। २००८ सालमा सुरु भएको प्रगतिशील लेखनले आजको नेपाली कविताको प्रमुख धारा बन्न पुगेको छ।

साहित्यले आजको आजै कहाँ फल दिइहाल्छ। यी सबै अग्रज लेखकहरू त्यस्ता पीपलहरू हुन्, जो आफैं पोचिँदै फेरि त्यही पोचोबाट आफैं उम्रिँदै गरिरहन्छन्। जयदेवले यो सानो किताबमा नेपाली साहित्यका महारथिहरूलाई बोन्साई बनाएर पीपल उभ्याएका छन्। यो पुस्तक विद्यार्थीहरूका लागि जीवनीपरक पाठ्यसामग्री बनाउनसमेत उपयुक्त देखिन्छ। विगत सम्झाउने यस कृतिले आगतप्रति पनि गम्भीर बनाउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.