अधवैंशलाई फ्याटी लिभरको खतरा

अधवैंशलाई फ्याटी लिभरको खतरा

काठमाडौं : बर्गर, पिजा, समोसा, पकौडालगायत खानेकुरा खाने बानी छ ? घरबाहिरको खाना खाने र व्यायाम गर्ने बानी छ भने सजग हुनुहोस्। खानपान र अस्वस्थ जीवनशैलीकै कारण अधबैंसे उमेरमै फ्याटी लिभरको समस्याले सताउन सक्छ।

गाउँबाट सहरमा बसोबास गरिरहेका व्यक्तिको खानपान र जीवनशैलीका कारण फ्याटी लिभरको समस्या देखिएको चिकित्सक बताउँछन्। वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेशकुमार कश्यप भन्छन्, ‘सहरियामा घरबाहिर खानपान गर्ने प्रवृत्ति हुन्छ। व्यायाम नगर्ने स्वभाव भएका व्यक्तिलाई फ्याटी लिभरको समस्या देखिएको छ।’ ४० वर्ष नाघेका व्यक्तिलाई फ्याटी लिभरको समस्या बढी देखिएको छ।

के हो फ्याटी लिभर ?     

कलेजो मानव शरीरको दोस्रो ठूलो अंग हो। दाहिनेतिरको कोखामा रहेको कलेजोमा बोसोको मात्रा धेरै जमेको अवस्थालाई फ्याटी लिभर भनिने चिकित्सक बताउँछन्। कलेजोमा आवश्यकभन्दा बढी मात्रामा फ्याट (बोसो)को मात्रा धेरै हुनु नै फ्याटी लिभर भएको डा. कश्यपको भनाइ छ।

औसत रूपमा कलेजोको वजन डेढ किलोग्रामको हुन्छ। यही कलेजोमा अधिक मात्रामा बोसोको मात्रा जम्नु नै फ्याटी एसिड हो। चिल्लो खानेकुरा, जंक फुड र मदिरा सेवनले कलेजोमा बोसोको मात्रा बढी जम्न पुग्छ। मोटोपना , उच्च रक्तचापका बिरामी, रगतमा ट्राइग्लाइसेराइडको मात्रा धेरै भएका र मधुमेहको समस्या भएका व्यक्तिमा फ्याटी लिभरको समस्या देखिने जोखिम हुन्छ।

डा. कश्यपका अनुसार घरबाहिरको खानामा फ्याटको मात्रा धेरै हुन्छ। त्यही फ्याट कलेजोमा जम्न पुग्छ। यदि, कलेजोमा ५ प्रतिशतभन्दा बढी बोसो छ भने फ्याटी लिभर भएको मानिन्छ। फ्याटी लिभरको मात्रा हेरेर सोहीअनुरूप उपचार गरिन्छ।

सिरोसिसको जोखिम

कलेजोमा हुने समस्याको सुरुवात नै फ्याटी लिभर हो। फ्याटी लिभरबाट फाइब्रोसिस र सिरोसिस हुने जोखिम हुन्छ। सिरोसिस भएपछि क्यान्सरसमेत हुन सक्छ। पेटमा पानी भरिन्छ। पानीको संक्रमण हुन्छ।

लक्षण नदेखिन पनि सक्छ। मोटो व्यक्तिलाई फ्याटी लिभरको समस्या हुने गरेको छ। तर, दुब्लो व्यक्तिलाई फ्याटी लिभरको समस्या हुँदैन भन्न सकिँदैन। अल्ट्रासाउन्ड गरेर हेर्दा फ्याटी लिभर देखियो भने सतर्कता अपनाउनु पर्छ। फ्याटी लिभरको समस्या भएका व्यक्तिलाई पेटको दाहिने भागमा दुख्ने लक्षण देखिन सक्छ।

रोकथाम

– चिल्लो पदार्थ सेवन नगर्ने

– जंक फुड प्रयोग नगर्ने

– फलफूल नियमित खाने

– दैनिक सागसब्जी खाने

– वजन सन्तुलनमा राख्ने

– नियमित व्यायाम गर्ने

उपचार

फ्याटी लिभर भएको अवस्थामा औषधि सेवन गर्न सकिन्छ। फ्याटी लिभरको समस्या समाधान गर्ने सबैभन्दा सजिलो उपाय नियमित व्यायाम नै हो। डा. कश्यम भन्छन्, ‘खानेकुरा र व्यायामबाटै फ्याटी लिभरको समस्या समाधान गर्न सकिन्छ। नियमित व्यायाम गर्ने हो भने यो समस्याबाट मुक्त हुन सकिन्छ।’

सिरोसिस भएको छ भने प्रत्यारोपण गर्नुको विकल्प नहुने उनी बताउँछन्। त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण हुने गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.