बाघको छालासहित ६ जना पक्राउ
धादिङ : गजुरी गाउँपालिकास्थित २ चालिसेबाट अवैध बाघको छालासहित छजना पक्राउ परेका छन् । विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीबाट गएको प्रहरी टोलीले ३ वटा मोटरसाइकल र एउटा बाघको छालासहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ३ का भाइराम प्रजा, राजेन्द्र तामाङ, ज्ञानबहादुर विक, आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका २ का सन्त तामाङ र ३ का राजकुमार तामाङ रहेका छन्।
ग्रामिण क्षेत्रबाट राजमार्गतर्फ आउँदै गरेको बा १८ प ९६९३ नम्बरको मोटरसाइकलमा लुकाइ छिपाइ ल्याउँदै गरेको अवस्थामा पाटे बाघको छालासहित भाइराम प्रजा र सन्तमान तामाङ पक्राउ परेका थिए ।
उनीहरुको सूचनाको आधारमा बाघको छाला बिक्री गर्न मिलेमतो गरिरहेको अन्य ४ जना पक्राउ गर्न सफल भएको धादिङका प्रहरी प्रमुख राजकुमार बैदरवारले बताए । पक्राउ पर्नेको नेटवर्क ठूला तस्करसँग जोडिएको अनुमान रहेकाले उनीहरुको कल डिटेलका आधारमा अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख बैदवारले भने, 'प्रारम्भिक अनुसन्धानमा यिनीहरुको सम्बन्ध ठूलै गिरोहसँग रहेको हामीले अनुमान गरेका छौँ, अनुसन्धान गर्छौँ ।'पक्राउ परेकाको साथमा रहेको बा १८ प ९६९३, ग ७ प ५९६३, ग ६ प १६४५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।
पक्राउ परेकालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय धादिङमा पठाइएको छ।