कालीगण्डकी करिडोर निर्माण : मिर्मी-सेतीवेणी जलाशय पुरिदै

कालीगण्डकी करिडोर निर्माण : मिर्मी-सेतीवेणी जलाशय पुरिदै

स्याङजा : स्याङजा, गुल्मी र पर्वतको सगंमस्थलमा बनाइएको कृत्रिम ताल एवम् मिर्मी-सेतीवेणी जलयात्रा क्षेत्र पुरिदै गएको छ। कालीगण्डकी ए जलविद्युत उत्पादनका लागि मिर्मिमा बाँध बनाएपछि बनेको कृत्रिम ताल सडक निर्माणका क्रममा खसेको ढुंगा माटोले पुरिन थालेको हो। 

स्याङजातर्फ रहेको निवुवाखर्कदेखि पीडिंखोला जोड्ने मोटरबाटो र गुल्मीतर्फको कालीगण्डकी करिडोर निर्माणका क्रममा खसेका ढुंगा, गिटी, बालुवा, माटो र रुखले ताल किनारका धेरै भाग पुरेको हो। पूर्वतर्फ रहेको स्याङजाको भूभाग भन्दा पश्चिमतर्फको गुल्मीको भूभागमा झण्डै एक दर्जन स्थानमा  माटो, ढुंगा र रुख खस्नेक्रम जारी छ।
नेपाललाई उत्तरमा चीन र दक्षिणमा भारतसँग जोड्ने सबैभन्दा छोटो चार सय ३५ किमीको कालीगण्डकी करिडोर हो। करिडोरको ट्याक खुलेपछि अब सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोराला पुग्न सकिन्छ। कालीगण्डकी नदीको तिरैतिर बनेर गएको सो करिडोर गुल्मीतर्फको हो। स्याङजालाई भने करिडोरले छुदैन।  

कालीगण्डकी करिडोर निर्माणका क्रममा पहाड काट्दा ठूलो मात्रामा खसेका ढुंगा, माटो रुख सिधै तालमा खसेको छ। यसरी नै ताललाई पुर्दै जाने हो भने केही वर्षपछि तालकै अस्तित्व नरहने अनन्तकुमार श्रेष्ठको भनाइ छ। 

जलविहारमा रमाउन आएका श्रेष्ठले भने, ‘पर्यटकको रोजाई र स्थानीयबासीको छोटो गन्तव्यका रुपमा रहेकोे जलयात्रा संरक्षणमा सबैको ध्यान जान जरुरी छ।’  कालीगण्डकी नदीमा जल यातायात सञ्चालन सुरुपछि आन्तरिक एवं वाह्य पर्यटकको आगमन संख्यामा वृद्धि भएको छ। गण्डकी, लुम्बिनी र धौलागिरी ३ अंचलका ३ जिल्लालाई जोडेको कालीगण्डकी नदीमा जल यातायात  सञ्चालन भएपछि एसियाकै ठूलो शालिग्राम शिला अवलोकनका लागि पनि सहज बनेको छ। जसका कारण धार्मिक यात्रुको संख्या उल्लेख्य रहेको स्थानीय नारायण भट्टराईको भनाइ छ। 
.
यसरी नै कालीगण्डकी ए जलविद्युत उत्पादनका लागि निर्मित कृत्रिम जलाशयमा रमाउनेको संख्या दिनप्रति दिन बढ्दो छ। स्याङ्जाको साविक श्रीकृष्णगण्डकी गाविस ९ मिर्मी आँधीमुहानदेखि पिडींखोला गाविसको सेतीवेणीसम्मको कृत्रिम जलाशयमा सञ्चालित स्ट्रिमरद्वारा गरिने यात्रा रोमाञ्चित र अत्यन्तै स्मरणीय हुने गरेको यात्रु बताउँछन्। हाल स्याङजाको कालीगण्डकी गाउँपालिकामा र गल्याङ नगरपालिकासहित पर्दछ भने पर्वतको महाशिला र गुल्मीको कालीगण्डकीका भूभाग पर्दछन्।   
हिउँदको समयमा दिनहुँजसो ५०÷६० जना बाह्य पर्यटक आउने गरेको स्थानीय बताउँछन्। आउनेमध्ये त्यस क्षेत्रको अध्ययन अवलोकन, वनभोज, भेटघाट तथा धर्म गर्ने उदेश्यले आउने गर्छन्। स्टिमर यात्रापछि जलविद्युत केन्द्रको बाँध, वरपरका गाउँले बस्ती, समथर फाँटलगायत अवलोकन गर्दे वेल्टारीस्थित कालीगण्डकी ए जलविद्युत उत्पादन केन्द्रको पनि अवलोकन गरेर फर्कने गरेका छन् ।

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र निर्माणको क्रममा बनाइएको कृत्रिम जलाशयमा जल यातायात (स्टिमर) सेवा सञ्चालन हुँदै आएको छ। स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा पर्ने करिब ७ किलोमिटर लम्बाइको जलयातायात सेवाले दैनिक दर्जनौं व्यक्तिलाई सेवा दिदै आएको स्टिमर चालक कृष्णलाल पाण्डेले जानकारी दिए।

अहिले स्टिमर दैनिक एक दर्जन स्टिमरबाट आवतजावत गर्ने गर्दछन्। व्यावसायिक रुपमै शीला शालीग्राम कालीगण्डकी जलयातायात प्रालिमार्फत् स्टिमर सञ्चालनमा ल्याइएका हुन। २०६० सालदेखि स्टिमर सेवा संचालनमा आएको हो। यहाँ साना र ठूलागरी स्टिमर सेवा संचालित छन्। 

‘काठका ठुल्ठूला डुंगामा मालबाहक गाडीको इन्जिन जडान गरेर बनाइएका स्ट्रिमरले मालवाहक गाडीको जस्तै बहन क्षमता राख्ने हुदाँ स्ट्रिमर सेवा ती क्षेत्रका लागि बरदान बनेको’, यातायात संचालक समितिका अध्यक्ष डोलराज भट्टराईले बताए।

स्याङ्जाको मिर्मीमा निर्माण भएको कालीगण्डकी ‘ए’ अहिलेसम्मकै ठूलो जलविद्युत केन्द्र  हो। २०५४ सालबाट निर्माण भएको कालीगण्डकी २०५८ मा पूरा भएको थियो। जलविद्युत केन्द्रको विद्युतगृहमा ४८ मेगावाटका ३ वटा उत्पादन युनिट छन्। यहाँबाट १४४ मेगावाट विद्युत उत्पादन हुन्छ। उत्पादित विद्युत लेखनाथ र बुटवल सबस्टेसनमा जोडिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.