प्रधानमन्त्री ओली डायलासिसका लागि ग्राण्डी अस्पतालमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई डायलासिसका लागि आइतबार अपराह्न ग्राण्डी अस्पताल गरिएको छ । अस्पताल पुगेका ओलीको नियमित स्वास्थ्य परीक्षणपछि डायलासिस सुरु भएको हो ।
निजी चिकित्सक दिव्यासिंह शाहका अनुसार नियमित डायलासिसका लागि प्रधानमन्त्रीलाई अस्पताल लगिएको हो। दिव्यासिंहले अन्नपूर्ण अनलाइनलाई जानकारी दिएअनुसार डायलासिस सकिएपछि प्रधानमन्त्री आजै बालुवाटार फर्किनेछन्। ओलीको चौथो पटक डायलासिस सुरु भएको हो ।
प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्थ्यमा समस्या देखिने गरेको छ।
भदौंको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो। त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए। रेनल बायोप्सीको रिपोर्टपछि ओली थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। त्यसअघि छाउनीस्थित सैनिक अस्पताल नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो।
कात्तिक १३ र १४ गते प्रधानमन्त्री ओलीको पहिलो पटक ग्रान्डी अस्पतालमा २४ घण्टामा दुई पटक डायलासिस भएको थियो । त्यसपछि ओलीको लगातार ग्रान्डीमै डायलासिस हुँदै आएको छ ।