वैदेशिक रोजगारीको नाममा ठगी गर्ने ‘एजेन्ट’ पक्राउ
काठमाडौं : वैदेशिक रोजगारको लागि मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक एजेण्ड पक्राउ परेका छन्।
विदेश लगिदिन्छु भन्दै विभिन्न व्यक्तिहरुसँग रकम उठाइरहेको सूचनाका आधारमा वैदेशिक रोजगार विभागले एजेन्ट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ताप्लेजुङ जिल्ला साविक ढुङ्गेसाघु घर भई हाल बूढानीलकण्ठ नगरपालिका–८ कपन बस्ने ३३ वर्षीया कैलाश लिम्बू रहेका छन्।
विभागले काठमाडौं सिनामंगलस्थित नोभा म्यानपावरको कार्यालय भवन नजिकैको स्थानबाट वैदेशिक रोजगारमा जाने व्यक्तिबाट १ लाख २० हजार रकम बुझिसकेको अवस्थामा विभागको टोलीले रंगेहात फेला पारी नियन्त्रणमा लिएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए।
लिम्बूले सिन्धुली घर भएका झलकबहादुर विक र पोस्टराज विकबाट नगद रकम लिइसकेको अवस्थामा विभागले रंगेहात पक्राउ गरेको हो।
लिम्बूले दुई दाजुभाइलाई मलेसिया पठाइदिन्छु भनी यस अघि नै ८० हजार रकम लिइसकेको र शनिबार मलेसिया फ्लाइट भएको र एक लाख साठी हजार रकम लिएर आउन आग्रह गरेको अवस्थामा पक्राउ गरिएको हो।