समृद्ध खजुरा हाम्रो अभियान

समृद्ध खजुरा हाम्रो अभियान

बाँकेको खजुरा गाउँपालिकामा समृद्ध खजुरा अभियान चलेको छ। गाउँंपालिकालाई ग्रिन सिटीका रूपमा विकास गर्ने अवधारणा पनि अघि बढेको छ। खजुराको विकास र समृद्धिका विषयमा नेपालगन्ज सहकर्मी शंकरप्रसाद खनालले गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपतिसँग गरेको कुराकानी :

खजुरामा विकासको काम कसरी अघि बढेकोे छ ?

०७४ साल असार १४ गते स्थानीय तहको निर्वाचनबाट निर्वाचित भयौं। सुरुको एक वर्षलाई हामीले आधार वर्षका रूपमा लियौं। यस वर्षभित्र प्रशिक्षण, अभिमुखीकरण कार्यक्रम, सभा, गोष्ठी गर्‍यौं। ऐन, कानुन र कार्यविधि बनायौं। सुरुकै वर्ष पुँजीगत (विकास निर्माण) को तर्फ ६० देखि ७० प्रतिशत रकम खर्च गर्न हामी सफल भयौं। जनताले प्रत्यक्ष अनुभूति हुने किसिमका विकास निर्माण पनि सुरु गर्दै छौं।

के–के काम हुँदैै छन् त ?

०७५/७६ मा वडा नम्बर १, २, ३ र ४ मा १८ किलोमिटर बाटो कालोपत्रे गरिसकेका छौं। शिक्षा, स्वास्थ्य र कृषिमा परिवर्तन ल्याउने कामको थालनी गरेका छौं। कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्ने, स्वास्थ्यमा सबैको पहुँचको व्यवस्थापन गर्ने र पालिकालाई शिक्षाको हब बनाउने उद्देश्यसाथ अघि बढ्ेका छौं। १ देखि ८ नम्बर वडासम्म स्वास्थ्य केन्द्र बनिसकेका छन्। खजुरामा भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शड्ढयाको अस्पताल अपग्रेड गर्ने योजना बनेर प्रक्रिया अघि बढिरहेको छ। खजुरास्थित क्यान्सर अस्पतालको सञ्चालक समितिको म संस्थापक अध्यक्ष पनि हो। यो अस्पताललाई हामीले प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशको ‘सेन्ट्रल क्यान्सर अस्पताल’का रूपमा विकास गर्ने योजना अघि बढाउँदै छौं।

शिक्षाका कुरा गर्दा खजुरामा दुई वटा नमुना माध्यमिक विद्यालय र दुई वटा प्राविधिक धारको विद्यालय विकास गरेका छौं। सन्तकुटीको जनता नमुना विद्यालयमा कृषितर्फको प्राविधिक धारको अध्यापन गराइन्छ। यही विद्यालयमा हामीले १० बिघा जग्गा दिएर कृृषि क्याम्पस चलाउँदै छौं। अबकोे शैक्षिक शत्रदेखि बीएससी एजीको कक्षा सञ्चालन हुँदै छ। यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको समन्वय र सहकार्यबाट काम अघि बढाउँदै छौं। त्यसका लागि संयुक्त रूपमा केही बजेट पनि विनियोजन गरिएको छ। बीएससी एजी पढ्न खजुराका विद्यार्थी अब रामपुर जानुपर्ने बाध्यता हटेको छ। अर्को ज्ञानोदय नमुना माध्यमिक विद्यालय हो। जहाँ इन्जिनियरिङतर्फको प्राविधिक धारको अध्यापन भइरहेको छ। वडा नम्बर ५, ६, ७ र ८ लाई लक्ष्य गरेर सीटीईभीटीमार्फत सञ्चालन हुने कम्प्युटर साइन्सको प्र्राविधिक धारको विद्यालय निर्माण गरिरहेका छौं। गत वर्ष ४० लाख विनियोजन गरेका थियौं। प्रदेश सरकारले २० लाख विनियोजन गरेको छ। हामीले यस वर्ष ४० लाख बजेट छुट्ट्याएका छौं।

खेलकुदको कुरा गर्दा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हामीले तीन वटा इभेन्ट भव्यतासाथ सम्पन्न गरेका थियौैं। वडा नम्बर २ मा भलिबल स्टेडियम बनिसकेको छ। वडा नम्बर ४ मा फुटबलको प्याराफिट बनाउँदै छौं। खेलकुदमा प्रोत्साहनका काम गरिरहेका छौं।

खजुरा गाउँपालिका, प्रदेश सरकार र केन्द्रीय सरकारको लगानीमा चालु वर्ष मात्र हामीले वडा नम्बर ५, ६ र ७ मा २१ किलोमिटर बाटो कालोपत्रे गर्दै छौं। यसको टेन्डर प्रक्रिया अघि बढिसकेको छ। यिनै वडालाई लक्ष्य गरेर खजुरा–५ उढरापुरको प्रतीक्षालय चोकमा १५ सय मेट्रिक टन क्षमताको शीतभण्डार बनाउँदै छौं। यसको काम पनि अघि बढेको छ। ६ करोड ७५ लाखको सुविधा सम्पन्न बहुद्देश्यीय सभागृहको शिलान्यास भर्खरैै भएको छ। वडा नम्बर ६ र ७ मा छात्रा विद्यालय निर्माणका लागि बजेट विनियोजन गरेका छौं।

तीन–तीन वटा बजेट ल्याइसक्नुभयो। जनताले देखिने गरी भएका विकास योजना के–के छन् ?

हामीले १८ किलोमिटर सडक कालोपत्रे गरेका छौं। बाँकेका ८ वटा स्थानीय तहमध्ये शिक्षा र स्वास्थ्यमा अगाडि छौं। जिल्लाका उत्कृष्ट किसान खजुरामै छन्। वडा–वडामा चिल्ड्रेन पार्क बन्दै छ। सामाजिक सुरक्षा वडा–वडामा बैंकिङ प्रणालीमार्फत वितरण गरेका छौं। सामाजिक सुरक्षा भत्तामा हुने चुहावट शत्प्रतिशत नियन्त्रण भएको छ। वृद्धवृद्धाका लागि वर्षको दुई पटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौं। उनीहरूलाई जाडोमा कम्बल बाँडेका छौं। जनताले हामीले गरेको कामको अनुभूति गरिरहनुभएको छ।

बृहत् खजुरा सम्मेलन गर्नुभयो। यसबाट के उपलब्धि भयो ?

समृद्ध खजुरा निर्माणका लागि हामीले कात्तिक ६ र ७ गते बृहत् खजुरा सम्मेलन भव्यतासाथ सम्पन्न गर्‍यौं। सम्मेलनमा देश, विदेशबाट २ सय ५१ जना सहभागी भए। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भयो। १० वटा विषयमा कार्यपत्र प्रस्तुत भए। कार्यपत्रका आधारमा हामीले २१ बुँदे घोषणापत्र जारी गरेका छौं।

यो सम्मेलनले खजुराको विकास, उत्थान र समृद्धिको निमित्त विज्ञ टिम हायर गर्नुभन्दा खजुरावासी, खजुरामा जन्मेका, खजुरा घर भएर स्वदेश र विदेशमा रहेका विज्ञको सुझाव र अनुभव फलदायी ठानेर सम्मेलनमा बोलाएका हौं। उहाँहरूको विषयगत अनुभव र विज्ञतालाई एकआपसमा बाँड्न पायौं। कोही अमेरिकामा कृषिमा पीएचडी गर्दै हुनुहुन्छ। कोही अस्ट्रेलियामा प्रोफेसर हुनुहुन्छ। कोही इंग्ल्यान्डदेखि आउनुभयो। कोही पोखरा, काठमाडौं, बुटवललगायत सहरबाट सम्मेलनमा सहभागी हुनुभयो।

समृद्ध खजुरा निर्माण गर्न सबैका आइडिया सेयरिङ गर्‍यौं। दीर्घकालीन योजनाबारे छलफल गर्‍यौं। उनीहरूका लिखित राय लियौं। खजुरालाई समृद्ध बनाउन र खजुुराकै मानिसको अपनत्व कायम गर्न हामीले यो बृहत् सम्मेलन गरेका हौं। उहाँहरूले दिएको लिखित सुझावलाई २१ बुँदामा घोषणापत्र जारी गरेका छौं। यसैका आधारमा हामी १५ वर्षभित्र समृद्ध खजुरा बनाउने अभियानमा लागेका छौं।

खजुरालाई ग्रिन सिटी कसरी बनाइँदै छ ?

खजुरा गाउँपालिका र युनाइटेड नेसन साउथ को–अप्रेसनबीच ग्रिन सिटी बनाउने विषयमा उज्वेकिस्तानको राजधानी ताजस्किस्तानमा हामीले सम्झौता गरेर आएका छौं। सम्झौतापछि युएनको विज्ञ टिमले खजुरा गाउँपालिकामा सात दिनसम्म रिसर्च गरेर फर्केको छ। किसान, उद्योगपति, सामाजिक अभियन्तासँग प्रत्यक्ष भेटेर खजुरालाई कुन मोडलको ग्रिन सिटी बनाउन सकिन्छ भनेर चीनमा अध्ययन भइरहेको छ।

सुरुमा पाइलटिङका रूपमा काम हुन्छ। त्यो मोडालिटी ओके भइसकेपछि कृषि र सिँचाइ विज्ञका साथै किसानको टिम लिएर म चीन जाँदै छु। हामी डिसेम्बरमा जान्छौं। त्यसको मोडालिटीमा छलफल हुनेछ। डिसेम्बर लास्ट वा जनवरी फस्टमा पाइलट प्रोजेक्ट सुरु हुन्छ। पाइलट प्रोजेक्टपछि ग्रान्ड प्रोजेक्ट सुरु हुनेछ।

ग्रिन सिटीमा के–के कुरा समेटिनेछ ?

ग्रिन सिटी भनेको व्यवस्थित सहरको परिकल्पना हो। यसमा कृषिलाई कसरी व्यवसायीकरण गर्ने भन्ने हुन्छ। जस्तो अहिले हामीले एक बिघा खेतमा हामीले ४५–५० क्विन्टल धान फलाउँछौं। यो अवधारणाले एक बिघा खेतमा अत्याधुनिक तरिकाले खेती गरेर कम्तीमा पनि डेढ सयदेखि दुई सय क्विन्टल धान उत्पादन गर्नुपर्छ। बीउविजन, सिँचाइ, मलखादका कुरामा आधुनिकीकरण हुनेछ। पशुपालन, माछापालन, शुद्ध खानेपानी, बाटोघाटो, पुलपुलेसाका कुरा सडक बत्तीका कुरा यससँगै जोडिन्छ। सोलर पावरका कुरा छन्। फोहोर व्यवस्थापन पर्नेछ। वृक्षरोपण हुनेछ। हरियाली बनाउन कुन ठाउँमा कुन वृक्षरोपण गर्ने भन्ने प्रस्ट हुनेछ। ग्रिन सिटी भनेको बिरुवा रोप्ने मात्र होइन कि व्यवस्थित सहरको परिकल्पना हो। व्यवस्थित सहर बन्न बाटोघाटो राम्रो बन्नुपर्छ।

उन्नत खेतीपाती हुनेछ। बिजुली बत्तीका कुरा छन्। शुद्ध खानेपानीका कुरा छन्। यी विविध कुरा एकअर्कासँग जोडिएको छ। १५ वर्षभित्र समृद्ध खजुरा बनाउने लक्ष्यसाथ जसरी हामी अघि बढेका छौं। त्यो लक्ष्यमा पुग्न यो प्रोजेक्ट निकै सहयोगी हुन्छ भन्नेमा हामी विश्वस्त छौं। ग्रिन सिटी प्रोजेक्ट सञ्चालन गर्न खजुरा गाउँपालिकाको मात्र दायित्व छैन। युनाइटेड नेसनको साउथ को–अप्रेसन, युनाइटेड नेसन साउथ–साउथ को–अप्रेसन अफ एग्रिकल्चर, वल्र्ड फुड प्रोग्राम, युएन, युएनडीपी, चीनको निजी क्षेत्रको ठूलो प्राइभेट कम्पनी गरी ६ वटा डोनर एजेन्सी हामीसँग सामेल भइसकेका छन्।

यो प्र्रोेजेक्टका लागि कति लगानी हुनेछ ?

दुई अर्बभन्दा बढीको प्रोजेक्ट हुनेछ। कति लगानी हुन्छ र कति वर्षमा सम्पन्न हुन्छ भन्ने पाइलट प्रोजेक्ट सुरु भइसकेपछि मात्र थाहा हुन्छ। पाइलट प्रोजेक्ट सुरु भएपछि ग्राइन्ड प्रोजेक्ट बन्नेछ। पाँच/सात वर्ष पनि लाग्न सक्छ, प्रक्रियामा। योचाहिँ पक्का हो कि देशका सात सय ५३ स्थानीय तहमध्ये खजुरा पहिलो ग्रिन सिटी बन्दै छ।

भर्खरै सडक मानवमुक्त गाउँपालिका घोषणा गर्नुभयो। यसको कार्यान्वयन कसरी भइरहेको छ ? देशका चार सय ६० गाउँपालिकामध्ये पहिलो पटक हामीले सडक मानवमुक्त गाउँपालिका घोषणा गरेका छौं। घोषणासभामा हामीले तीन वटा महत्त्वपूर्ण कुरा गरेका छौं। पहिलो, जसले वृद्ध बाआमालाई पालनपोषण हेरचाह गर्दैन। त्यस्तालाई गाउँपालिकाले दिने सुविधा कटौती गर्नेछौं।

दोस्रो, जसले वृद्ध बाआमालाई राम्रो स्याहारसुसार गर्छ। प्रत्येक वडामा रेकर्ड राखेर वर्षमा तीन जनालाई पुरस्कृत गर्नेछौं। जसले सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ। जसको कोही छैन। त्यसको जिम्मेवारी हामी स्थानीय तहले लिन्छौं। हाम्रो गाउँपालिकाभित्र ३७ जना बालक र बेसाहारा थिए। उनीहरूलाई नेपालगन्जको नीलसागर आ श्रममा पठाएका छौं। अब खजुरामा सडकमा यस्ता मान्छे देख्नुहुन्न यो हाम्रो प्रतिबद्धता हो। यसलाई व्यवहारमै लागू गरेर देखाउँछौं।

‘ह्याप्पी होम’कसका लागि बनाउँदै हुनुहुन्छ ?

सामाजिक सुरक्षा भत्ता बुझ्नेहरूका लागि हामीले ‘ह्याप्पी होम’ निर्माणको नयाँ अवधारणा ल्याएका छौं। यसका लागि ३० लाख रूपैयाँ बजेट छ। यो घरमा उहाँहरू दिनभरि बस्नुहुन्छ। योग गर्नुहुन्छ। भजन–कीर्तन गर्नुहुन्छ। सुरुमा पाइलटिङको रूपमा हामी वडा नम्बर ३ मा निर्माण गर्दै छौं। त्यसपछि प्रत्येक वडामा प्रत्येक वर्ष एक–एक वटा ह्याप्पी होम निर्माण गर्ने नीति तथा कार्यक्रममा पनि उल्लेख गरेका छौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.