त्रिचन्द्र घटनामा आफ्नो संलग्नता नरहेको नेविसंघको दावी
काठमाडौं : नेविसंघ त्रिचन्द्र क्याम्पसले क्याम्पस प्रमुखमाथि भएको हातपातमा आफ्नो संलग्नता नभएको दावी गरेको छ । क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेमाथिको कुटपिटमा नेविसंघको संलग्नता भएको समाचार आएको प्रति नेविसंघले आपत्ति जनाएको हो ।
नेविसंघ इकाई अध्यक्ष लोकप्रसाद सिवाकोटीले एक विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टिकरण दिएका हुन् । 'क्याम्पसमा भएको हुलदंगा र क्याम्पस प्रमुखमाथि भएको कुटपिटमा हाम्रो कुनै संलग्नता छैन,' विज्ञप्तिमा भनिएको छ, 'वार्तामार्फत समस्याको समाधान खोज्नुपर्छ ।'
विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै विद्यार्थीले घेरेर न्यौपानेलाई सोमबार बिहान कुटेका थिए ।