बदर मत रोक्न लमजुङमा नमुना मतदान
बेंसीसहर : बदर मत रोख्न लमजुङमा नमुना मतदान गरिएको छ । मतदातालाई चुनावमा भोट हाल्दा नझुक्किऊन भनेर नमुना मतदान शिक्षा कार्यक्रम गरिएको हो । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि सुन्दरबजार नगरपालिका २ कान्तिमन्दिरमा जिल्ला निर्वाचन कार्यालय लमजुङको आयोजनामा नमुना मतदान भएको हो ।
मतदान गर्ने तौरतरिका सिकाउन नमुना मतदान गराइएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश हरिशचन्द्र ढुंगानाले बताए । नमुना मतदानले बदर मतको संख्यालाई न्यूनीकरण गर्न समेत सहयोग पुग्ने उनले बताए ।
'निर्वाचनमा अपनाउनुपर्ने नियम र कार्यसँगै नमुना मतदानबारे जानकारी गरायौँ,' जिल्ला निर्वाचन अधिकारी सृजना मिश्रले भनिन्, 'गाउँ टोलमा मतदाता शिक्षा स्वयमसेवकले पनि मतदान गर्ने तरिका सिकाइरहेका छन्।'
नमुना मतदानमा महिला पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिन्हमा मत दिन सिकाइएको थियो । मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो । निर्वाचन अगावै भएको नमुना मतदान गर्न पाउँदा स्थानीय खुशी देखिएका छन् ।
नमुना मतदानमा सहभागी ९७ जनामध्ये ९१ मत सदर भएको थियो भने ६ वटा मत बदर भएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन हुने वडामा २ हजार २ सय ९७ मतदाता छन् । उप-निर्वाचनका लागि उक्त वडामा दुई मतदान स्थल र तीन मतदान केन्द्र तोकिएको छ ।
उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि नेकपाबाट नवीन श्रेष्ठ, नेपाली कांग्रेसबाट प्रकाश सेढाई, राप्रपाबाट पवनराज बसौला, मङ्गल नेशनल अर्गनाइजेशनका तर्फबाट रामजी दर्जी र स्वतन्त्रबाट कृष्णबहादुर केसी चुनावी मैदानमा छन् ।
सुन्दरबजार नगरपालिका २ परेवाडाँडामा यसअघि नेकपाबाट लोकराज पाण्डे अध्यक्षमा निर्वाचित भएका थिए । उनी जिल्ला समन्वय समितिको अध्यक्ष बनेपछि वडा अध्यक्ष पद रिक्त भएको थियो ।