इतिहास दोहोर्याउने तेक्वान्दोको लक्ष्य
काठमाडौं : मार्सल आर्ट्सको उपलब्धि बिर्सने हो भने नेपाली खेलकुद अन्तर्राष्ट्रिय जगत्मा अझै पनि शून्यको स्थितिमा छ। मार्सल आर्ट्समा पाएको सफलता नै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चिनारी हो। त्यसमा पनि तेक्वान्दोले नेपाललाई विशेष सफलता दिलाएको छ। नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा सबैभन्दा बढी पदक तेक्वान्दोबाटै हासिल गरेको छ। दक्षिण एसियाली खेलकुद (साग) मा पनि नेपाललाई सर्वाधिक पदक तेक्वान्दोबाटै मिलेको छ।
नेपालमै भएको आठौं सागबाट तेक्वान्दोले खेलले सागमा प्रवेश पाएको हो। सागको इतिहासमा नेपाललाई सर्वाधिक २४ स्वर्ण पदक दिलाएको तेक्वान्दो यसपटक पनि घरेलु एरिनामा पुरानो साख जगाउने लक्ष्यमा छ। नेपाली तेक्वान्दो टोली अहिले लामो समयदेखि राम्रो तयारी गरिरहेको छ। नेपालले भारतमा भएको १२औं संस्करणमा भने तेक्वान्दोमा आशलाग्दो प्रदर्शन गर्न सकेको थिएन। अघिल्लो संस्करणमा नेपाल स्वर्णविहीन बनेको थियो। नेपालबाट सहभागी १३ खेलाडीमध्ये १२औंमा सात खेलाडीले रजत र तीन जनाले कांस्य जितेका थिए।
नेपालले साग तेक्वान्दोमा सर्वाधिक सफलता सन् १९९९ मा काठमाडौंमै सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदमा पाएको थियो। त्यतिबेला नेपालले १४ स्वर्णमा सबै जितेर ‘क्लिन स्विप’ नै गरेको थियो। त्यसपछि नेपाली तेक्वान्दोले नवौंमा ६ स्वर्ण, १० मा दुई स्वर्ण र ११ औं संस्करणमा दुई स्वर्ण जित्यो। नेपाली तेक्वान्दो खेलाडी र प्रशिक्षक अहिले तेक्वान्दोको त्यही पुरानो साखलाई जोगाउने तयारीमा छन्। देशमै हुने प्रतियोगितामा नतिजाका हिसाबले पनि उत्कृष्ट बनाउन नेपाल तेक्वान्दो संघ लागिपरेको छ।
साग तेक्वान्दो टोलीलाई सुरुमा सातदोबाटोस्थित संघकै एकेडेमीमा राखेर लामो समयदेखि प्रशिक्षण गराईएको थियो। टोलीमा युवा र अनुभवी खेलाडी भएकोले नेपालले तेक्वान्दोबाट राम्रो नतिजा ल्याउने विश्वास गरिएको छ। नेपालले भाग लिने सबै तौलमा नेपालले पदक जित्नेगरी तयारी गरेको मुख्य प्रशिक्षक नविन श्रेष्ठले बताए। ‘घरेलु मैदानमा हुने सागलाई नतिजामुखी बनाउने हिसाबले सबैले मेहनत गरेका छौं। प्रशिक्षणमा रहेका सबै खेलाडीबाट पदकको आशा गरिएको छ। हालै चीन र मलेसियामा गरिएको बैदेशिक प्रशिक्षणले खेलाडीमा थप उत्साह बढेको छ। अघिल्लो संस्करणको पीडा भुल्न पनि यस पटक राम्रो गर्नुको विकल्प छैन,’ श्रेष्ठले भने।
साग तेक्वान्दो खेलाडी
१३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि तेक्वान्दोमा नेपालबाट यसअघि नै ३४ खेलाडी छनोट गरिएको छ। नेपाल तेक्वान्दो संघले पुम्सेमा १८ र क्यारोगीमा १६ गरी ३४ खेलाडी छनोट गरेको हो। पुम्सेमा समान नौ पुरुष र महिला तथा क्यारोगीमा समान आठ पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। सागको पुम्से महिलातर्फ १८ देखि २३ वर्षमा सीना मादेन, निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना छनोट भएका छन्।
२४ देखि २९ वर्षसम्म पार्वती गुरुङ, नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई छनोट भए। ३० वर्षमाथि एसियाली पदक विजेता आयशा शाक्य छन्। पुरुषतर्फ १८ देखि २४ वर्षमा कृष्ण तामाङ, शिशिर श्रेष्ठ, असीम राउत र दीपेन्द्र गुरुङ छन्। २४ देखि २९ वर्षसम्म कमल श्रेष्ठ, जितबहादुर बोटे र प्रेमबहादुर लिम्बू सागको छनोटमा छन्। ३० वर्षमाथि रेजिन रिमाल र सञ्जीव ओझाले प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी क्यारोगीमा महिला ४६ केजीमुनि काजल श्रेष्ठ, ४९ केजी मुनि युनिशा राई, ५३ केजीमुनि अस्किता खड्का, ५७ केजीमुनि निमा गुरुङ, ६२ देखि ७३ केजीमा मनिता शाही, ६७ केजीमुनि संगीता बस्याल, ७३ केजीमुनि अप्सरा कार्की र ७३ केजीमाथि निशा रावलले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ ५४ केजीमुनि मनोज मल्ल, ५८ केजीमुनि गोविन्द आलेमगर, ६३ केजीमुनि ज्ञानेन्द्र हमाल, ६८ केजीमुनि वीरबहादुर महरा, ७४ केजीमुनि निश्चलमान श्रेष्ठ, ८० केजीमुनि किरण आलेमगर, ८७ केजीमुनि भूपेन श्रेष्ठ र ८७ केजीमाथि सक्षम कार्कीले प्रतिस्पर्धा गर्नेछन्।
अन्तिममा मनिताको प्रवेश
तेक्वान्दोकी चर्चित खेलाडी हुन् मनिता शाही। अमेरिकामा बस्दै आएकी शाही साग खेल्न नेपाल आइन्। छनोट खेलमा हेवी वेटमा निशा रावलसँग पराजित भएपछि सुरुमा मनिताको साग यात्रा सकिएको थियो। सागमा छनोट भएकी इन्दिरा बस्नेतले उमेर नपुगेर खेल्न नपाउने भएपछि नेपाल तेक्वान्दो संघले मनितालाई साग टोलीमा समावेश गरेको छ। नागरिकतामा इन्दिराको उमेर साढे १६ वर्ष पुगेको छ। विश्व तेक्वान्दो महासंघ (डब्लूटीएफ)को नियमानुसार अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न खेलाडीको उमेर १८ वर्ष पूरा गरेको हुनुपर्छ। त्यसैले इन्दिराका लागि साग खल्लो बन्यो। यसको फाइदा मनितालाई भएको छ।
इन्दिरा बाहिरिएसँगै संघले महिलातर्फ ६२, ६८ र ७३ केजीको आन्तरिक छनोट खेल गराएर मनितालाई साग टोलीमा समावेश गरेको मुख्य प्रशिक्षक नवीन श्रेष्ठले बताए। ‘मनिता पदकको सम्भावना बोकेकी खेलाडी हुन्। उनले पुनः छनोट खेलबाट टोलीमा स्थान बनाउँदा पदकका हिसाबले नेपाललाई फाइदा हुनेछ’, प्रशिक्षक श्रेष्ठले भने। तेक्वान्दोकी सफल खेलाडी मनिताले २००६ को दोहा एसियाडमा कांस्य जितेकी थिइन्। उनले १०औं सागमा स्वर्ण र ११औं सागमा रजत पदक जितेकी थिइन्।