ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सकियो
काठमाडौं: प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सकिएको छ। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा मंगलबार बिहान सफल शल्यक्रिया भएको हो।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीसहितको टोलीले शल्यक्रिया सम्पन्न गरेको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले संचारकर्मीलाई जानकारी दिए।
एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गरिएको हो। ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा गएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको थियो।
स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको हो। यसअघि पनि प्रधानमन्त्री ओली फलोअपका लागि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए । मिर्गौमा समस्या देखिएपछि २ दिनअघि मात्र उनको चौथो पटक डायलासिस गरिएको थियो।