रक्तश्रावले सुत्केरीको मृत्यु
बाजुरा : जगन्नाथ गाउँपालिका ५ गोत्री सामुदायिक इकाइ केन्द्रमा सोमबार दिउँसो एकजना सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका ५ गात्रीकी ३५ वर्षीया पुल्ती रावल रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए।
घरमै सुत्केरी भएकी रावलको साल नझरेपछि अत्यधिक रक्तश्रावका कारण बेहोस अवस्थामा सामुदायिक स्वास्थ्य इकाइ गोत्री पुर्याएको स्वास्थ्य इकाइमा कार्यरत अमर बुढाले बताए ।'बेहोस अवस्थामा पुर्याएकी उनको साल निकालेपछि रगत पनि रोकियो,' उनले भने,' घाम ताप्दै बिस्कुट र एक गिलास चिया समेत खाएको केही छिनमा मृत्यु भएको बताइएको छ।
यसै आर्थिक वर्षको भदौ महिनायता दुईजना सुत्केरी जिल्ला अस्पताल बाजुरा एकजना त्रिबेणी नगरपालिकाको छतारा स्वास्थ्य चौकी र एकजना सामुदायिक स्वास्थ्य इकाइ गोत्री गरी चारजना सुत्केरीको मृत्यु भएको छ। बाजुरा जिल्लाबाट यसअघि ५ जना सुत्केरीको हेलिकप्टरबाट ज्यान बचाइएको छ।