काठको खोरमा ३३ वर्षीय सिलाबहादुर
नलाङ (धादिङ) : काठै काठले बारिएको एउटा खोर छ। स-साना हातगोडा, दुब्लो शरीर, सुकेको अनुहार, झुम्म दारीजुँगा र बिग्रिएरका दाँत बाहिर निस्केका। एकजना मानिस त्यही खोरभित्र थुनिएका छन् । झट्ट हेर्दा कुनै पशुलाई खोरमा थुनेर राखिएजस्तै देखिए पनि उनी हुन् ३३ वर्षीय सिलाबहादुर नेपाली।
मानसिक सन्तुलन गुमाएपछि विगत ३० वर्ष अघिदेखि धादिङको सिद्धलेक गाउँपालिका २ नलाङका सिलाबहादुर यसैगरी काठै काठले बनेको सानो चौघेरामा जीवन गुजारिरहेका छन्।
उपचार गराउन नसकेपछि सिलाबहादुरलाइ परिवारले सधैंभरि काठकै खोरमा थुनेर राख्ने गरेका हुन् । मानसिक समस्याका कारण घरबाट भाग्ने र लडेर मर्ने डरले सिलाबहादुरकी आमा सुकुमायाले खोरमा थुनेर राख्ने गरेको बताइन् । सुकमायाले भनिन्, 'जस्तो भएपनि आफ्नै छोरो हो, माया लाग्छ, खुल्ला राखिदिने वित्तिकै दौडिहाल्छ, लडेर मर्ला भन्ने पीरले यसरी थुनेर राख्नुपरेको हो ।'
आफू घर भएको बेला सँगै बाहिर राख्ने गरेको भएपनि आफू मेलामात र घाँस-दाउरा गर्न जाँदा भनेर खोरमा थुनेर राख्ने गरेको आमा सुकमायाले बताइन् । सुकमायाले छोराको उपचार पनि नगराएकी होइनन्, तर आर्थिक अभावमा भनेजति उपचार पाउन नसकेपछि सिलाबहादुरको अवस्थामा सुधार आएन। फलस्वरुप उनले काठको खोरभित्रै जीवन गुजार्नु परिरहेको छ।
पहिलेपहिले खासै दुःख नदिएपनि ठूलो हुँदै जाँदा घरबाट हराउने र घर नफर्किने गरेकाले थुनेर राख्नुपरेको सुकमायाको दुःखेसो छ । उनले भनिन्, 'खुल्ला राखिदिँदा कुनै बेला रातभर बेपत्ता हुने, हराउने, बनजंगलतिर जाने गर्न थाल्यो । अलि अगाडी घरबाट हराएपछि गाउँलेले रातभर खोजेर घर ल्याइदिए त्यसपछि यसरी थुनेर राख्ने गरेको हो।'
बिहान बेलुका सिलाबहादुरलाई आमा सुकमायाले नै खाना खुवाइ दिन्छिन् । दिसापिसाब गर्ने संकेत पाएसम्म दिसापिसाब पनि गराइदिन्छिन् तर थाहा नपाएपछि त्यही खोरमै हुन्छ । सुकमायाले भनिन्, 'मैले बुझेर दिसापिसाब गराइदिन्छु तर म यसो घाँसदाउरा गर्न गएका बेला यही खोरमै गरिदिन्छ ।' बेला बेलामा कपडा फेरिदिने गरेको सुकमायाले बताइन् ।
'उपचार गराउने खर्च छैन । बिहान बेलुकाको छाक टार्न मुस्किल छ,' सुकमायाले भनिन्, '१० वर्षअघि मलेखुको भएको स्वास्थ्य शिविरमा छोराको उपचार गराएको थिए, डाक्टरले जीवनभर औषधि खुवाउनुपर्ने बताएका थिए। तर, पैसाको जोहो गर्न नसक्दा औषधि छुटेपछि छोराको अवस्था झन् झन बिग्रिँदै गयो ।'
राम्रो र व्यवस्थित घर नहुँदा यसरी छोरालाई थुनेर राख्नुपरेको सुकमायाले बताइन् । 'भूकम्पमा परेर भत्किएको घर बनाउनको लागि अनुदान पनि आएको थियो ।' सुकमायाले भनिन्, 'भूकम्प पीडितको घर निर्माण गरेको भएपनि ढोका हाल्न नसकेपछि अहिलेसम्म टहरामै बस्न बाध्य भएका छौँ।'
सरकारले जोखिम लाभग्राही भनेर एकल महिला र अपांगता भएका व्यक्तिलाई पुनःनिर्माणका लागि थप ५० हजार रुपैयाँ दिने भनेको छ । तर सुकुमाया एकल र छोरा अपांग भएपनि उनीहरुको जोखिमयुक्त लाभग्राही सूचीमा नाम छैन। नाम नभएपछि घर बनाउँदा पाउने यो सहुलीयत पाएका छैनन् ।
मानसिक सन्तुलन गुमाएका छोरालाइ खाना खुवाउँदै आमा सुकमाया ।तस्बिर : मनीष दवाडी