अतिरिक्त शुल्क नबुझाउने मेडिकल कलेजको धम्की, गृहमा बैठक
काठमाडौं : मेडिकल कलेज संचालकले विद्यार्थीसँग लिएको शुल्क फिर्ता गर्न नसक्ने बताएका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै मंगलबार कलेजले यस्तो अडान लिएका हुन्।
उता गृह मन्त्रालयमा सरकारले दिएको अल्टिमेटमभित्र मेडिकल कलेजले विद्यार्थीलाई शुल्क फिर्ता नगरे के कारवाही गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। शुल्क फिर्ता नगरे प्रहरी लगाएर पक्राउ गर्ने चेतावनी सोमबार नै गृहले दिइसकेको छ।
काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा चलेका मेडिकल कलेजहरुले गलबार मन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझाउने कलेजहरुमा काठमाडौं मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, लुम्बिनी मेडिकल कलेज, नेपाल मेडिकल कलेज र विराट मेडिकल कलेज रहेका छन्।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित मेडिकल कलेजहरुले पनि शिक्षामन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छन्।