‘प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख’
काठमाडौं : प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्य सुधारोन्मुख रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बिहान शल्यक्रिया भएको हो।
अहिले हाल उनलाई सेन्टरको सघन उपचार कक्ष (आइसीयू)मा राखिएको छ। ‘सम्भावित जोखिम र संक्रमणप्रति चिकित्सक टोली पूर्णरुपमा सचेत छ। सचेत हुँदै जोखिम न्युनिकरण गर्न हरसम्भव प्रयासरत छ’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने।
प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारको विषयलाई लिएर अतिरञ्जित सूचना बाहिर नल्याउन र मानवीय संवेदनशीलताको विषयमा सत्यतथ्य नबुझी ब्रेकिङ्गको होडबाजी नगर्न पनि प्रेस सल्लाहकार थापाले आग्रह गरेका छन्।
यता, प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे साँझ ७:३० बजे अस्पतालले दोस्रो पटक विज्ञप्ति सार्वजनिक गर्दै अवस्था स्थिर रहेको जनाएको छ। सेन्टरका कार्यकारी निर्देशक प्रा.डा उत्तम कृष्ण श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वास्थ्यमा समस्या आई आज मिति २०७६/८/१० गते मंगलबार बिहादेखि यस सेन्टरमा उपचाररत रहनु भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीयज्यूको शल्यक्रिया पश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा जानकारी गराइन्छ।’