चेकमा किर्ते हस्ताक्षर : २० लाख चोर्ने ६ पक्राउ
काठमाडौं : चेकमा किर्ते हस्ताक्षर गरी २० लाख चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
राजधानीका बैंकबाट खातावालहरुको रकम चोरी गर्ने नयाँ गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खातावालको हस्ताक्षर नक्कल गरी रकम चोरी गर्ने अन्जन बराल, मणि घिमिरे, सुवास बजगाइँ, कुमार तामाङ सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँका गोपालमान राजवाहकले जनता बैंकमा रहेको खाताबाट अचानक २० लाख रुपैयाँ हराएपछि प्रहरीकहाँ उजुरी गर्दा उक्त गिरोहबारे खुलासा भएको हो । अचानक रकम गायब भएपछि राजवाहकले दुईदिन अघि मात्रै प्रहरीकहाँ उजुरी दिएका थिए ।सोही आधारमा प्रहरीले अनुसन्धान गरी ६ जना अभियुक्तलाई पक्राउ गरेको हो ।
हस्ताक्षर नक्कल गर्ने गिरोह
यस घटनासँगै प्रहरीले राजधानीमा सक्रिय उक्त गिरोहले नयाँ धन्धा चलाएको जनाएको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र कोगटीका अनुसार उनीहरु १९ देखि २० वर्ष उमेर समूहका मात्रै छन् ।
प्रहरीका अनुसार उनीहरु राजधानीका बैंकमा पुगी खातावालको चेक पत्ता लगाएर हस्ताक्षर नक्कल गर्दै रकम झिक्ने धन्धा नै चलाउँदै थिए ।
'चेक हरायो, खोज्नुपर्यो भन्दै बैंकमा जाने रहेछन्, चेकको ढड्डा खोज्दा सजिलो लाग्ने हस्ताक्षरको फोटो खिचेर लैजाने । उक्त हस्ताक्षर नक्कल गरी चेकबाटै रकम झिक्ने रहेछन्,' डिएसपी बोगटीले भने ।पीडित गोपालनकै खाताबाट पनि तीन पटक गरी २० लाख रकम झिकेको खुलासा भएको छ ।
बैंकका कर्मचारीमाथि आशंका
उक्त घटनामा प्रहरीले बैंकका कर्मचारीमाथि पनि आशंका गरेको छ । सोही आधारमा प्रहरीले मंगलबार राष्ट्र बैंकका उच्च कर्मचारी सहित जनता बैंकका कर्मचारीलाई पनि टेकुमा बोलाएको थियो । कर्मचारीको परामर्शका आधारमा यसबारे प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।अभियुक्तहरुलाई बुधबार मात्रै टेकुमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।