मेरो प्रतिस्पर्धा सरकारका गलत रवैयासँग हो
कास्कीको निर्वाचन क्षेत्र नं २ मा सबैको आँखा गडेको छ यतिबेला। पूर्वमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको उक्त निर्वाचन क्षेत्रमा यही मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनमा नेकपा, नेपाली कांग्रेस, साझा पार्टी, राप्रपा नेपाल, नेपाल समाजवादी पार्टी र विवेकशीललगायत ११ दल र स्वतन्त्र १० गरी २१ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता छन्। यो क्षेत्रमा पोखरा महानगरपालिकाका ११ वटा वडा छन्। प्रतिस्पर्धा नेकपा र कांग्रेसबीच हुनेछ। दुईतिहाइको बलशाली सरकारलाई अस्तित्व जोगाउन निर्वाचन जित्नैपर्ने वाध्यता छ भने प्रतिपक्षी नेपाली कांग्रेसलाई सरकारप्रति बढ्दै गएको असन्तोषको फाइदा उठाउन र पार्टी एकढिक्का रहेको सन्देश प्रवाह गर्न पनि निर्वाचन जित्नैपर्ने छ। दुवैका लागि प्रतिष्ठाको लडाईं बनेको कास्कीमा कसले बाजी मार्ला त ? प्रमुख ठूला दलमध्ये नेकपाकी उम्मेदवार विद्या भट्टराई र नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल दुवैजना विजयी हुनेमा विश्वस्त देखिन्छन्। तपाईंको निर्वाचन जित्ने आधार के हो ? भन्ने विषयमा केन्द्रित खेमराज पौडेलसँग अन्नपूर्णकर्मी केशवशरण लामिछानेले गरेको संक्षिप्त कुराकानी :
तपाईंका चुनावी एजेन्डा के छन् ?
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको सरकारका गलत क्रियाकलापविरुद्ध जनतालाई सजग बनाऔं भन्ने हो। दोस्रो, विकास निर्माण हो। पोखरा महानगरपालिका ग्रामीण भेगलाई समेत मिलाएर बनाइएको छ। कतिपय वडा सम्पन्न छन् भने कतिपय ग्रामीण र दयनीय अवस्थाका छन्। ती वडामा शिक्षा, स्वास्थ्य, सडकलगायत पूर्वाधारका क्षेत्रमा रहेका कमीकमजोरी छन्, तिनलाई सुधार गरेर लैजाने हो। पोखराको मुख्य बजारका नागरिकले जेजस्तो सुविधा पाएका छन्, ती वडाका नागरिकलाई पनि त्यस्तै सुविधा पुर्याउने हो। पोखरा पर्यटकीय दृष्टिले आकर्षण केन्द्र बनेको छ। धुवाँ, धुलो र फोहोरमैलाले यहाँको सौन्दर्य बिग्रिँदै गएको छ। यसको सुधारका लागि आवश्यक प्रयत्न गर्ने हो। फेवाताललाई संरक्षण गर्दै लैजाने पनि मेरो एजेन्डा हो।
कास्की–२ को एक सिटले तात्विक अन्तर नपार्ने भए पनि नेकपा र कांग्रेसले यहाँको उपचुनावलाई किन प्रतिष्ठाको विषय बनाएका होलान् ?
वर्तमान सरकार पदासीन भएको २१ महिना पुगिसक्यो। तर, महत्वपूर्ण कामको थालनी गर्ने सुरसारै देखाएको छैन। भ्रष्टाचार, कुशासन बढ्दै गएको छ। प्रजातन्त्र कमजोर बनाउने खालका काम भइराखेका छन्। राष्ट्रियता कमजोर हुँदै गइरहेको छ। संघीयता कमजोर बनाउने काम भइरहेको छ। यी क्रियाकलापविरुद्ध सचेत बनाउन यो चुनाव महत्वपूर्ण कडी हुन्छ। हामीले चुनाव जित्ने आधार पनि यही हो।
कांग्रेसको दीर्घरोग अन्तर्घात र गुटबन्दी तपाईंका हकमा लागू हुँदैन भन्ने आधार के हो ?
उपनिर्वाचनलाई नागरिकले सरकारविरुद्ध खबरदारी गरेर जाने अवसरका रूपमा उपयोग गर्छन् भन्ने विश्वास छ। सरकारलाई सावधानी गराएर सही बाटोमा हिँडाउन भनेरै हामी एकजुट भएका हौं। नेपाली कांग्रेसले एकसिट जित्दैमा ठूलो उपलब्धि हात पर्ने होइन। नेकपालाई पनि केही फरक पर्नेवाला छैन तर सरकारका क्रियाकलाप सच्याउन पनि निर्वाचनलाई अवसर बनाउन कांग्रेसले दबाब सिर्जना गर्नुपर्ने वाध्यता छ। नेकपालाई जिताउने हो भने सरकार सफल भएको सन्देश जानेछ। कांग्रेसले जित्दा नेकपा नेतृत्वको सरकारलाई जनताका पक्षमा काम गर्न दबाब बढ्नेछ। सरकारका गलत अभ्यास र विसंगति बढ्दै जान्छन्। यस्तो अवस्थामा कांग्रेसलाई मत दिनुपर्छ भन्ने बहुसंख्यक नागरिकको आवाजको प्रतिनिधित्व हामीले गर्छौं भन्ने विश्वास छ।
६० वर्ष राजनीति गरेपछि मात्रै कांग्रेसले तपाईंलाई उम्मेदवार बनायो। किन ढिला गरेको होला ?
त्यतापट्टि म जान चाहन्न। अहिले आवश्यक ठान्यो र मलाई टिकट दियो। म खुसी नै छु। पार्टीप्रति आभारी छु। मलाई कहिल्यै टिकटको लोभ भएन। टिकट पाइन भनेर म कहिल्यै निरास पनि भइनँ। निष्ठाको पैरवी गरें। पार्टीको इमानदार सिपाही भएँ।
मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
तपाईंले टिकट पाउनुभयो। राम्रो भयो। जित्नुपर्छ भनेका छन्। मेरो उम्मेदवारीले राजनीतिमा निष्ठा, मूल्य र मान्यताको पुष्टि भएको छ। कांग्रेसले राम्रो उम्मेदवार उठायो भन्नेहरू पनि छन्। सरकारसँग हाम्रो जुन अपेक्षा थियो, त्यो पूरा भएन अब तपाईंले जितेर गएर खबरदारी गर्नुपर्छ भनेका छन्। बिजयी भएँ भने जनताको त्यो अपेक्षा पूरा गर्न प्रयत्नशील रहनेछु।
जित्ने आधारका रूपमा सरकारका गलत क्रियाकलाप र त्यसलाई सच्याउने भन्नुभयो। नेकपा (तत्कालीन एमाले) का रवीन्द्र अधिकारीले ३ पटक जितेको ठाउँमा तपाईंले जित्नुहोला ?
रवीन्द्र अधिकारी अहिले छैनन्। उनको बारेमा चर्चा गर्नु बेकार हो। अहिले विद्या भट्टराई हुनुहुन्छ। उहाँले कस्तो काम गर्नुहुन्छ, मैले कस्तो काम गर्छु भन्ने पनि होइन। यो चुनाव कुनै उम्मेदवार विशेषसँग लक्षित छैन। मेरो प्रतिस्पर्धा विद्यासँग पनि होइन। नेकपासँग पनि होइन। सरकारका गलत क्रियाकलाप्रति लक्षित हो। रवीन्द्रजीले ३/३ पटक जितेर जानुभयो। उहाँले राम्रै काम गर्न खोज्नुभएको थियो भन्ने पनि हुँदोरहेनछ। सरकार गलत बाटोमा हिँडेपछि एउटा व्यक्तिको प्रयासले मात्र केही हुँदो रहेनछ भन्ने प्रमाणित भएको छ।
कति मतान्तरले चुनाव जित्ने अनुमान गर्नु भएको छ ?
त्यो जनताको निर्णयमा निर्भर गर्छ। जनतामा जुन किसिमको सद्भाव र उत्साह देखिएको छ त्यसले सकारात्मक संकेत गरेको छ। नेकपाले ३/३ पटक जितेकाले फेरि उसैले जित्छ भन्ने हुँदैन। नेकपाको सरकारले २१ महिनाको अवधिमा देखाउन लायक केही पनि काम गर्न नसकेकाले जनताले निर्णय फेर्छन् भन्ने विश्वास छ। सरकार मुखले मिठोमिठो कुरा गर्ने तर काम फिटिक्कै नगर्ने बाटोमा अग्रसर रहेकाले जनता निराश देखिन्छन्। सरकारको रवैयाबाट नेकपाका कार्यकर्ता मात्र होइन आमनागरिकको शिर निहुरिएको छ। नेकपाका कार्यकर्ता पनि रुष्ट भएका छन् यो सरकारबाट। यो अलोकप्रिय बन्दै गइरहेको छ। त्यसैले हामी ७/८ हजारको मतान्तरले जित्छौं। नागरिकको शिर माथि उठाउन पनि कांग्रेसलाई जित्नुपर्ने वाध्यता छ।
निर्वाचन आयोगले तोकेको सीमाभित्र बसेर चुनाव खर्च धान्नुहुन्छ ?
मेरो त्यस्तो धेरै खर्च भएको छैन। चुनाव निष्पक्ष तरिकाले हुनुपर्छ। गलत प्रवृत्ति हुनुहुँदैन। खर्चपर्च गरेर जानुहुँदैन भन्ने मेरो सोच हो। मलाई खर्च गर्नुपर्ने आवश्यकता छैन। जनता हामी राजनीतिकर्मी भन्दा सचेत छन्। खर्च गरेर चुनाव जितिन्न। बरु चुनाव हार्नुपरे हारिएला।