बागलुङ उपनिर्वाचन : वाम भर्सेज कांग्रेस, यस्तो छ आंकलन
बागलुङ : जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश 'ख' र बडिगाड गाउँपालिका २ मा वडा अध्यक्षको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनलाई मिनी जनमत संग्रहको उपमा दिँदै दल र उम्मेदवार नतिजा आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा छन् । आज रातिदेखि सुरु मौन अवधिको समयमा हुने चुनावी रणनीति र त्यसले नतिजामा ठूलो बदलाब ल्याउने दल, उम्मेदवार र मतदाता बताउँछन् ।
यस क्षेत्रको गण्डकी प्रदेश सभा सदस्य र वडा अध्यक्ष दुवैमा मुख्य रुपमा बाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुनेछ ।सत्ता बागडोर सम्हालेको मुलुकको पहिलो पार्टी बनेको नेकपाको प्रदेश सभा सदस्य तर्फ आफ्नो उम्मेदवार छैन । नेकपाले केन्द्रीय तहबाटै राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीलाई समर्थन जनाएर बाम गठबन्धन बनाएको छ ।
नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा पराजय बेहोरेका जीत शेरचनलाई चुनावी मैदानमा उतारेको छ । यस क्षेत्रमा २०७४ को प्रदेश सभा निर्वाचनमा साविकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा वामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरि विजयी भएका थिए ।
घर्तीका प्रत्यासी कांग्रेसका शेरचनले ८ हजार ६ सय ६४ मत प्राप्त गरेका थिए । उक्त चुनावमा ३ हजार २ सय ६० मतको अन्तर थियो । अहिले प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रमा ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका छन् । जसमध्ये ढोरपाटनमा साविकको एमालेले जीत हाँसिल गरेको थियो भने निसी र तमानमा कांग्रेसले जितेको थियो । यस क्षेत्रको अघिल्लो निर्वाचनको समानुपातिक मत परिणाम हेर्दा ७ हजार ४ सय १८ मत कांग्रेसले लिएको छ ।
यो चुनावमा कांग्रेसका तत्कालिन उम्मेदवार जित शेरचनले समानुपातिकको भन्दा १२ सय बढी मत लिएका थिए । तत्कालिन एमालको ४ हजार ५६, माओवादीको ३ हजार ३ सय ६५ र राजमोको ४ हजार २ सय ५४ मत गरि यस क्षेत्रको समानुपातिक मत गठबन्धनको मत ११ हजार ७ सय ७५ देखिन्छ ।
समानुपातिकभन्दा गठबन्धनका उम्मेदवार घर्तीले १ सय ९ मत बढी लिएका थिए । अहिलेको चुनावी परिणाममा केही विषय, कारण र क्षेत्र निर्णायक बन्न सक्छन् । पहिलो, वामगठबन्धन बनाएका नेकपा र राजमो दुवै दलभित्र उम्मेदवारीका बारेमा केही असन्तुष्टि प्रकट भएको थियो । यसकै परिघटनामा नेकपा नेता शेरमान घर्तीले बागी उम्मेदवारी दर्ता गरेका थिए ।
केही मिनेट ढिलाइका कारण मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी फिर्ता लिन नपाए पनि अन्ततः उनले वक्तव्यमार्फत फिर्ता लिएर अहिले गिलासमै भोट मागिरहेका छन् ।
यही प्रकरणमा नेकपाका नेता तुलसीराम अर्याल र दधिराम अर्याल कारवाहीमा परेका छन् । यी दुवैले अहिले बागी उम्मेदवार मैदानमा नभए पनि तीनको चुनाव चिन्ह क्लिपमा भोट मागिरहेका छन् । राजमोभित्र पनि पार्टीभित्रको बैचारिक संर्घषको विषयमा मतभेद छ ।
राजमो प्रभाव क्षेत्र मानिने ढोरपाटन नगरपालिका वडा नम्बर ४ मा यिनै विषयमा वडा अध्यक्षलगायत माथि भएको भौतिक आक्रमणको घटना छ । यसले पनि चुनावी नतिजा निर्धारित हुनेछ ।यद्यपी यसलाई राजमो जिल्ला अध्यक्ष अमर थापाले आन्तरिक रुपमै समस्या समाधान गरिसकिएकाले निर्वाचनमा कति मतान्तर हुने भन्ने विषय मात्र बाँकी रहेको दावी गर्छन् ।
दोस्रो, कांग्रेस अघिल्लो निर्वाचनमा भन्दा यस पटक एकढिक्का देखिएको छ । अहिले वाम भित्र बागीदेखि अन्य आन्तरिक विवाद विद्यमान देखिएको र कांग्रेस एकतावद्ध भएकाले चुनावी नतिजा फेरिने कांग्रेस जिल्ला सचिव नवराज पौडेल बताउँछन् ।
तेस्रो, अहिलेको निर्वाचन परिणाममा समाजवादी पार्टीका उम्मेदवार अशोक विकले प्राप्त गर्ने मतले पनि केही हद सम्म नतिजा निर्धारण गर्नेछ । कारण स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट ढोरपाटन नगरपालिका १ मा वडा अध्यक्षमा चुनाव लडेका उनी अहिले समाजवादीबाट उम्मेदवार बनेका छन् । वडामा पार्टीका अरु सबै सदस्यले जित्दा पनि उनी माओवादीका चित्र भण्डारीसँग पराजित भएका थिए ।
यद्यपी, विकको उम्मेदवारीले कांग्रेस मात्र होइन, बाम गठबन्धन पनि सशंकित छ । चुनाव हुने ढोरपाटन, तमान र निसी दलित समुदायको बाहुल्यता भएको क्षेत्र भएको र अरु दलित उम्मेदवार नभएकाले बामको मत काटिन सक्ने बामपन्थी नेता बाबुराम आचार्य बताउँछन् ।
चौथो, राप्रपा नेपालबाट उम्मेदवार बनेका गणेश कुवर छन् । नेपाली कांग्रेसबाट साविकको राजकुत गाविस अध्यक्ष भएका कुँवर राप्रपाबाट उम्मेदवार बनेसँगै कति मत ल्याउनेछन् । अर्को तर्फ विवेकशिल नेपाली दलको समर्थनमा सन्तोष भण्डारी उम्मेदवार छन् ।
उनी नेकपाका स्थानीय नेता तथा ढोरपाटन नगरपालिका १ वडा अध्यक्ष चित्र भण्डारीका छोरा हुन् । यसले पनि नतिजामा आंशिक प्रभाव पार्न सक्ने आचार्यको आंकलन छ । पाँचौ, सामान्यतयाः सांसदको निधन पछि तिनका श्रीमति उम्मेदवार बनाउने प्रचलन जस्तो भए पनि स्वर्गीय घर्तीका पत्नी हालै मात्र स्थायी शिक्षक भएकाले राजमोले खिमबिक्रम शाहीलाई उम्मेदवार बनाएको छ ।
त्यसको फाइदा उठाउँदै कांग्रेस उम्मेदवार जित शेरचनले आफू अघिल्लो निर्वाचनको घाइते उम्मेदवार भनेर सहानुभूतिको मत लिने प्रयासमा छन् । उपनिर्वाचनमा आठ राजनीतिक दलसहित एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् भने एक उम्मेदवारबिहीन चुनाव चिन्ह क्लिप छ । जसमा अरुले नै चुनावी प्रचार गरेर भोट मागिरहेका छन् ।
ठूला दलका अतिरिक्त राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी, राप्रपाबाट गणेशबहादुर कुवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मंगोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर र स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारी चुनावी प्रतिस्पर्धामा छन् ।