प्रधानमन्त्री ओलीको पाँचौं पटक डायलासिस, स्वास्थ्यमा सुधार
काठमाडौं : मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ बुधबार बिहानदेखि खुसी देखिन्थे। प्रधानमन्त्री केपी ओलीलाई उच्चस्तरको उपचार व्यवस्था मिलाउने व्यवस्थापकीय नेतृत्व गरेका श्रेष्ठ सुरुका चौबिस घण्टा मलीन अनुहारमा देखिएका थिए। अत्यधिक पेट दुखेपछि प्रधानमन्त्री ओली मंगलबार बिहान नौ बजे सेन्टरमा पुगेका थिए। उपचारमा कमी हुन नदिन श्रेष्ठ बिहानदेखि खटिए।
‘आज (बुधबार) मेरो अनुहार हेर्नुस्। हिजो मलीन थियो। आज खुसी छु’, डा. श्रेष्ठले भने। बुधबार साँझ सात बजे उनै डा. श्रेष्ठले विज्ञप्ति जारी गर्दै सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जानकारी सार्वजनिक गरे।
प्रधानमन्त्री ओलीलाई केही दिन राखेर पूर्ण स्वास्थ्य लाभ गरेपछि मात्र बालुवाटार पठाइने डा. श्रेष्ठले बताए। प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान सेन्टरमा ल्याउँदा सबै चिकित्सक हतास र मलीन थिए। विज्ञ चिकित्सक टोलीले परीक्षण गर्दा एपेन्डिसाइटिससहित पेटमा संक्रमण भएको पत्ता लागेको थियो। मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियामा ढिलाइ गर्दा जोखिम निम्तिने आंकलन गर्दै तत्काल शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गर्दा सेन्टरछेउमा रहेको त्रिवि शिक्षण अस्पतालका सर्जनद्वय प्रा.डा. रमेशसिंह भण्डारी र पलेश्वा जोशी लाखेलाई पनि बोलाइयो। ल्याप्रोटोमी, एपेन्डेक्टोमीलगायतका विधिबाट उपचार गरिएको मनमोहन सेन्टरका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुधबार बिहानदेखि सुधारोन्मुख रहेको छ। एपेन्डिसाइटिसको शल्यक्रिया गरेलगत्तै स्थिर रहेको स्वास्थ्यमा बुधबारदेखि क्रमिक सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
सेन्टरस्थित पाँचौं तलाको सघन उपचार कक्षमा प्रधानमन्त्री ओली उपचाररत छन्। उनको स्वास्थ्यमा सुधार आएपछि बुधबार पत्नी राधिका शाक्य र चिकित्सकले कुराकानी गरेका थिए।
प्रधानमन्त्री ओलीले सोमबार राति नै असहज महसुस भएको जानकारी पत्नी राधिकालाई गराएका थिए। त्यसपछि मंगलबार बिहान निजी चिकित्सक डा. दिव्यासिंह शाहको अग्रसरतामा मनमोहन कार्डियोथोरासिक सेन्टरमा लगिएको थियो।
उनको अवस्था सामान्यतर्फ उन्मुख रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
यस्तो रह्यो बुधबारको दैनिकी
प्रधानमन्त्री ओलीले बुधबार मध्याह्न कालो चिया पिए। प्रधानमन्त्री ओलीलाई भेट्न मन्त्रीहरूको लस्कर लाग्यो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, पर्यटनमन्त्री योगेश भट्टराईलगायत प्रधानमन्त्री ओलीका परिवार र उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्था सोधपुछ गरी फर्किएका थिए।
दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा पनि स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए। उनले प्रधानमन्त्रीकी पत्नी राधिका र चिकित्सकसँग स्वास्थ्य अवस्था र उपचार सेवाबारे जानकारी लिएका थिए। देउवाले भने, ‘उहाँ सघन उपचार कक्षमा हुनुहुँदो रहेछ, भेट्न पाइनँ’, देउवाले भने।
पे्रस सल्लाहकार थापाले ओलीको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरेर आगन्तुक कसैलाई भेटघाट गर्न नदिइएको बताए। उनले भने, ‘चिकित्सकको सुझावअनुसार नै आगन्तुकले परिवारका सदस्य, चिकित्सक र हामीसँग भेट गरेर फर्कनुभएको हो। प्रधानमन्त्रीज्यूलाई चिकित्सकबाहेक अरूले भेट्न पाउनुभएको छैन।’
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलीप शर्माले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधार भइरहेकाले छिटै सामान्य दिनचर्यामा फर्कने अपेक्षा गरे।
पाँचौं पटकको डायलासिस
प्रधानमन्त्री केपी ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि बुधबार साँझ पनि डायलासिस गरिएको छ। ओलीको यो पाँचौं पटकको डायलासिस हो।
यसअघि प्रधानमन्त्री ओलीको ग्रान्डी इन्टरनेसनल अस्पतालमा चार पटकसम्म डायलासिस गरिएको थियो। उपचार टोलीका संयोजक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीका अनुसार बुधबार चार बजे डायलासिस गरिएको थियो।
शल्यक्रिया गरेपछि मंगलबार साँझ पनि प्रधानमन्त्री ओलीलाई सीआरआरपी (कन्टिन्युअस रेनल रिप्लेसमेन्ट थेरापी) गरिएको थियो। उनले भने, ‘यो थेरापी डायलासिसजस्तै हो। डायलासिस चाहिँ होइन।’ डायलासिसपछि प्रधानमन्त्री ओलीले साँझ सुप खाएर आराम गरेको डा. सायमीले जानकारी दिए।
‘भेन्टिलेटरमा राख्नु सामान्य हो’
-प्रा.डा. अरुण सायमी, संयोजक, प्रधानमन्त्रीको उपचार टोली
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर
प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था कस्तो छ ?
उहाँको अवस्था हिजोभन्दा धेरै राम्रो हुँदै गएको छ। शरीरमा राखिएको आईभी लाइन निकालिएको छ। सपोर्टका लागि राखिएका सबै चिज झिकिएको छ। स्वास्थ्यमा क्रमिक सुधार हुँदै छ। म आफैंले कुराकानी गरेको छु।
भेन्टिलेटरमा राखिएका कारण अवस्था गम्भीर हो कि भन्ने शंका छ नि ?
एपेन्डिसाइटिसको शल्यक्रिया एकदम सामान्य हो। जनरल एनेस्थेसिया दिएर सामान्य बेहोस गराई शल्यक्रिया गरेकाले भेन्टिलेटरमा राखिएको हो। बिरामीलाई बेहोस गराइसकेपछि भेन्टिलेटरमा राख्नु अनिवार्य हुन्छ। त्यही कारणले मात्र प्रधानमन्त्रीज्यूलाई भेन्टिलेटरमा राखिएको हो। श्वासप्रश्वासमा समस्या भएर भेन्टिलेटरमा राखिएको होइन। जटिल समस्या देखा परेर पनि भेन्टिलेटरमा राखिएको होइन। शरीर, फोक्सो लगायतका अंगलाई आराम दिन पनि भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ। बुधबार बिहानै भेन्टिलेटरबाट निकालिसकिएको छ।
बुधबार प्रधानमन्त्रीज्यूले के–के गर्नुभयो ?
भर्खरै मैले उहाँसँग कुराकानी गरें। सामान्य बिरामी जस्तो चिया खाएर आरामसँग बसिराख्नुभएको छ। हामीले उहाँलाई आधा घण्टा जति मेचमा समेत बसायौं। कालो चिया पनि पिउनुभयो। स्वास्थ्यमा सुधार भइरहेको छ।
पेटमा संक्रमण भएको कुरा छ नि ?
त्यसबारे धेरै कुरा नगरौं।
कहिलेसम्म अस्पताल राख्नुपर्ला ?
यति दिन राख्ने भन्ने टुंगो छैन। भर्खर त उहाँ ‘क्रिटिकल कन्डिसन’ बाट बाहिर आउनुभएको छ।
‘स्वास्थ्यका प्यारामिटर ठिक छन्’
- डा. दिव्यासिंह शाह, निजी चिकित्सक, प्रधानमन्त्री
एपेन्डिसाइटिस मिर्गौला प्रत्यारोपण गरेका वा नगरेका जोसुकैलाई हुन सक्ने आकस्मिक समस्या हो। प्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण गरेका कारण एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा विशेष सावधानी अपनाइएको थियो। मिर्गौला प्रत्यारोपण नगरेको भए विशेष सावधानी अपनाउनुपर्दैनथ्यो। एपेन्डिसाइटिसको शल्यक्रिया गरेका कारण आगामी दिनमा प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा जटिलता आउँदैन। जाँच गरेर हेरियो। स्वास्थ्यका अन्य प्यारामिटर ठिक छन्।
मंगलबार शल्यक्रिया गरेलगत्तै होस खुलिसकेको थियो। शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ। शल्यक्रिया गरिएकाले अझै केही दिन आराम गर्नुपर्छ। (कुराकानीमा आधारित)