रगत खोज्दै जान्छ ज्यान !
बाजुरा : जगन्नाथ गाउँपालिका–६ कि ३५ वर्षीया पुल्ती रावलले घरमै सुडेनीको सहयोगमा सोमबार (मंसिर ९ गते) बच्चा जन्माइँन्। बच्चा जन्मे पनि साल फुकाउन भने सुडेनीले सकिनन्। साल नफुक्दा रक्त श्राव सुरु भयो। अत्यधिक रगत बगेपछि रावल बेहोस भएपछि आधा घण्टाको दूरीमा रहेको सामुदायिक स्वास्थ्इ एकाइ केन्द्र गोत्रीमा पुर्याइयो।
स्वास्थ्यकर्मीले साल त जसोतसो निकाले तर रगत अत्यधिक बगिसकेकाले उनलाई बचाउन सकेनन्। ‘स्वास्थ्यचौकीमै सुत्केरी गराउन ल्याएको भए अकालमै उनले ज्यान गुमाउनुपर्थेन, ढिलोगरी यहाँ पुर्याउनुभयो। हामीले कत्ति कोसिस गर्दा पनि बचाउन सकेनौं’, सामुदायिक एकाइका अहेब अमर बुढाले भने। अवस्था जटिल देखिएपछि उद्धारका लागि हेलिकप्टर झिकाउने तयारी प्रशासनले गरेको थियो। तर साल निकालेपछि समान्य बनेकी पुल्तीको स्वास्थ्यमा एकाएक समस्या देखिएपछि केहीबेरमै उनको ज्यान गएको स्वास्थ्य एकाइ गोत्रीले जनाएको छ।
चालु आर्थिक वर्षको चार महिनामै समयमै उपचार नपाउँदा बाजुराका चार जना सुत्केरीको मृत्यु भएको छ। नियमित गर्भजाँच नगराउने, घरमै सुत्केरी गराउने तथा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न कठिनाइ भएकै कारण यहाँका सुत्केरीको ज्यान जोखिममा छ। परम्परागत रूपमा सुत्केरी गराउने र अन्तिम अवस्थामा मात्रै स्वास्थ्य संस्था ल्याउने भएका कारण बचाउन मुस्किल हुने गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रूपचन्द्र विश्कर्माले बताए।
गत भदौ ७ गते बडिमालिका नगरपालिका–८ जिल्ली भन्ने गाउँकी २१ वर्षीया बसन्ती नेपाली र उनको नवजात शिशुको जिल्ला अस्पतालमै ज्यान गयो। चिकित्सकले साउन २६ गतेनै अस्पतालमा भर्ना गर्न ल्याउन सुझाव दिएका थिए। तर परिवारले सुत्केरी व्यथा लागेपछि मात्रै पुर्याए।
भ्याकुम लगाएर डेलीभरी गरिएकी बसन्तीले मरेको बच्चा जन्माइन्। सुत्केरीको पनि बच्चा जन्माएको एक घण्टामैm मृत्यु भयो। ‘हामीले सल्लाह दिएकै समयमा अस्पताल ल्याएको भए आमा र बच्चा दुवैलाई बचाउन सकिन्थ्यो, तर अहिले पनि अस्पतालमा चिसो हुन्छ भनेर घरमै सुत्केरी गराउँछन्’, जिल्ला अस्पतालकी डा. दुर्गा महर्जनले भने।
नेपालीको बच्चा पेटमै हुँदा आमाको रगत बच्चाको मुटु र फोक्सोमा पुगेपछि श्वासप्रश्वास नली नै बन्द भएर बच्चाको मृत्यु भएको उनले भए। भ्याकुमबाट बच्चा निकालिए पनि आमाको रक्त श्राव नरोकिएपछि बचाउन नसकेको अस्पतालले जनाएको छ। यस्तै गत भदौ २५ गते बुढीनन्दा नगरपालिका–१० पाण्डुसेनकी ३५ वर्षीया निर्मला बोहोरा र उनका नवजात शिशुको पनि सुत्केरीकै क्रममा मृत्यु भयो। बोहराले दुई वर्षअघि जिल्ला अस्पताल बाजुरामै शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन्।
स्वास्थ्यकर्मीले तोकेकोभन्दा दुईदिन पहिलै व्यथा लागेपछि अस्पताल पुर्याएकी निर्मलाको पनि अत्यधिक रक्त श्रावकै कारण ज्यान गयो। निर्मलाले पनि बच्चा पाउन नसकेपछि भ्याकुममार्फत बच्चा निकालिएको थियो। बच्चा निकालेको केही छिनमै रगत बग्न नरोकिएपछि निर्मलाको मृत्यु भएको चिकित्सकले बताए। ‘एकाएक रक्त श्राव भयो, रगत खोज्न समय लाग्यो। रगत दिन नपाउँदै निर्मलाको मृत्यु भयो’ अस्पतालका प्रमुख डा. विश्वकर्माले बताए।
गत कात्तिक १६ गते त्रिवेणी नगरपालिकामा, छतारा स्वास्थ्यचौकीमा सुत्केरी भएको ६ घण्टापछि ३७ वर्षकी रेजीया नेपालीको मृत्यु भयो। रेजीया नेपाली चौथो सन्तान जन्माउन स्वास्थ्य संस्था पुगेकी थिइन्। बच्चा जन्माएको ६ घण्टापछि एक्कासी बेहोस भएर उनको मृत्यु भएको अनमी सुमित्रा उपाध्यायले बताइन्।
‘बच्चा जन्मेको ६ घण्टासम्म सुत्केरीको अवस्था सामान्य नै थियो। एक गिलास दूध र विस्कुट खाएपछि बच्चालाई दूध चुसाइन्। तर त्यसको एक घण्टापछि नै एकाएक बेहोस भएकी रेजीया होसमा नआएरै मृत्युको मुखमा पुगिन्’, अनमी उपाध्यायले भनिन्।
रगत खोज्दै जान्छ ज्यान !
जिल्ला अस्पताल बाजुरामा रक्तसञ्चार केन्द्र छैन। अत्यधिक रक्त श्राप भएर आउने सुत्केरीका लागि सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान नैै ब्लड बैंक हुन्। सुरक्षाकर्मीसँग मिल्ने रगत नभएको अवस्थामा सुत्केरीले ज्यान गुमाउनुको विकल्प छैन।
कात्तिक २ गते बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी ३० वर्षीया जावा दमाइलाई सुरक्षाकर्मीले रगत दिएर ज्यान बचाएका थिए। समरजित गुल्म थापाथली व्यारेकका मेजर रवीन श्रेष्ठ, प्यूठकृष्ण पुन र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सरस्वती बमले एक÷एक पिन्ट रगत दिएर दमाईको ज्यान जोगिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ।
जावा दमाई, मात्रै होइन, सुरक्षाकर्मीले रगत दिएर धेरै सुत्केरी महिला र बिरामीको ज्यान जोगीएको छ। ‘बाजुराका लागि ब्लड बैंक भनेको सुरक्षाकर्मी नै हुन्, रगत आवश्यक पर्यो भने सेना प्रहरीलाई खबर गर्छांै’ जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी कुल रावलले भने।
प्रसूति केन्द्रको रकम फ्रिज
एकातिर समयमै उपचार नपाएर सुत्केरीले ज्यान गुमाउनुपरेको छ भने, अर्कोतिर जिल्ला अस्पतालपछि दोस्रो ठूलो पूाथमिक स्वास्थ्य केन्द्र कोल्टीमा आकस्मिक प्रसूति केन्द्र स्थापनाका लागि आएको २० लाख रकम फ्रिज गएको छ। परिवार स्वास्थ्य महाशाखामार्फत गतवर्ष केन्द्र स्थापनाका लागि आएको ३० लाख रुपैयाँमध्ये १० लाखको उपकरण खरिद गरे पनि अरु रकम खर्च नभइ फ्रिज गएको हो।
सेवा केन्द्रका लागि खरिद भएका उपकरण पनि जिल्ला स्वास्थ्य कार्यालयमै थन्किएको छ। यस्तै, यसवर्ष पनि सोही स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सञ्चालानार्थ ३० लाख रकम आएको छ। तर नगरप्रमुख र प्रसूति चिकित्सकको आपसी विवादका कारण हालसम्म रकम सदुपयोग हुन सकेको छैन। महशाखाले एकजना प्रसूति रोग विशेषज्ञ, एक जना स्टाफ नर्स, एक जना एनेस्थेसिस्ट सहायक र एक जना कार्यालय सहयोगीको व्यवस्थापन गर्न उक्त रकम पठाएको हो।
तर नगरपालिकाले कर्मचारी नै भर्ना नगरेकाले आकस्मिक प्रसूति सेवा सुरु हुन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालयका मिमित्त प्रमुख अशोक सिंहले सेवा केन्द्रमा नगरपालिकाले कर्मचारी व्यवस्थापन गरेपछि उपकरण पठाइदिने बताए। बाजुराका पूर्वीउत्तर क्षेत्रका चारवटा स्थानीय तह, मुगुका दुई र हुम्लाका दुई स्थानीय तहलाई लक्षित गरी प्राथमिक स्वास्थ्य केन्दूमा आकस्मिक प्रसूति सेवा सञ्चालन गर्न परिवार स्वास्थ्य महाशाखाले बर्सेनि रकम पठाइरहेको छ।