सागमा १९ हजार सुरक्षाकर्मी
काठमाडौं : आगामी आइतबारबाट सुरु हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा करिब १९ हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन्। सागको सुरक्षा समितिको संयोजक प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल छन्।
सुरक्षा व्यवस्थालाई मजबुत बनाउन उक्त समितिले सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई प्रभावकारी ढंगबाट परिचालन गर्ने भएको छ।
काठमाडौं र ललितपुरमा हुने खेल मैदान र खोलाडीको बासस्थानको सुरक्षा प्रबन्ध प्रहरी मुख्यालयले मिलाएको छ। जनकपुरमा हुने खेलमा प्रदेश–२ र पोखरामा गण्डकी प्रदेश प्रहरी प्रमुखले नै सुरक्षा नेतृत्व गर्नेछन्।
प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले सागको सुरक्षा व्यवस्था प्रभावकारी ढंगले मिलाएको बताए। उनले भने’, आईजीपी सापकै नेतृत्वमा सुरक्षाकर्मी परिचालन हुनेछन्। कुनै त्रुटी हुन दिंदैनौं।’
उनले खेल मैदान, खेलाडी बस्ने होटलदेखि उनीहरु हिंड्ने बाटोको स्कटिङको व्यवस्था मिलाइएको बताए।
महानिरीक्षक खनालको संयोजकत्वमा रहेको सुरक्षा समितिमा सेनाका सहायक रथी हिमांशु खड्का, नेपाल प्रहरीका डीआइजी दीपककुमार थापा, सशस्त्र प्रहरीका डीआइजी चन्द्रप्रकाश गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र राष्ट्रिय खेलकुद परिषद्की सरस्वती केसी भण्डारी सदस्य छन्।