हुन्डीको ३८ लाख रुपैयाँ बरामद
काठमाडौं : हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नरदेवी बस्ने गोवर्धनप्रसाद सरावगी र अर्घाखाँची सीतगंगाका कृष्ण प्रसाद भट्टराई छन्।
महानगरीय प्रहरी अपराध महाशाखाले सुरुमा भट्टराईलाई ३० लाख रुपैंयासहित नियन्त्रणमा लिएको थियो।
उनले उक्त रकम अञ्जनी ओभरसिजका सञ्चालक समेत रहेका सरावगीले हुन्डी गर्न दिएको बयानमा खुलाएपछि प्रहरीले सरावगीलाई पक्राउ गरेको हो।
महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार सरावगीबाट थप आठ लाख १२ हजार रकम र अन्य व्यक्तिको नामका काटिएको चेक बरामद भएको छ।