गरिमापीडितलाई राहत कहिले ?

गरिमापीडितलाई राहत कहिले ?

काठमाडौं : ‘गरिमा एफ वान हाइब्रिड’ को नाममा लगाइएको धानको बीउबाट पीडित किसानले क्षतिपूर्ति पाउन अझै डेढ साता कुर्नुपर्ने भएको छ। गत असारमा बिक्रेताले गरिमा एफ वान हाइब्रिड नाममा नक्कली बीउ भिडाएका थिए।

यो बीउ रोपेको खेतमा बाला नलागेर १३ जिल्लाको १७ हजार ८ सय ६ हेक्टर धानबालीमा क्षति पुगेको थियो। चितवन, बर्दिया, बाँके, दाङ, तनहुँ, कञ्चनपुर, नवलपरासी, लम्जुङसहित १३ जिल्लाका ६० गाउँपालिका र नगरपालिकाका ६ हजार ९ सय १५ किसानले यो वर्ष गरिमा जातको नाममा नक्कली बीउ प्रयोग गरी धानबालीतर्फ ठूलो क्षति व्यहोर्न बाध्य भए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले गरिमा बीउबाट पीडित किसानले क्षतिपूर्ति पाउन अझै कुर्नुपर्ने जानकारी दिए। उनका अनुसार क्षतिपूर्ति उपलब्ध गराउने विषयमा गठन गरिएको क्षतिपूर्ति मूल्यांकन समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ।

‘प्रतिवेदन आए पनि मन्त्रालयले आवश्यक गृहकार्य गर्न बाँकी रहेकाले क्षतिपूर्ति उपलब्ध गराउन समय लागेको हो। सबै गृहकार्य सकेर क्षतिपूर्ति उपलब्ध गराउन करिब डेढ साता अझै लाग्न सक्छ’, मन्त्रालयका प्रवक्ता केसीले बताए। उनका अनुसार मन्त्रालयको जिम्मेवारी सम्हालेका नवनियुक्त मन्त्री घनश्याम भुसाललाई सबै विभाग, सरोकारवाला निकाय र मन्त्रालय स्वयमले बिफ्रिङ गराउने काम भइरहेकाले केही समय लाग्न सक्छ।

‘मन्त्रीको बिफ्रिङ र समीक्षा सकेपछि गरिमा धान पीडित किसानको विषय अगाडि बढाउने कुरा भएको छ’, केसीले बिहीबार अन्नपूर्णसँग भने। उनका अनुसार प्रतिवेदनले क्षतिपूर्तिको विषयमा यकिन गरे पनि क्षर्तिपूर्ति रकमको कुल हिस्सामध्ये कुन निकायले कति व्यहोर्ने र कसरी व्यहोर्ने विषयमा खाका तयार पार्न बाँकी छ। यस्तै कानुनी र आर्थिक विषयमा पनि टुंगो लगाउन बाँकी छ।

मन्त्रालयले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाको संयोजकत्वमा क्षतिपूर्ति तथा पीडित किसानको लगत संकलन गर्न क्षतिपूर्ति मूल्यांकन समिति बनाएको थियो। यही समितिले क्षतिपूर्तिका विषयमा अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदनले १३ जिल्लामा २३ करोड रुपैयाँबराबरको नोक्सान भएको निष्कर्ष निकालेको छ। यस्तै किसानको लागत खर्चअनुसार १७ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने यकिन गरिएको छ।

क्षतिपूर्ति रकम व्यहोर्ने र कानुनी तथा आर्थिक पाटोको विषयमा आवश्यक प्रक्रिया सम्पन्न गरी मन्त्रालयले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद्को बैठकले क्षतिपूर्तिसम्बन्धी विषय स्वीकृत गरेपछि पीडित किसानले क्षतिपूर्ति पाउने बताइएको छ।

१३ जिल्लाका ६० गाउँपालिका र नगरपालिकाका ६ हजार ९ सय १५ किसानले यो वर्ष गरिमा धान लगाएका थिए।

क्षतिपूर्ति मूल्यांकन समितिका संयोजक मदन थापाका अनुसार कृषि ज्ञान केन्द्र, प्रभावित जिल्लाका जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयको सहकार्यमा समितिले क्षतिपूर्तिको लगत संकलन गरी क्षतिको मूल्यांकन गरेको हो। थापाकाअनुसार नक्कली बीउ भिœयाएर वितरण गर्ने कम्पनीले नै पूर्ण रूपमा क्षतिपूर्ति दिनुपर्छ। उनले भने, ‘तर, क्षतिको परिमाण ठूलो भएकाले स्थानीय, प्रदेश सरकार, वितरक र केन्द्रीय सरकार मिलेर भागबण्डा गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सकिन्छ।’

अध्ययनको क्रममा गरिमा जातको बीउ आयात गर्न आधिकारिक रूपमा तत्कालीन समयमा साउथ इस्ट एसियन सिड कम्पनीले अनुमति पाए पनि २०७३ देखि भने नेपालमा उक्त कम्पनीले उक्त जातको बीउ आयात नगरेको फेला परेको छ।

अनुमति पाएको कम्पनीले २०७२ सम्म मात्रै गरिमा जातको बीउ आयात गरेको अध्ययनको क्रममा भेटिएको छ। २०७३ देखि दाङको सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले गरिमा नामको बीउ रेनोभा सिड्स साइन्स इन्डिया प्राइभेट लिमिटेडबाट आयात गर्न सरकारबाट अनुमति पाएको थियो। २०७३ देखि नै आयात गर्न अनुमति पाएको स्थानीय देवगन्ज चौधरीको सनराइज एग्रिकल्चरले आयात गर्ने बीउको गुणस्तर बर्सेनि परीक्षण नहुँदा किसान ठगिएका हुन्। आयात हुने बीउ बर्सेनि परीक्षण नहुँदा मौकाको फाइदा उठाउँदै वितरकले नक्कली बीउ किसानलाई भिडाइएको हो।

चौधरीले गत वैशाखसम्म रेनोभा सिड्स साइन्स इन्डिया प्राइभेट लिमिटेडबाट ३४ हजार किलो (३४.८ टन) गरिमा जातको बीउ आयात गरेका थिए। त्यसमध्ये करिब २३ हजार ४ सय २८ किलो बीउ प्रमुख आठ डिलरमार्फत विभिन्न जिल्लामा बिक्री गरिएको थियो। चौधरीले ल्याएको बीउ डिलरलाई प्रतिकिलो २ सय ६० मा बिक्री गरेका थिए। डिलरले भने किसानलाई हाइब्रिड भनेर प्रतिकिलो चार सय ५० रुपैयाँमा बिक्री गरेका थिए। उन्नत जातको बीउलाई प्रतिकिलो एक सय २५ देखि एक सय ५० रुपैयाँ मात्रै पर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.