कानुनमन्त्री यादवले भने : मेरो मुख्य पहल नै संविधान संशोधनका लागि
काठमाडौं : उपप्रधान र कानुन, न्याय तथा संघीय मामिला मन्त्री उपेन्द्र यादवले संविधान संशोधन नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
'मेरो मुख्य इफोर्ट नै संविधान संशोधनका लागि हुनेछ,' मन्त्री यादवले भने । यसअघि स्वास्थ्य मन्त्री रहेका यादवले प्रधानमन्त्रीकै इच्छा अनुसार कानुन मन्त्रालयको जिम्मेवारी लिएको प्रतिक्रिया दिएका छन् ।
जुन मन्त्रालयलाई संविधान संशोधन गर्ने अवसरको रुपमा प्रयोग गर्ने उनको भनाइ छ । शुक्रबार पत्रकारहरुसँग भेटघाटको अवसरमा मन्त्री यादवले यस्तो बताएका हुन् । संविधान संशोधनको विषयमा तत्कालिन एमाले र माओवादीसँग पहिले नै सहमति भएको सन्दर्भ जोड्दै अपरिहार्य रहेको उनले बताएका थिए ।
विद्रोह वा संवैधानिक बाटोमध्ये दुई विकल्पमध्ये संवैधानिक बाटो नै आफ्ना लागि उपयुक्त रहेको यादवको तर्क थियो । 'संवैधानिक बाटोबाटै संशोधन हुन्छ भन्ने लागेर सरकारमा आएका हौँ । संविधान संशोधन मुलुकको आवस्यकता हो,' यादवले भनेका छन् । अहिलेको संविधानको संरचना पनि नमिलेको यादवको टिप्पणी थियो । जसले गर्दा प्रदेश 'पेन्डुलम' बनेको दावी गरेका छन् ।