माइत झरिन् त्रिपुरासुन्दरी
धादिङ : एक वर्षभित्र विभिन्न तीनवटा मन्दिरमा लगेर राख्ने र त्यही पूजाआजा गर्ने अनौठो र रोचक परम्परा बोकेको धादिङको त्रिपुरा सुन्दरी भगवतीको जात्रामा भगवतीलाई माइत झारिएको छ ।
त्रिपुरा सुन्दरी भगवतीको घर, माइत र मामाघरमा राखेर छुट्टा छुट्टै समयमा पूजाआजा गरी शुक्रबार बिहान त्रिपुरासुन्दरी गाउँपालिकाको ६ सल्यानवेशीमा झारिएको हो । त्रिपुरासुन्दरी गाउँपालिकाको ४ सल्यानकोटमा रहेको २ वटा मन्दिरमध्ये वडादसैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई दसैंघर राखेर पूजाआजा गरिन्छ र नवमीको दिन पञ्चवली दिइन्छ जुन भगवतीको मामाघरको रुपमा प्रसिद्ध छ ।
मंसिरदेखि चैत्रसम्म भगवतीलाई ६ स्थित बेसीको मन्दिरमा राखिन्छ जुन भगवतीको माइतीको रुपमा चिनिन्छ । सल्यानकोटकै पश्चिम थुम्कामा रहेको मुल मन्दिरमा राखेर चैत्रदेखि वडा दसैंसम्म भगवतीलाई त्यही पूजाआजा गरिन्छ।
हरेक वर्ष मंसिर महिनाको विशेष तिथिमा भगवतीलाई गाउँको मन्दिरबाट बेसीको मन्दिरमा पुर्याइने गरिन्छ । ४ सल्यानकोटमा रहेको मुल मन्दिरमा बिहीबार साँझदेखि नै पूजापाठ गरेर शुक्रबार बिहानै त्रिपुरा भगवतीलाई माइतको मन्दिरमा सारिएको हो।
भगवतीको मूर्तिलाई पुजारी तथा पुरोहितले बोकेर बाजागाजाका साथ सल्यानकोटदेखि करिब २ घण्टाको दूरीमा रहेको सल्यानबेसीको मन्दिरमा पीठ्युँमा बोकेर माइको सवारी चलाउने परम्परा रहिआएको छ ।
सल्यानकोटको डाँडाबाट केही सयको सङ्ख्यामा तीर्थालुको साथमा पुजारी, मूलपुरोहित, मन्दिरका सेवक, नगर्चीका साथ जयजयकार गर्दै सुरु हुने यात्रा तल बेसीमा आइपुगुन्जेलसम्ममा हजारौं मानिस विशाल जात्रामा सहभागी हुन्छन्।
त्रिपुरा भगवतीको सवारी चलाउने बेलामा अघिअघि खैँजडी भजनसँगै नाङ्गो खुडा, खुकुरी र तरबार बोकेका युवाहरु, त्यसपछि दियो, कलश, शंख, घण्टसहितका भक्तजन, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराले सुरक्षित गर्ने गरिन्छ ।
त्रिपुरासुन्दरीमाइ भगवतीको मूर्तिलाई रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले पनि हेर्न र छुन नपाउने प्रचलन रहिआएको छ । यी तीन थरीबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मुल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम छ ।
माइको सवारी चलाउँदा त्रिपुरासुन्दरी माइ भगवतीको दर्शन गर्न भक्तजन बाटोमा कुरेर बसेका हुन्छन् । उनीहरुले मूर्ति देख्न र छुन नपाए पनि टाढैबाट दर्शन गर्छन् । यस भगवतीको दर्शन गर्नाले मागेको कुरा पूरा हुने विश्वास रहेकाले टाढाटाढाबाट पनि भक्तजन भगवतीको दर्शन गर्न र पूजाआजा गर्न आउने गर्दछन्।
वर्षमा तीनपटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने परम्परा रहेको यस भगवतीसँग ऐतिहासिक किम्वदन्ती जोडिएको पाइन्छ । पृथ्वीनारायण शाहले नुवाकोट एकिकरण गर्न आउँदा यही भगवतीको पूजाआजा गरि नुवाकोट विजयको कामना गदै आशिष मागेको र त्यहीबेलादेखि शाहवंशको कुलदेवताको रुपमा मान्दै आएको किवदन्ती छ ।
राजतन्त्र समाप्त हुनुभन्दा अगाडी हरेक वर्ष राजपरिवारका सदस्य यहाँको मन्दिरमा पूजाआजा गर्न आउने गरेका थिए । नेपालमा राजतन्त्र हुन्जेलसम्म हरेक वर्ष राजपरिवारको नाममा मुल पूजा गरिँदै आएको र राजतन्त्रको अन्त्यपछि नेपाल सरकार र नेपालीको नाममा पूजा गर्न थालिएको छ।
वेशीको मन्दिरमा भगवतीलाई सार्दै गर्दा खेतमा भर्खर टुसाउँदै गरेको गहुँवाली भक्तजन र तीर्थालु सबैले कुल्चेर निमिट्यान्न भएपनि झन मौलाउँदै जाने किंवदन्ती पनि रहेको छ । भक्तजनलाई कुल्चाउनकै लागि भनेर भगवतीलाई वेशी झार्नु एक हप्ता अघिमात्र कृषकले वेशीको जात्रा हुने फाँटमा गहुँ तोरी लगाएका हुन्छन् ।