रानीपोखरीमा डिप बोरिङ
काठमाडौं : रानीपोखरीमा डिप बोरिङमार्फत पानी आपूर्ति गरिने भएको छ। पानी अभाव हुन नदिन बनाइएका मल्लकालीन ढुंगेधारा मासिएका छन्। पोखरीको एक छेउमा दुईवटा डिप बोरिङको व्यवस्था गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धर बताउँछन्।
‘पानी संकलन गर्न धेरै उपाय अपनाएका छौं’, उनी भन्छन्, ‘त्यसमध्ये डिप बोरिङ एक हो।’ भूकम्पपछि उत्खनन क्रममा त्रिचन्द्र कलेज परिसरमा दुइटा मूल भेटिएका छन्। वर्षात्मा त्यहाँ पानी रसाउँछ। उक्त पानी पोखरीमा प्रयोग गरिने उनी बताउँछन्। उनका अनुसार टुँडिखेलमा रहेको इनार पनि प्रयोग गरिनेछ। असन, इन्द्र चोकवासीको प्यास मेटाउन उक्त इनार खनिएको थियो। मेलम्चीको एक लाइन पानीसमेत पोखरीमा लैजाने योजना छ। पानी अड्याउन पोखरीको पिँधमा बालुवा, त्यसमाथि कालोमाटो राखेर इँटा बिच्छ्याइरहेको रानीपोखरी पुनर्निर्माण उपभोक्ता समिति सचिव रोशनकाजी तुलाधर बताउँछन्। कालोमाटोले पानीलाई अड्याइराख्न मद्दत गर्छ।
राजा प्रताप मल्लले रानी अनन्तप्रियालाई छोराहरूको शोकबाट मुक्त गराउन रानीपोखरी बनाएको इतिहास छ। २०७२ को भूकम्पमा क्षति पुगेपछि पोखरी पुनर्निर्माण गरिँदै छ।
मासिए ढुंगेधारा
रानीपोखरी वरिपरि सडक विस्तारसँगै सिमेन्ट प्रयोग गरी अग्ला–अग्ला भवन बनाइएका छन्। पानी रसाउने जमिन कंक्रिटले भरिएसँगै सम्पदा क्षेत्रको प्राकृतिक संरचनामा ह्रास आएको छ। रानीपोखरी निर्माणताका पानी अभाव हुन नदिन चारैतिर ढुंगेधारा राखिएको थियो, जुन इतिहास भइसक्यो।
चार कुनामध्ये दक्षिणतर्फ महेन्द्र सालिकबाट नेपाल प्रज्ञा–प्रतिष्ठानको बायाँ स्रोह्रा हिटी छ। यसलाई तीनधारा भनिन्छ। उक्त हिटी पोखरीमा पानी पठाउनकै लागि बनाइएको थियो। त्यसको संरक्षण नहुँदा २०६० सालपछि धारामा पानी आउन छाड्यो। वरिपरि फोहोरले भरियो। पुरातत्त्व विभागले सरसफाइका लागि केही साताअगावै मात्र काठमाडौं महानगरपालिकालाई पत्र पठाएको छ।पाटनको ढुंगेधारामा पानी थाप्दै महिला। तस्बिर सौजन्य : रोजवे रेग्मी
भोटाहिटीको ‘सबवे’मा पनि ढुंगेधाराको प्रमाण भेटिएको छ। ‘सबवे’ बनाउँदा त्यहाँ न्हेंरा हिटी (सप्तधारा) भएको पत्ता लागेको थियो। संस्कृतिविद् हरिराम जोशीको अनुसन्धानले उक्त स्थानमा सप्तधारा भएको देखाएको हो। राजा रणोदीप सिंहको शासनकालमा भारतका आर्कियोलोजिस्ट भगवानलाल इन्द्रजी नेपाल आएका थिए। ‘इन्द्रजीले सबवेमा रहेको ढुंगेधाराको डुँडबाट धाराको अभिलेख संकलन गरेका थिए। त्यसको तीन वर्षपछि इङ्ल्यान्डबाट आएका सिसिल बेङ्दालले धाराको पुन अभिलेख गर्न खोजे’, जोशी भन्छन्, ‘त्यति बेलासम्म अभिलेख गायव भइसकेको थियो।’ संस्कृति र सम्पदासँग जोडिएका ढुंगेधारा राज्यकै संरक्षणमा नपरेपछि मासिँदै गएको जोशी बताउँछन्।
राष्ट्रिय नाचघर रहेको स्थानमा मल्लकालीन ढुंगेधारा छ। यो पनि रानी पोखरीमा पानी लैजाने उद्देश्यले बनाइएको थियो। विद्युुत् प्राधिकरण रहेको ठाउँमा अर्को ढुंगेधारा थियो। कुनै बेला उक्त स्थान धोबीघाटका रुपमा प्रसिद्ध थियो। भवन बनेपछि धोबीघाटको अवशेषसमेत बाँकी छैन।
रानी पोखरीमा पानी पठाउन मात्र धारा बनाइएका थिएनन्। त्यसका लागि निकास पनि बनाइएको थियो। संस्कृतिविद् तथा अनुसन्धाता काशीनाथ टमोट भन्छन्, ‘घण्टाघरसँगैको जामे मस्जिदमा आउने पानी रानीपोखरीकै निकास भएको अनुमान भइरहेछ। यसमा थप अनुसन्धान हुन बाँकी छ।’ २००७ सालपछि उपत्यकाका ५२ ढुंगेधारा मासिएका छन्।