हंसको हंस
यो उपन्यासले नेपाली साहित्यमा पृथक् स्थान ओगट्ने कुरामा शंका छैन।
मेरा लागि जगत् अर्थपूर्ण हुनु भनेको मेरो अनुभूति हो। भौतिक जगत््मा निरपेक्ष नाप प्रणाली छन्, भौतिक नियमहरू छन् र ती नियमहरूअन्तर्गत रहेर संसार गतिमान रही नै रहेको छ। तर म नै छैन भने त्यो वस्तुजगत् छ वा छैन वा कस्तो छ भन्ने प्रश्न नै वृथा हुन जान्छ। हाम्रो चेतनाले वस्तु र घटनालाई प्रतीकको रूपमा ग्रहण गरेर ज्ञानको निर्माण गर्छ। हाम्रा आग्रह, विश्वास र अपेक्षाले त्यो ज्ञानलाई संश्लेषित गर्दै लैजान्छ। चेतन अंगले प्रत्यक्ष भोगेका प्राथमिक अनुभव होऊन् वा प्रतीकहरूमार्फत ग्रहण गरिएका द्वितीयक अनुभव, ती सबै प्रतीक र अवयवहरू हाम्रो चेतनामा संकलित हुँदै जान्छन्। निश्चित अनुशासनमा बाँधिएपछि त्यसले हाम्रो चेतनामा एउटा कथनको रूप धारण गर्छ, कथनहरू मिलेर संकथन बन्छ।
त्यो संकथन सही अर्थमा कथा हो। प्लट उही भए पनि कथाहरू फरक फरक हुन सक्छन्। किनभने कथा स्वयं जगत् नभएर जगत्को प्रतीति हो, फेनोमेना हो। इतिहास भनेको कथा नै हो। कथाहरूबीच सामञ्जस्य हुन्छ, समरूपता हुन सक्छ, कथाको पुनरुक्ति हुन सक्छ। कथाहरू मिलेर महाकथाको निर्माण हुन्छ। सुख, दुःख, पीडा, लाभ, हानि, जय, पराजयलगायत निजी जीवनका अनुभवहरू पनि कथाको रूपमा सुरक्षित हुन्छन् र पुस्तान्तरण हुँदै जान्छन्। तर कुनै पनि कथा कहिल्यै अन्तिम सत्य बन्न सक्दैन। वास्तवमा मान्छे कथामा बाँचेको हुन्छ। मान्छेले आफ्नो अस्तित्वको खोजी गर्ने भनेकै कथाभित्र आफूलाई खोज्ने मात्रै हो।
टौदह र प्रेमकथा
सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ यही दार्शनिक चेतमा खडा भएको छ। उपन्यासको प्रमुख पात्र प्रेम लेखक हो। प्रेम शब्द आफैंमा प्रतीकात्मक पनि छ। प्रेम सीमाको प्रेममा पर्यो। सीमा प्रेमको लागि प्रेमको आधार बनी। तर सीमा सीमाहीन भइदिई। प्रेमले सीमासँगको प्रेमभित्र आफ्नो अस्तित्वको खोजी गर्न पुरुषत्वलाई साधन बनायो। उसले सिकेको पुरुषत्वमा पुरुष सर्वोच्चताको ग्रन्थि थियो। प्रेमका बा श्रीमतीलाई भक्कु कुट्थे। तर प्रेमकी आमा श्रीमान्को कुटाइभित्र पनि प्रेम देख्थी। यही थियो प्रेमले जानेको प्रेमको कथा। प्रेमकी आमाले जानेको प्रेमकथामा सहनशीलता थियो। तर सीमाको प्रेमकथामा सहनशीलताको सीमा थियो। सीमाले प्रेमलाई छाडिदिई, अमेरिका गई र त्यहाँ प्रेमको नयाँ कथा रचना गरी। सीमाको नयाँ प्रेमकथामा अनुज पाँडे आयो। अनुज पाँडे विवाहित थियो, एउटी छोरी पनि थिई। सीमाका लागि यी कुरा गौण भइदिए। अनुजकी पहिली श्रीमतीको नाम माया हो। माया भनेको प्रेम पनि हो, भ्रम पनि हो। माया सानो हुँदै काका पर्नेबाट यौनहिंसामा परेकी थिई। अवचेतनमा काकाको भय बाँकी नै थियो। माया अमेरिका पुगेपछि अनुजले सीमा र मायाको बीचमा आफूलाई उभ्याउन सकेन, भागेर नेपाल आयो। अनुज प्रेमको अघि अनुजकै रूपमा प्रकट भयो, आफ्ना कथा सुनायो र हलुका भयो।
अनुज र प्रेमले फरक फरक इतिहास भोगेका थिए। तर सीमाको कारण दुवै दुःखी थिए। प्रेम सीमालाई गुमाउनु पर्दाको दुःखमा थियो भने अनुज सीमालाई ग्रहण गरेको कारण दुःखमा थियो। सीमा दुवैको दुःखसँग बेखबर थिई। उसको कथा छुट्टै थियो। प्रेम र अनुजसँगको प्रेमको लडाइँमा सीमा सुरक्षित थिई। प्रेम र अनुज दुवैमा समाजप्रदत्त पुरुष अहंकार थियो। प्रेम आफ्नी श्रीमतीलाई अर्को पुरुषले भोग गरेको कल्पनाले आहत हुन्थ्यो। अनुजसँगको सीमाको सम्भोगको कल्पनाले उसको पुरुषत्वलाई बारम्बार चुनौती दिन्थ्यो। विवाह गरेको तीन वर्षसम्म पनि सीमाबाट सन्तान जन्मेको थिएन। उसको आफ्नो कमाइ थिएन। परिणामस्वरूप रक्सीको लतमा लाग्यो र श्रीमतीलाई कुट्न थाल्यो। प्रेमको एउटै ध्याउन्न थियो, अनुजलाई खुकुरीले छप्काउने। अनुजभन्दा अब्बल (बलियो) प्रमाणित गरेर उसलाई आफ्नो अस्तित्व बोध गर्नु थियो। प्रेम र अनुज दुवैले प्रेमको सही व्यवस्थापन गर्न सकेका थिएनन्।
सीमा नेपालबाट अमेरिका पुगेर सीमाहीन भएकी थिई। इतिहासको विशाल टौदह चोभारको एक छेउमा सीमित भएको थियो। सीमा र प्रेमको प्रेम टौदहमै झ्यांगिएको हो। सीमाले छोडेर गएपछि पनि प्रेम टौदह जान छोडेन। टौदहको इतिहासमा प्रेमका अनेक कथा सुरक्षित थिए। सफल र विफल, दुःख र सुखको दोसाँधबाट गुज्रिएका ती कथाहरू वास्तवमा प्रेम र सीमाका वा प्रेम र अनुजकै प्रेमका पूर्वरूप जस्ता लाग्छन्। पात्र फेरियो तर कथा फेरिएन। टौदहको पिँधमा इनार, इनारभित्रका इनार हुँदै अनन्तसम्म पुग्ने इनार शृंखलामा कथाहरू दबिएका थिए।
कुनै कथा हाँसका थिए, कुनै कथा भ्यागुताका, कुनै बकुल्लाका, कुनै कथा सर्पका थिए भने कुनै कथा रूखबिरुवाका। ती कथाहरू प्रेमका थिए, शोषणका थिए, उत्पीडनका थिए, विजयका थिए, पराजयका थिए, धेरै थरीका थिए। यसप्रकार टौदह प्रेमको प्रतीक, प्रेमको साक्षी, प्रेमको प्रेरक, प्रेमको आलम्ब र प्रेमको अभिलेखालय बन्यो।
टौदहमा झ्यांगिएको एउटा कथा हो, नागरानी र डोब्रे सर्पको।
पोखरीको पिँधमा बस्ने नागरानी खोकना पुगेर डोब्रेसँग प्रेममा परेकी थिई। रानीको डोब्रेसँगको प्रेम थाहा पाएपछि नागराजाको मनमा डोब्रेलाई मार्ने विचार आयो। तर मार्न सकेन, बरु डोब्रेलाई पनि उसले टौदहमै बोलायो। नागराजा, नागरानी र डोब्रेको त्रिकोणात्मक सम्बन्ध प्रेम, सीमा र अनुजको त्रिकोणात्मक प्रेमसँग समानान्तर छ। जसरी डोब्रे राम्रो छैन र नागरानीसँग उसको जोडा मिल्दैन, त्यसै गरी अनुज पनि सीमाका लागि लायक पुरुष होइन भन्ने लाग्छ प्रेमलाई। तर जसरी नागरानी डोब्रेबिना बस्नै सकिन, त्यसैगरी सीमा पनि अनुजसँग प्रेममा मात्र परिन; अनुजबाट गर्भवतीसमेत भई। जसरी नागरानी टौदहबाट पर खोकना पुगेको बेला डोब्रेसँग भेट भएको थियो, त्यसैगरी सीमा पनि नेपाल छाडेर अमेरिका पुगेपछि अनुजसँग भेट भएको थियो। कथाको पुनरावृत्तिको उदाहरण हो यो।
टौदहको पिँधमा अभिलिखित अर्को प्रेमकथा हो, हाँस र हँसिनीको। हाँस हो घरपालुवा, हँसिनी हो उडन्ते। उडन्ते अर्थात् उडुवा हाँस। घरपालुवा हाँस पँखेटा भएर पनि उड्न सक्दैन। तर उडन्ते हाँसको कुनै स्थिर ठेगाना छैन। उडन्ते हाँसको एउटा गन्तव्य थियो, टौदह। घरपालुवाको फौजमा एउटा युवा हाँस थियो, लहडे हाँस। टौदहमा लहडे हाँस र उडन्ते युवा हँसिनीको प्रेम झाँगियो। दहको जलकुम्भीको छेउमा, टापुको रूखको फेदमा, दहवरिपरिको सीमसारमा हाँस, हँसिनीको प्रेमलीला खुब मौलायो। हँसिनी उड्न सक्थी, वेगले पौडिन पनि सक्थी। तर हाँस उड्न त परै जाओस्, राम्रोसँग पौडिन पनि सक्दैनथ्यो। हँसिनी थिई, मनसरोवरबाट आएकी। हँसिनीका लागि लहडेले उड्ने अभ्यास पनि गर्यो तर सकेन। घरपालुवा हाँससँग लहस्सिएकी हँसिनीको चर्तिकला उडन्तेहरूले रुचाएनन्, उडन्तेसँग लहस्सिएको लहडेको चर्तिकला पनि घरपालुवाहरूले सहेनन्। सीमा र प्रेमको जस्तै उनीहरूको प्रेम पनि वियोगान्त थियो। प्रेम सृष्टिको प्रेरक हो, तर कुनै पनि समाज प्रेममैत्री छैन। टौदहको इतिहासमा यो कुरा अभिलिखित छ। अथाह गहिराइ भएको, अथाह कथा समेट्न सक्ने टौदह प्रेमको मात्र प्रतीक होइन, सम्भवतः यो योनिको पनि प्रतीक हो। त्यसैले यहाँ प्रेमका कथा मौलाउँछन्।
सहायक कथा
उपन्यासभित्र प्रेमको मुख्य कथाबाहेक केही सहायक कथाहरू पनि अटाएका छन्। छोराको रहर गरेर धेरै छोरी पाउने सीमाका बाबुआमाका कथा छ। वैध, अवैध जुनसुकै तरिकाबाट अमेरिका पस्ने र अवैध बनेर दुःख पाएका केही नेपाली र भारतीयको जीवनमार्फत अमेरिका जान मरिहत्ते गर्ने पुस्ताको चित्रण छ। परम्परागत र अनुदार समाजमा नवीनता खोज्नेहरू निरुत्साहित भएका र आक्रमणको चपेटामा परेका कथा पनि समेटिको छ। अनुदारवादीहरूको शैली जहिल्यै निरंकुश हुन्छ। हाँसहरू आफू सृष्टिको सर्वोच्च सिर्जना भएको र मान्छेहरू हाँसको सेवा गर्न हाँसद्यौताले सृष्टि गरिदिएको विश्वास गर्छन्। यो कथा वास्तवमा मानिसहरूले हाँसलाई आहारा तुल्याउन रचेको खेल हो भन्ने उनीहरूले बुझेका छैनन्। काका हाँसले बुझेको छ। तर उसको कुरा कसैले सुन्दैन। काका टौदहको गहिराइमा पुगेर इतिहास पत्ता लगाउन चाहन्छ। उसले पत्ता लगाएको रक्तरञ्जित इतिहासप्रति कसैलाई चासो छैन। ऊ हाँस समाजबाट निष्कासित नै हुन्छ। लहडे हाँस पनि उड्न सक्ने क्षमता विकास गर्न र हाँस समाजमा केही नवीनता ल्याउन खोज्छ, तर हाँस नेताहरूले उसलाई समाजबाट निष्कासित गरिदिन्छन्। हाँसको समुदायमा अज्ञानी र अवसरवादीहरूको जगजगी छ।
एउटा इकोसिस्टम सक्रिय हुन मान्छे मात्र भएर हुँदैन, त्यहाँ विभिन्न प्रजातिहरूको आवश्यकता पर्छ। प्राणी मात्र भएर हुँदैन, वनस्पतिको पनि आवश्यकता पर्छ। सृष्टिको निरन्तरता एउटा मात्र प्रजातिले थेग्न सक्ने कुरा होइन। परस्परको सम्बन्ध र निर्भरता पर्यावरणको अनिवार्य तत्व हो। उपन्यासले चराचुरुंगी, माछा, पशु, गड्यौला आदि प्राणीमार्फत मानव समाज र प्रकृतिको अनुपम सम्बन्धको विभिन्न पक्ष उद्घाटित गर्ने प्रयास गरेको छ।
मान्छेले हाँसलाई हेर्ने दृष्टिकोण र हाँसले मान्छेलाई बुझ्ने दृष्टिकोण फरक छन्। अर्काको दृष्टिकोणबाट हेर्न सक्ने केही बुज्रुक हाँस र बुज्रुक मान्छे मात्र वास्तविकताको नजिक पुग्न पुग्छन्। अन्यथा तिनीहरूको ज्ञान भनेको फगत प्रतीति मात्र हो, विश्वास र आग्रहहरूको संग्रह मात्र हो। बथानबाट दिनदिनै हराउने हाँसहरू हाँसदेवताले बोलाएकाले क्षितिज पारिको स्वर्गीय दहमा विचरण गर्न गएका विश्वासमा बाँचेका छन् हाँसहरू। त्यो उपलक्ष्यमा उनीहरू खुसीयाली साट्छन्, मेला भर्छन् र जात्रा आयोजना गर्छन्। हराएका हाँसहरू मानिसहरूले काटेर खाइसकेको कुरा काका हाँसजस्ता केहीलाई मात्र थाहा छ। हाँस देवता, स्वर्गको दह आदि कुरा फगत गफ हुन् भन्ने कुरा हाँसहरू सुन्नै चाहँदैनन्। हाँसको ठाउँमा मानिसलाई राखेर हेर्दा मानिसको नियति कहालीलाग्दो देखिन्छ।
कथा-संरचना र भाषा
अरेखीय (नन-लिनियर) शैलीबाट कथा बुनिएको छ। कथाको निर्माण ‘म’ पात्र प्रेमको सम्झनामा आधारित छ। सम्झनाहरू समानान्तर छन् र त्यसका न्यारेटर फेरिइरहन्छन्। अन्तस्थापित (एम्बिडेड) साना र समानान्तर न्यारेटिभहरूले सिंगो उपन्यासलाई एउटा मेटान्यारेटिभ बनाएको छ। म पात्रको उद्वेलित मानसिकताले सम्झनाको प्रवाहलाई विशृंखलित गराइदिन्छ। अवयव कथाका टुक्राहरूलाई एकअर्कासँग जोड्न र तिनका मौलिक न्यारेटर पहिचान गर्न यदाकदा कठिनाइ महसुस हुन पनि सक्छ। हरेक न्यारेटिभ न्यारेटरका ज्ञान, आग्रह, विश्वास र भावुकताबाट प्रभावित छन्। वस्तु र घटनाहरू इतिहासको अंशको रूपमा एउटै मात्र अर्थ पैदा गर्ने हुँदैनन्, तिनलाई एउटै मात्र दृष्टिकोणले हेर्न पनि मिल्दैन र तिनले दिने अर्थ पनि फरक फरक परिवेशका पाठकलाई फरक फरक हुन सक्छ भन्ने कुरालाई बिर्सेर ‘हंस’को विश्लेषण हुन सक्दैन।
प्रेम अर्थात् म पात्र अवशादग्रस्त अवस्थामा रन्थनिएर टौदहतिर जाँदै गर्दाको घटनाबाट कथाको उठान भएको छ। उसको मनमा सीमा छे, सीमाको नयाँ लोग्ने अर्थात् उसको जार अनुज पाँडे छ, जारको घाँटी छिनाएर प्रतिशोध लिने संकल्प पूरा गर्न नसकेको खिन्नता छ, सीमाबाट बिछोडिनुका कारणहरूले पैदा गरेको क्षोभ छ। टौदहमा खाजाघरभित्र उसको भेट खाजाघरकी साहुनी बूढीआमै, सेताम्मे फुलेका बुढाबा र नागराजा-नागरानी संस्थाको युवा पालेसँग हुन्छ। बूढीआमै र बूढाबा कुनै दन्त्यकथाका पात्र जस्ता पनि लाग्छन्। टौदहमा भेटिएका यी तीन पात्र उपन्यासले वर्णन गरेको तीन प्रेमकथामा प्रतीकात्मक समानान्तर भावको आभास हुन्छ। प्रेम त्यो रात खाजाघरमै रोकिन बाध्य भयो। राति बूढीआमै र बूढाबाले टौदहको इतिहास बताउँछन्- नागराजा-नागरानीका कथा, उडन्ते हँसिनी र लहडे हाँसको कथा र धेरै कुरा। प्रेमका आफ्ना जीवनका कथा र प्रेमले जार अनुजको मुखबाट सुनेका कथासँग यी कथाहरू घोलिन्छन्, मिसिन्छन् र एउटा महाकथाको निर्माण हुन्छ। ‘हंस’ त्यही महाकथा हो।
उपन्यासको भाषा सरल छ। वाक्यहरू छोटा र छरिता छन्। हाँस र मानवेतर संसारलाई जनाउन फरक ढंगको भाषा प्रयोग गरिएको छ। मानव समुदायमा जस्तै हाँस समुदायमा, र यस अर्थमा मानवेतर सबै प्राणीजगत्मा, आआफ्नै अवधारणा र विश्वास हुन्छन्। हाँस समुदायमा हाँसद्यौता, हाँसवर्ष, हाँसेकथा, हाँससंस्कार, हाँसवाचा, हाँस-इतिहास, हाँसेगफ आदि प्रचलित छन्। हाँस समुदायका लागि कल्पना गरिएका यी अवधारणाहरू नरकेन्द्रित (यान्थ्रोपोसेन्ट्रिक) त हुँदै हुन्, त्यसबाहेक मनोरञ्जक र व्यंग्यपूर्ण पनि लाग्छन्। हाँसहरू आफूहरूबीचका गतिविधि जनाउन ‘क्वाँक्नु’ शब्दलाई विविध अर्थ र स्वरूपमा प्रयोग गर्छन्- क्वाँकदृष्टि, क्वाँक प्राणी, क्वाँकस्थान, क्वाँक काम, क्वाँक हाँस, क्वाँक सरोवर, क्वाँक्नु, क्वाँकाउनु, क्वाँकिनु, क्वैंक्क पार्नु आदि। यी अभिव्यक्तिमार्फत लेखकले हाँसेअनुभव र हाँसे दृष्टिकोणलाई मानवअनुभव र मानव दृष्टिकोणसँग फरक तर समानान्तर रूपमा प्रस्तुत गर्न खोजेको बुझिन्छ। हाँसजस्तै अन्य प्राणीका पनि समानान्तर मनसत्ता रहेको स्वीकार्न उपन्यासले प्रेरित गर्छ। मानवेत्तर समाजको परिकल्पनाका लागि ‘चुच्चो लेप्य्राउनु’, ‘अझै चुच्चो चलाइरहेको छस्’, ‘हाँस-इतिहास बलिया-बांगाहरूको रहेछ, अर्कालाई निलेर आफू बाँच्नेको चुच्चो ठुँगाइ रहेछ’ जस्ता अभिव्यक्तिहरूले न्यारेसनलाई जीवन्त तुल्याएका छन्।
आवरण र शीर्षक
उपन्यास हाँसको मात्रै कथा होइन। कथा मानिसको पनि हो। सर्प (नाग)को कथा पनि छ यसभित्र। तीनवटै कथाका साझा विषय हो युगल प्रेम। हाँसको कथाचाहिँ नाभीकथा हो भन्न सकिन्छ। यस अर्थमा ‘हाँस’ शीर्षक सुहाउँदो हुन्थ्यो। तर शीर्षकका लागि संस्कृत शब्द ‘हंस’ किन ? शीर्षकलाई सम्मोहक बनाउने उद्देश्य ? हिन्दू विश्वासमा हाँसलाई पवित्र र प्रेमको प्रतीक पनि मानिन्छ। दूधबाट पानी छुट्याउन सक्ने क्षमता पनि हाँसमा हुन्छ। नेपाली शब्दले भन्दा संस्कृत शब्दले त्यो गरिमालाई बोक्छ भन्ने ठान्ने एउटा हाँसे विश्वास ? संस्कृतमा ‘हंस’ को अर्थ ‘आत्मा’ पनि हुन्छ। टौदहलाई साक्षी राखेर प्रेमले बाँधिएका जोडीहरू उही अतृप्त हंस (आत्मा)को नवअवतार हुन सक्दैनन् ? यस अर्थमा चाहिँ ‘हंस’ शीर्षक सार्थक लाग्छ।
आवरणमा पँखेटा उठाएर उड्दै गरेकी उडन्ते काली हँसिनी र उड्न नसकेर पखेँटा लत्रिएको लहडे गोरे हाँसको जोडी देखिन्छ। हँसिनी आकाशतिर उड्दै हिमालपारिको मनसरोवर ताक्दै छे, हाँस टौदहको सीमसारतिर पछारिँदै छ। नाभीकथा र प्रेमको वाष्पीय स्वभावलाई संकेत गरे खोजेजस्तो देखिने आवरण चित्र मनमोहक छ।
उपसंहार
मानवेतर प्राणीका आफ्ना भाषा हुन्छन् भनेर उपन्यासको कथ्यले स्वीकारेको छ। सामान्य मान्छेमा पशुपक्षीका भाषा बुझ्ने क्षमता हुँदैन। तिनका भाषा मान्छेका भाषामा उल्था गर्न खोज्दा समस्या पैदा हुन्छ। सबै प्रजातिको पृथक सामुदायिक स्वायत्तता हुन्छ। तर ती समुदायभित्रका अन्तरसदस्यीय सम्बन्धलाई बुझ्न मानिससँग नरकेन्द्रित अवधारणाबाहेक अर्को विकल्प छैन। साथै कथाहरूमा पुरुष इगो हाबी छ। समग्रमा, प्रेम र यौन सार्वकालिक र सार्वभौम सम्बन्ध हुन्, तर इगो निर्देशित अनुशासनका कारण यिनीहरू दुर्घटित हुन पुग्छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ।
भाषा सहज बनाउने प्रयास गर्दा कतिपय अभिव्यक्ति अतिसरलीकरणको सिकार भएका छन्। खाजाघरमा भेटिएका वृद्धप्रतिको सकारात्मक आग्रहले उनको बौद्धिकतालाई वृद्धाको भन्दा उच्च स्तरको र असामान्य स्तरमा पुर्याएको छ। मानवेतरको भाषामा स्वर (भवेल)हरूको प्राधान्य हुन्छ भन्ने तथ्यलाई पुष्टि गर्न पशुपक्षीको संवादका शब्दहरूबाट व्यञ्जन हटाइएको छ। तर व्यञ्जन विलोप अनियमित र अव्यवस्थित छ। अश्लील हुन सक्ने खास शब्दलाई लेख्न सहज बनाउनेबाहेक यसको अर्को कुनै तर्कसंगत उपयोग देखिँदैन। हाँसहरूले प्रयोग गर्ने ‘क्वाँक’ शब्दले ध्वनिप्रतीक सौन्दर्य दर्शाउन त खोजेको छ। तर एउटै ध्वनिगुच्छालाई व्यापक र विविध अर्थमा प्रयोग गरिँदा यसको सुन्दरतामा ह्रास आएको छ। अंग्रेजी उच्चारणको या÷आ लाई हिन्दी लवज आउने ‘ऐ’ले प्रतिनिधित्व गर्नु (प्लैनेट, सैन्डर्स, टैक्सी, रैट आदि) उपयुक्त देखिँदैन। ठाउँठाउँमा उद्धृत हिन्दी अभिव्यक्तिहरू हिन्दी वर्णविन्यासमै हुँदा सुहाउँथे। सीमाका चार दिदीबहिनी हुनुपर्नेमा एक ठाउँमा पाँच भएका जस्ता केही सम्पादकीय समस्या पनि बाँकी छन्। उल्लिखित समस्याहरूका बीच यो उपन्यासले नेपाली साहित्यमा पृथक् स्थान ओगट्नेमा भने शंका छैन।