अनि सचिवले आत्महत्या गरे

अनि सचिवले आत्महत्या गरे

सीमाबाट किताब नै ल्याउन नपाइने व्यवस्था गर्नु पर्‍यो। त्यसो गरेपछि न ज्ञान भित्रिन्छ, न बुद्धि बढ्छ’, सचिवले खुलस्त पारे।



एक व्यवसायी हस्याङफस्याङ गर्दै फाइभस्टार होटलमा छिरे। त्यहाँ सचिव पहिल्यैदेखि उनको पर्खाइमा थिए।

ती व्यवसायी भीआईपी रुममा छिर्नासाथ सचिवको नजर उनको हातमा पर्‍यो। उनले घुटुक्क थुक निले। व्यवसायीले हात मिलाउँदै आफूसँगै ल्याएको सुटकेस सचिवलाई थमाइदिए।

सचिवले सुटकेस आफ्नो छेउमा राख्दै कोट मिलाए। पसिना पुछे। कोठामा एसी चलिरहेको थियो। तर, उनको मनको एसीले काम गरेन।

व्यवसायीले कुरा अगाडि बढाए, ‘मन्त्रीज्यू त हजुरकै मान्छे हजुर। जनता धेरै बाठा भइसके। अर्को चुनावमा गाह्रो पर्छ हजुर। उहाँलाई सम्झाइदिनु पर्‍यो।’

‘भइहाल्छ नि हजुर। हजुरले भनेको कुनचाहिँ काम गरेको छैन र मैले अहिलेसम्म’ सचिवले उनलाई आश्वस्त पारे।

ह्विस्की टेबलमा आइपुग्यो। चियर्स गर्दै व्यवसायी बोले, ‘त्यही भएर त विश्वास लाग्छ नि मलाई हजुरको।’

‘यति जाबो काम गर्दिनँ होला त म। ढुक्क हुनुस्’, सचिवले थप प्रस्ट्याए।

‘भुँडी घटाउनु पर्‍यो हजुरले अब, कस्तो पुक्क भएको हेर्नुस् त’, व्यवसायी जोडले हाँसे। सचिवले कालो अनुहार लगाए। व्यवसायीले उनको भाव बुझे क्यारे तत्कालै थपे, ‘मेरो पनि कहाँ कम छ र हजुर ? ल हेर्नुस् त।’ यसपटक भने दुवै हाँसे।

झमक्क रात परेपछि उनीहरू त्यहाँबाट छुट्टिए। सचिव कारभित्र छिरेपछि सुटकेस खोलेर हेरे। लक्ष्मीको बथान देखेपछि दण्डवत प्रणाम टक्य्राए अनि कार हुइँक्याए।

अर्को दिन कार्यालय समयमै मन्त्रीसँग सचिवको भेट हुने भयो। ‘भन्नुस् प्रगति विवरण के छ ? ’, मन्त्रीले सचिवलाई सोधे।

‘बेहाल छ मन्त्रीज्यू, अब तपाईंले उचित कदम चाल्नुभएन भने अर्को चुनाव त तपाईं हार्नुहुन्छ हार्नुहुन्छ। हाम्रो पार्टी पनि सोत्तर हुनेवाला छ’, सचिव गम्भीर देखिए।

मन्त्री आत्तिए, ‘होइन, त्यस्तो के भयो र भन्या देशमा। बर्बादै भएछ। के भयो भन्या त्यस्तो ? ’

‘विदेशबाट आउने पुस्तकमा राजनीतिक सचेतना धेरै भयो। जनता धेरै जान्ने भए हजुर। लौ हजुर, केही गर्नु पर्‍यो।’ सचिवले जाल बिछ्याइहाले।

‘यो त धेरै दुःखद कुरा सुनाउनुभयो। मैले त अहिलेसम्म तपाईंले भनेकै गर्दै आएको छु। ल भन्नुस् के गर्नुपर्‍यो यसमा’ मन्त्रीको सातोपुत्लो उड्यो।

‘सीमाबाट किताब नै ल्याउन नपाइने व्यवस्था गर्नुपर्‍यो। त्यसो गरेपछि न ज्ञान भित्रिन्छ, न बुद्धि बढ्छ’, सचिवले खुलस्त पारे।

‘लौ म प्रधानमन्त्रीज्यूसँग सल्लाह गरेर निर्णय गर्न लगाइहाल्छु।’ मन्त्रीले यति भन्दै प्रधानमन्त्रीका पीएलाई फोन गरेर भेट्ने समय मागे।

‘उहाँ त आज व्यस्त मन्त्रीज्यू। कार्यक्रम नै कार्यक्रम छन्’, पीएले समय नभएको संकेत गरे।

‘कुरो बुझ्नु पर्‍यो। सत्ता ढल्न लागिसक्यो। नभेटी भा’छैन’, मन्त्रीले नैराश्य पोखे। पीए आत्तिए। उनले तत्कालै मन्त्रीसँग भएको वार्तालाप प्रधानमन्त्रीलाई ब्रिफिङ गरे। प्रधानमन्त्रीले १२ बजेको मोबाइल सेन्टर उद्घाटन कार्यक्रम रद्द गरेर सो समय मन्त्रीलाई दिए।

प्रधानमन्त्रीको निजी सचिवालयलाई झाडापखाला लागेका कारण कार्यक्रममा जान नसक्ने जानकारी गराइयो। यो कुरा सुनेपछि सचिवालयका एक सदस्य निकै चिन्तित बने। उनी एक्लै बर्बराउन थाले, ‘धत्तेरी प्रधानमन्त्रीको समय मिलाइदिएबापत लिएको एक लाख फिर्ता गर्नुपर्ने भयो अब। धत्तेरी।’ उनी एकछिन बर्बराइरहे...।

प्रधानमन्त्रीले बोलाएको २० मिनेटमा मन्त्री आइपुगे। दुईबीच गोप्य वार्ता सुरु भयो।

धेरै भूमिका नबाँधी मन्त्रीले भने, ‘बर्बाद भएछ नि हजुर। हामीले पनि कस्तो ख्याल नगरेको ? छिमेकी देश हुँदै आउने किताबमा त राजनीतिक चेतना मिसिएको हुँदो रहेछ नि। त्यो किताब पढेर जनता सुसूचित हुन थालिसकेछन् नि। अब जनतालाई जालझेलमा फसाएर सरकार चलाउन गाह्रो रहेछ नि।’

‘लौ बर्बाद भएछ। अब कसरी रोक्ने यसलाई ? अब के गर्ने ? लौ, बर्बाद भएछ।’ प्रधानमन्त्री मन्त्रीको कुरा सुनेर जनताले गलत कामको विरोध गर्छन् कि क्या हो, सरकार ढल्छ कि क्या हो भन्ने त्रासमा पुगे।

‘अब विदेशबाट किताब नै आउन दिनु हुँदैन हजुर। भन्सारमा रोक लगायो आनन्द’, मन्त्रीले उपाय बताए। उनको कुराबाट प्रधानमन्त्री झस्किए। टोलाउन थाले। विगतमा आफूले पढेका किताबबाट प्राप्त राज्यसत्ताविरुद्धको चेत र त्यसपछिको विद्रोह सम्झिए।

मोबाइल निकालेर तत्कालै आफ्ना सल्लाहकारलाई फोन लगाए, ‘विदेशबाट भन्सार हुँदै आउने किताब रोक्न के गर्नुपर्ला हामीले सल्लाहकारज्यू ? ’

‘केही गर्नै पर्दैन नि हजुर। कर लगाइदिए पुग्छ। कर लगाएपछि महँगो मूल्य पर्छ। एमआरपीभन्दा महँगो पर्ने भएपछि न बिक्रेताले किताब ल्याउँछन्, न पाठकले किन्छन्’, सल्लाहकारले जवाफ दिए। प्रधानमन्त्रीले फोन काटे।

प्रधानमन्त्रीले तत्काल अर्का मन्त्रीलाई फोन लगाए, ‘भोलिको बजेट भाषणको तयारी के छ मन्त्रीज्यू ? ’

‘सुटकेसमा हालेर तयार अवस्थामा छ हजुर’, मन्त्रीले जवाफ दिए।

‘ल त्यो सुटकेस खोलेर कतै विदेशबाट आउने पुस्तकमा ३० प्रतिशत कर लाग्नेछ भनेर एउटा बुँदा थपिहाल्नुस् त’, प्रधानन्त्रीले निर्देशन दिए। मन्त्रीले हस् भन्दै फोन राखे।

मन्त्री निस्किएपछि प्रधानमन्त्रीका पीएले आफूनिकट एक पत्रकारलाई मेसेज गरेर जानकारी दिए, ‘आज प्रधानमन्त्री कार्यक्रममा जानुभएन। यहाँ मन्त्री आउनुभएको थियो। मन्त्री फेरबदलको कुरा हुँदैछ।’

पत्रकारले धन्यवाद टक्राउँदै लेखे, ‘तपाईंको एक महिनाको बक्सिस आज अकाउन्टमा जम्मा गरिदिन्छु।’

उता, सचिवालय सदस्यले आफूनिकट पत्रकारलाई जानकारी दिए, ‘प्रधानमन्त्री बिरामी हुनुभयो। धेरै गाह्रो भयो। त्यसैले कार्यक्रममा जान सक्नुभएन।’

दुई राष्ट्रिय अनलाइनमा प्रधानमन्त्री कार्यक्रममा नजानुको कारणबारे फरक-फरक समाचार आए। अन्य मिडियाले त्यसलाई कपी गर्दै राखे।

‘प्रधानमन्त्री बिरामी’ र ‘मन्त्री फेरबदलका विषयमा गोप्य छलफल’ यी दुई हेडलाइन दिनभरि बिके। राजनीतिमा एउटा तरंग फैलियो।

अर्को दिनको बजेट भाषणपछि किताबमा कर लगाउने विषयले विवादको रूप लियो। प्रधानमन्त्रीले आफूलाई सुझाव दिने मन्त्रीलाई फोन गरे, ‘जनता विपक्षमा उभिए त कुरा के हो ? ’ मन्त्रीले माहोल बुझेर जानकारी गराउने बताए।

मन्त्रीले फेरि सचिवलाई फोन गरे, ‘जनता सरकारविरुद्ध उठे। के हो कुरा ? ’ सचिवले यसलाई विपक्षीले सरकारविरुद्ध गरेको प्रपञ्चको संकेत दिए। मन्त्रीले यही कुरा प्रधानमन्त्रीलाई ब्रिफिङ गरे।

सचिवालय सदस्यले करको निर्णय प्रधानमन्त्रीको आदेशमा भएको हो भन्ने चाल पाएपछि राम्रो काम भन्दै मन्त्री र प्रधानमन्त्रीको तारिफ गरे। उता सबैको तारिफ सुन्दा प्रधानमन्त्री पनि मक्ख थिए। कुर्सी बचेको आभास गर्दै धेरै दिनसम्म उनी मस्तसँग निदाए पनि।

उता करको विरोधमा मिडिया र सामाजिक सञ्जाल तातिसकेको थियो। ज्ञानमाथि नियन्त्रण गर्न खोजेको भन्दै लेखक र प्रकाशनगृहले सरकारको आलोचना गरिरहेका थिए। पुस्तक बिक्रेताले यस विषयमा सचिवसँग कुरा गर्न खोज्दा उनले समय दिइरहेका थिएनन्।

सचिवले मन्त्रीलाई पनि पैसा खाएर एउटा टोली करको विरोधमा वकालत गर्न खोजेको ब्रिफिङ गरेका थिए। त्यसैले उनले पनि समय दिएनन्।

यता करको विषयमा संसद्मा समेत कुरा उठ्यो। बजेट ल्याउने मन्त्रीले देशका प्रिन्टिङ प्रेस र यहीँ छापिएका लेखकका किताबलाई प्रोत्साहन गर्न यसो गरेको जवाफ दिए। तर, उनको जवाफमा तर्क थिएन।

मन्त्रीको जवाफबारे मिडियामा सुनेपछि चिया गफमा लेखकहरू कुराकानी गर्दै थिए, ‘कुनचाहिँ गिरोहले सरकारलाई डुबाउने भयो अब।’

एक महिना पनि बितिसकेछ। सरकारको निर्णयपछि बिक्रेताले विदेशबाट कुनै पनि किताब मगाएनन्। विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रमका किताबको पनि हाहाकार मच्चियो।

यो कुरा प्रधानमन्त्रीसम्म आइपुग्यो। प्रधानमन्त्रीले उनै मन्त्रीलाई फोन गरे, ‘तपाईंका कारण मैले कतै गलत निर्णय त गरिनँ। बजारमा पाठ्यक्रमका पुस्तक अभाव छ भन्ने सुनिन्छ। के हो कुरा ? ’ मन्त्रीले आफूले बुझेर जानकारी दिने बताए।

उनले पनि तत्काल सचिवलाई फोन गरे, ‘सचिवज्यू, बजारमा पाठ्यक्रमका पुस्तक अभाव भयो भन्ने छ। प्रधानमन्त्रीज्यूले चासो राख्दै हुनुहुन्छ। खास कुरा के हो ? ’

म बुझ्छु हजुर भनेर उनले पनि फोन राखे। तत्कालै व्यवसायीलाई फोन गरे, ‘सबै कुरा मिलाउँछु भन्नुहुन्थ्यो। यो विषय अब प्रधानमन्त्रीको चासोको विषय हुन पुगिसक्यो। म अप्ठ्यारोमा परेँ भने निर्णय फिर्ता गर्ने अवस्था आउँछ है हजुर।’

‘हामी आफ्नै प्रेसबाट ती किताब छाप्दै छौं। एकदुई दिनमा सबै ठीक हुन्छ’, व्यवसायीले जवाफ दिए।

सचिवले मन्त्रीलाई बजारभरि किताब रहेको र हल्ला विपक्षीले चलाएको रिपोर्टिङ गरे। मन्त्रीले प्रधानमन्त्रीलाई सोही कुरा जानकारी गराए।

यता नभन्दै दुई दिनपछि बजारमा किताब देखियो। बजारमा कम गुणस्तरीय कागजमा छापिएका किताबका पाना पल्टाउँदै एक बिक्रेता गुनगुनाए, ‘आखिर पाइरेसी भएरै छाड्यो। करोडौं-करोड कमाउने भए अब महाशयहरूले।’

पाइरेसीको चाल पाएपछि विपक्षीले संसद् अवरुद्ध गरे। महँगीको मारमा परेपछि विद्यार्थी पनि आन्दोलित भए। चोकचोकमा प्रधानमन्त्रीको पुत्ला दहन गरियो। तर, सरकार विपक्षीको चाल भन्दै आफ्नो निर्णयबाट एक कदम पछि हटेन।

उता एक बलियो सत्तापक्ष दलले प्रमुख दललाई दिएको समर्थन फिर्ता लियो। सरकार अल्पमतमा पर्‍यो। उसले फेरि विपक्षीसँग मिलेर सरकार बनायो। उसले पहिलेको भन्दा दुई मन्त्रालय थप पायो।

यता विपक्षीबाट करको विरोध गर्ने सांसद मन्त्री भए। किताबमाथि प्रतिबन्ध लगाउन सुझाव दिने सचिवलाई बोलाएर उनले आग्रह गरे, ‘सचिवज्यू, अघिल्लो सरकार जसरी ढलेको छ, हामीले त्यस्तो कुनै गलत काम गर्नुहुन्न बुझ्नु भो। मलाई तपाईंको पूर्ण साथ र समर्थन चाहिन्छ।’

‘म त हजुरकै पार्टीको मान्छे नि हजुर। त्यस्तो गलत निर्णय गरेपछि सरकार ढलिहाल्छ नि। अब हजुरहरूले त्यो निर्णय फिर्ता लिनुपर्‍यो’, सचिव बोले, ‘बरु मसँग एउटा गज्जबको आइडिया छ।’

‘लौ हजुर, मलाई तपाईंकै भर छ’, मन्त्री मक्ख परे।

‘यो मेलम्चीको पानी ल्याउने काम तीव्र रूपमा अघि बढिरहेको छ। एक महिनामै काम सकिन्छजस्तो छ। त्यसो भयो भने अघिल्लो सरकारको हाईहाई हुन्छ। जसरी हुन्छ अर्को एक वर्ष रोक्नुपर्छ हजुरले। चुनावको बेला पानी आयो भने के होला सोच्नुस् त’, सचिवले बडो गम्भीर भएर भने।

मन्त्री यस्तो कमालको आइडिया दिएकोमा मक्ख थिए। तत्कालै उनले यो कुरा प्रधानमन्त्रीसमक्ष राखे। प्रधामन्त्रीले मन्त्रीलाई स्याब्बासी दिए। मेलम्चीको काममा ढिलासुस्ती भएको भन्दै ठेकेदार कम्पनी परिवर्तन गर्ने निर्णय पहिलो मन्त्रिपरिषद् बैठकबाट भयो।

जुन निर्णयको मिडिया र जनता दुवैले स्वागत गरे। सरकारले वाहवाही कमायो।

‘तपाईंले के काम गर्नुहुन्छ हँ, त्यस्तो महिनामा एकपटक सुटकेस भरेर पैसा आउँछ ? ’ एक रात सचिवलाई उनकी श्रीमतीले प्रश्न गरिन्।

‘देशमा अनपढ, अज्ञानी नेता भएपछि धेरै ठूलो काम गर्नै पर्दैन लाटी। मेरो मात्र हो त कर्मचारी, नेताका आसेपासे सबैको घरमा यस्तै भरिएको सुटकेस आउँछ’, सचिव हाँसे।

अर्को दिन सचिवमाथि अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले छानबिन थाल्यो। त्यसै रात सचिवले आत्महत्या गरे।

‘मेरो दाहिने हात नै भाँचिएसरह भयो। यस्तो राम्रो मान्छेलाई गुमाउन पुगियो’, मेलम्ची मन्त्री आर्यघाटमा बर्बराए।
                                                    @novelkrishna
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.