उपनिर्वाचन : कतै बमको त्रास, कतै शान्तिपूर्ण मतदान
काठमाडौं : उपनिर्वाचनको लागि शनिबार देशभर मतदान भइरहेको छ। प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका रिक्त पदका लागि उत्साहजनक मतदान भइरहेको हो।
देशभर ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी छ। नेपालमा संघीयता अभ्यासमा आएपछि २०७४ सालमा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन भयो र निर्वाचनयता विभिन्न कारण ३७ जिल्लामा ५२ रिक्त पद रिक्त छन्। प्रतिनिधिसभातर्फ भने कास्की-२मा मात्रै खाली छ।
मतदानकै क्रममा कास्की-२का तीन स्थानमा बिहानै बम विस्फोट भएको छ। पोखरा नयाँबजारको नवप्रभात मावि मतदान केन्द्र, पोखरा-३३ भरतपोखरी र पोखरा-१६ अर्मलामा विस्फोट भएको हो। नवप्रभात स्कुलको कम्पाउन्डभित्रै एक व्यक्ति बम फालेर भागेका थिए। कम्पान्डको पर्खाल बमले भत्काएको छ। अन्य भने क्षति भएन। विस्फोटपछि केही समय मतदान प्रभावित भएपनि अहिले मतदान जारी छ।
लमजुङमा मतदान केन्द्र नजिक पनि बम विस्फोट भएको छ। सुन्दरबजार नगरपालिका-२ को वडाअध्यक्ष पदका लागि मतदान भइरहेका बेला त्यहाँ बम विस्फोट भएको थयो। ठूलो आवाजकासाथ बम पड्किएपछि मतदाताहरु केहीबेर विचलित भएका थिए। अहिले भने स्थिति सामान्य छ। अहिले त्यहाँ मतदान जारी छ।
त्यस्तै बैतडीको दोगडाकेदार गाउँपालिका-४, सुर्नया गाउँपालिका-१ र पुर्चौडी नगरपालिका-४ मा मतदान भइरहँदा दोगडाकेदार गाउँपालिका-५मा पनि बम भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दोगडाकेदार गाउँपालिका-५ सिल्केलेकस्थित महाकाली राजमार्ग बम फेला परेको हो। राजमार्गमा विहान साढे ११ बजे भेट्टिएको वस्तु स्टीलको बाल्टीनमा तार जोडेको अवस्थामा भेट्टिएको प्रहरीले जनाएको छ।
सर्लाहीको हरिपूर्वा नगरपालिका-१मा पनि मतदान केन्द्र नजिकै विस्फोटक पदार्थ फेला परेको छ। उप-निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि मतदान केन्द्रबाट करिब साढे ३ मिटर पर पानी खाने अम्खोरामा राखिएको विस्फोटक पदार्थ भेटिएको हो।
अम्खोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा विस्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। फेला परेको अम्खोरामा पि ए के विस्फोटक पदार्थ भरिएको थियो। विस्फोट हुनुभन्दा अगाडीनै सुरक्षाकर्मीले जानकारी पाएको थियो।
यी बाहेक अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ।
थबाङमा मतदाताको न्यून उपस्थिति
थबाङ गाउँपालिका-१मा वडाध्यक्ष पदका लागि मतदान भइरहेको छ। शनिबार दिउँसाेसम्म यहाँ न्यून मत खसेको हो।
निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। मतदान स्थलमा विहान मतदाताको न्यून उपस्थिति देखिएको छ। नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाकोसमेत प्रभाव क्षेत्र मानिने यहाँ सत्ताधारी नेकपा र कंग्रेस निकट मतदाताले मात्र मतदान गर्ने अनुमान गरिएको छ। विप्लव नेकपाका नेता र आस्थावान थबाङीले चुनाव बहिस्कार गर्न मतदातालाई आह्वान गरेका छन्।
सत्ताधारी नेकपाका उम्मेदवार जनकबहादुर बुढा र नेपाली कांग्रेसका उम्मेदवार कलम रोका चुनावी मैदानमा छन् । स्थानीय तहको निर्वाचनताका स्वतन्त्र उम्मेदवारले पूर्वमाओवादी केन्द्रका उम्मेदवार ग्रीस पुनलाई पराजित गरेका थिए। ३ सय ५९ मतले फर्कबहादुर विजय भएका थिए भने ग्रीसले २ सय ५६ मत ल्याएका थिए। करिव १ हजार २ सय मतदाता रहेको वडामा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले चुनावमा भाग नलिने अवस्थाले न्यून मतदान हुने देखिएको छ।
सम्वेदनशील केन्द्रमा शान्तिपूर्ण मतदान
दाङका सम्वेदनशील भनिएको मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ। यहाँका ६ मतदानस्थललाई अति सम्वेदनशील भनिएको थियो।
उपनिर्वाचनमा स्थानीय सुरक्षा समितिले निर्वाचन क्षेत्र-३ (२) का ६ वटा मतदानस्थल अति संवेदनशील क्षेत्रमा राखिएको थियो। त्यस्तै गरेर २६ वटा मतदानस्थल समवेदनशीलमा राखिएको थियो। उपनिर्वाचनको लागि ३४ वटा मतदानस्थल तोकिएको छ। जिल्लाको निर्वाचन क्षेत्र-३ (२)मा प्रदेशसभा सदस्यका लागि र घोराही उपमहानगरपालिका-१६ मा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना अन्तिम घेरामा रहेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाइएको छ। प्रत्येक मतदाताको सुरक्षा व्यवस्था गरिएकाले मतदाताले निर्धक्क भएर मदतान गरेका छन्।