धरानमा ५९ प्रतिशत मतदान
धरान : सुनसरीको धरान उपमहानगरपालिकाको रिक्त रहेको मेयर र वडा नम्बर ७ को वडाअध्यक्ष पदको उपनिर्वाचनमा ५९.४१ प्रतिशत मत खसेको छ।
धरानमा ५५ हजार एक सय ६३ मतदाताले मत दिएका छन्। मतदाता महिला बढी छन्। २९ हजार ८२९ महिला र २५ हजार ३ सय ३४ पुरुषले मतदानमा भाग लिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए।
धरानमा ९२ हजार ८ सय ५३ मतदाता थिए। मतदान शान्तिपूर्वक सम्पन्न भएको छ। मतदानलाई अबरुद्ध गर्न खोजेको भन्दै प्रहरीले दुई शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाको विषयमा अनुसन्धान भइरहेको डीएसपी ढुण्डिराज न्यौपानेले बताए।
धरानका २० वटै वडाबाट मत पेटिका आए पश्चात सर्वदलीय बैठक बस्नेछ। शनिबार रातिबाट मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत उप्रेतीको भनाइ छ।
मतदानमा जनपथ, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो। सवारी साधनको व्यवस्था नगरेका कारण वृद्ध, वृद्धा, अशक्तहरु भने मतदानबाट बञ्चित भएका छन्।