सुरु भयो मतगणना : ६५ प्रतिशत मतदान, कहाँ कति खस्यो मत ?
काठमाडौं : निर्वाचन आयोगले उपनिर्वाचनमा ६५ प्रतिशत मतदान भएको जनाएको छ । एक प्रतिनिधिसभा, तीन प्रदेशसभा र ४३ स्थानीय तहका पदाधिकारीका लागि शनिबार उपनिर्वाचन भएको हो । यसअघि ०७४ मा तीनै तहका लागि भएको मतदान भन्दा उपनिर्वाचनमा केही कम प्रतिशत मतदान भएको छ ।
एउटा मात्र मतपत्र भएका कारण उपनिर्वाचनको मत परिणाम चांडो आउने निर्वाचन आयोगले जनाएको छ । केही वडाअध्यक्षको नजिता सार्वजनिक भइसकेको छ भने अधिकांश स्थानमा मतगणना सुरु भइसकेको आयोगले जनाएको छ ।
आयोगका अनुसार सबैभन्दा बढी हुम्लाको खार्पूनाथ गाउँपालिका उपाध्यक्षका लागि ८५ प्रतिशत मतदान भएको छ । सबैभन्दा कम रोल्पाको थवाङ्ग गाउँपालिकाको वडाध्यक्षका लागि १६.४ प्रतिशत मात्र मतदान भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपा र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले त्यस क्षेत्रमा चुनाव बहिस्कार गर्न मतदातामा आह्वान गरेको थियो ।
उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ जना मतदाता रहेकोमा २ लाख ९७ हजार १ सय ३७ जनाले मतदान गरेको आयोगले जनाएको छ । आयोगले ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन भएको कास्की क्षेत्र नं. २ मा ६५ प्रतिशत मतदान भएको छ । प्रदेशसभा तर्फ भक्तपुरको १ को १ मा ७० प्रतिशत, बागलुङमा ६१ प्रतिशत र दाङमा ६७ प्रतिशत मतदान भएको छ ।
आयोगका अनुसार स्थानीय तह अन्तर्गत धरान उपमहानगरपालिकाको प्रमुखका लागि ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिका ६६, मकालु गाउँपालिका ६५ र पिपरा गाउँपालिकाको अध्यक्षका लागि ६० प्रतिशत मतदान भएको थियो ।
तिशत र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मत खसेको बताइएको छ । उपनिर्वाचनमा सबैभन्दा धेरै रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पा जिल्लाको थवाङ गाउँपालिकाको वडा नं १ को वडाअध्यक्षको लागि भएको मतदानमा १६.४ प्रतिशत मात्र मतदान भयो ।
छिटपुट घटनाबाहेक शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान शान्तिपूर्ण भएको आयोगले जनाएको छ । ५ सय ३७ मतदान केन्द्रमा मतदानकार्य गरिएको थियो । ९९ वर्षीय जेष्ठ नागरिकदेखि कृयापुत्रीले पनि मतदानमा भाग लिएको आयोगले जनाएको छ ।
बागलुङको ज्ञानोदय मा.वि. को कोवाङ केन्द्रमा ९७ वर्षिय गौरा कामत, बैतडीको पुर्चौडी मा.बि. मतदान केन्द्रमा ९९ वर्षीय बिरुवा धानुक र कोहलपुर न.पा. सिद्धार्थ आधारभूत विद्यालय केन्द्रबाट ससुराको कृया बसेकी ४२ वर्षीया सावित्री सापकोटाले समेत मतदान गरेको आयोगले जनायो । कास्की, दाङ, सर्लाही, डोटी र लमजुङ जिल्लामा मतदान केन्द्र नजिक सामान्य घटना भए पनि मतदान कार्यमा कुनै असर नगरेको आयोगले जनाएको छ ।
प्रतिनिधि सभा सदस्यतर्फ ११, प्रदेशसभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दल प्रतिस्पर्धामा रहेका छन् । उपनिर्वाचनमा प्रतिस्पर्धी ३ सय ३७ उम्मेदवारमध्ये राजनीतिक दलतर्फ २५३ र स्वतन्त्र उम्मेदवार ८४ जना छन् ।
जसमध्ये २५३ पुरुष र ८४ महिला उम्मेदवार छन् । प्रतिनिधि सभा सदस्यतर्फ राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी २१, प्रदेशसभा सदस्यतर्फ राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी ४३ र स्थानीय तहका सदस्यतर्फ राजनीतिक दलका २ सय १३ र स्वतन्त्र ६० गरी जम्मा २ सय ७३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
कहाँ कति प्रतिशत मतदान ?
कास्कीमा ६५ प्रतिशत
भक्तपुरमा ७० प्रतिशत
बाग्लुङ्गमा ६१ प्रतिशत
दाङ्गमा ६७ प्रतिशत
रोल्पामा १६ प्रतिशत