सप्तरीको छिन्नमस्तामा राजपाकी प्रमिलादेवी विजयी
सौरभ यादव
राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षका लागि शनिबार भएको उपनिर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)की उम्मेदवार प्रमिलादेवी यादव विजयी भएकी छिन् ।
५४० मत ल्याएर प्रमिला देवी यादव विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । आफ्ना निकटम प्रतिद्वन्दीलाई ११ मतले पछि पार्दै प्रमिला देवी यादव विजयी भएकी हुन् । निकटम प्रतिद्वन्दी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार अछेलाल यादवले ५२९ मत प्राप्त गरे।
यस्तै जनमत पार्टीका दिनेश कुमार यादव ११ र नेपाली कांग्रेसका शिवनारायण मण्डल ले १५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिएका छन् । ६४६ महिला र ७५७ पुरुष गरी कुल १४०३ मतदाता रहेकोमा ५५३ पुरुष र ५६१ महिला गरी १११४ जनाले मतदान गरेका थिए।