भक्तपुरमा कांग्रेसको अग्रता
भक्तपुर : भक्तपुर क्षेत्र नं १ क प्रदेशको उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिएको छ। आइतबार बिहान ७ बजेसम्मको मतगणनामा कांग्रेस उम्मेदवार कृष्णलाल भडेलले अग्रता कायम राखेका हुन्।
सुरुवातदेखि नै अग्रता बनाएका भडेलले अहिलेसम्म ९०९५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकालले ६७८३ मत ल्याएका छन्।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका निरज लवजूले २०६४ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रवक्ता भीमबहादुर बीसीले जानकारी दिए। उनका अनुसार कमल थापा नेतृत्वका राप्रपाका श्यामप्रसाद नेपालले २९४ मत ल्याउँदा साझा पार्टीका सुरज प्रधानको २४८ मत रहेको छ।
त्यस्तै समाजवादी पार्टीका सुदर्शन मुनंकर्मीको १५ र नेकपा मालेका सुदर्शन लामिछानेको १५ मत रहेको छ। उनका अनुसार चाँगुनारायण नगरपालिकाका वडा नं. १ देखि ६ सम्मको मत गणना भइसकेको छ। जसअनुसार अब चाँगुनारायण नपाका ७ देखि ९ र भक्तपुर नगरपालिका १० वडाको मत गणना हुन बाँकी छ।
मतगणना हुन बाँकी वडाहरुको अघिल्लो परिणाम हेर्दा कांग्रेस उम्मेदवार भडेलको जीत निश्चित देखिएको छ। चाँगुनारायण नपा ७ वडाको अध्यक्षमा कांग्रेसले जितेको थियो। त्यस्तै वडा नं. ८ मा नेकपाले जिते पनि कांग्रेस र राप्रपा संयुक्तको मत बढी छ।
वडा नं ९ र भक्तपुर नपा १० वडामा नेमकिपाले जितेको थियो। तैपनि यी वडाबाट नेकपा र कांग्रेसलाई समान मत आउने गरेको छ। यस आधारमा अहिले करिब दुई हजार तीन सयको अग्रता कायम राखेका कांग्रेस उम्मेदवार नै विजयी हुने राजनीतिक विश्लेषकहरु बताउँछन्।