बोक्सीको आरोपमा महिलामाथि कुटपिट
बैतडी : बैतडीमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका ९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपिट भएको हो ।
शनिबार बिहान १० बजेतिर उत्तरामाथि उनकै देवर डम्मर ढुंगाल र देवरानी पवित्रा ढुंगालले कुटपिट गरेको उत्तराका भाइ शेरबहादुर महराले बताए । उनले भने, 'बोक्सी भन्दै शुक्रबार दिदीमाथि अभद्र व्यवहार गरिएछ । शनिबार त दिदीमाथि कुटपिट नै भयो।'
उत्तरालाई देखेपछि छोरो बिरामी हुन्छ भन्ने आरोप लगाएर दिदीमाथि कुटपिट भएको महराले बताए । बोक्सीको आरोपमा कुटपिट गरिएकी उत्तरालाई उपचारका लागि शनिबार राती नै जिल्ला अस्पताल बैतडी पुर्याइएको छ।
उत्तरामाथि कुटपिट भएको पुर्चौंडी नगरपालिका ९ का वडा अध्यक्ष रम्बा बोहराले पुष्टी गरे । उनले भने, 'उत्तरामाथि कुटपिट भएको भन्ने कुरा सुनेपछि म गाउँमै पुगेको छु । उनीमाथि कुटपिट भएको छ । के कारणले कुटपिट गरियो भन्ने बारे सोधीखोजी गरिरहेको छु ।'
एकल महिला उत्तरामाथि बोक्सीको आरोपमा कुटपिट गरिएकाले आफू दिदीको उपचारकै लागि धनगढीबाट बैतडी पुगेको शेरबहादुर महराले बताए । उनले भने, 'अहिले दिदीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्नेहरुको नाममा मुद्दा दिने तयारी गरिरहेको छु ।'
बोक्सीको आरोपमा महिलामाथि कुटपिट भयो भन्ने खबर आएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । उनले शनिबार साँझ खबर पाएको बताए।उनले भने, 'घाइतेको उपचार गराउन भनेको छु । बोक्सीको आरोपमा अथवा अरु कुनै हिसाबले कुटपिट गरिएको रहेछ भने कुटपिट गर्नेमाथि कानुनअनुसार कारवाही हुन्छ।'