बागलुङ- २ मतगणना: यस्तो आयो प्रारम्भिक परिणाम
बागलुङ : जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश 'ख' मा भएको उपनिर्वाचनको मतगणना प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । मध्यान्हदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भित मत परिणाम अनुसार ढोरपाटन नगरपालिका १ बुर्तिबाङको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनले ५ सय २५ मत प्राप्त गरेका छन् ।
बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीले ३ सय ८६ मत प्राप्त गरेका छन् । समाजवादी पार्टीका अशोक विकले ७०, बागी उम्मेदवार शेरमान घर्तीको क्लिप चिन्हमा ९, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले ६, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले २ मत प्राप्त गरेका छन् । १० मत बदर भएको छ । वडागत रुपमा गणना शुरु गरिएकोमा ढोरपाटन नगरपालिका १ पछि तमानखोला गाउँपालिकाको वडा नम्बर १ को मतगणना सुरु भएको छ ।
कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २१ हजार ४ सय मत खसेको छ । अघिल्लो निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आज राती अबेरसम्ममा अन्तिम मत परिणाम आउने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए।