खिमविक्रम शाही : गाउँपालिकामा हारे, प्रदेश सांसदमा जिते
बागलुङ : वर्ष ४९, निसीखोला गाउँपालिकाका खिमबिक्रम शाही। २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भए। राष्ट्रिय जनमोर्चाबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका शाही नेपाली कांग्रेसका बागी उम्मेदवार तारानाथ पौडेलसँग हारे।
२०४० सालदेखि अखिल छैठौंमा आवद्धता जनाएर राष्ट्रिय जनमोर्चामको राजनीतिमा सक्रिय शाही पार्टी सत्ता भन्दा बाहिरै रहे पनि इमानको राजनीतिबाट बिचलित भएनन्। र, स्थानीय तहको निर्वाचन र त्यस निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका उनै शाही दुई वर्षमै गण्डकी प्रदेशको सांसद बनेका छन्।
झट्ट सुन्दा अपत्यारिलो लागे पनि मंसिर १४ मा भएको उपनिर्वाचनको परिणामले शाहीलाई प्रदेश सभासम्मको यात्रा, अनुभव र भुमिकाको अवसर दिलाएको छ। बागलुङ(२‘ख’ बाट सत्तारुढ नेकपाको समर्थनमा शाही भारी मतसहित सांसद भएका छन्।
नेपाल कम्युनिस्ट पार्टीसमेतको समर्थनमा शाहीले नेपाली कांग्रेससहित अन्य नौ उम्मेदवारलाई पराजित गरे। शाहीले ११ हजार २३५ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्धी नेपाली कांग्रेसका जीत शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरे। यो जितमा उनी निसीखोला गाउँपालिकाको चुनावमा जहाँ हारेका थिए, त्यहीबाट अनपेक्षित रुपमा शानदार मत प्राप्त गरे।
अघिल्लो निर्वाचनमा कांग्रेसले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडा जितेको कांग्रेसको प्रभावशाली क्षेत्रबाट शाहीले ४ हजार ८ सय ६ मत अर्थात कांग्रेसले भन्दा १५ सय २४ मत बढी लिए। जुन मतले शाहीलाई निसीखोलाबाट गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको प्रदेशसभा भवनसम्मको यात्रा सहज र सुनिश्चित गरिदियो।
उपचुनावमा ‘राजनीतिमा क्रियाशिल भए पनि अहिले यस्तो अवसर र उपलब्धिको कल्पना, योजना केही थिएन’, नवनिर्वाचित सांसद शाहीले भने,‘यो सहकर्मी योद्धाको दुखान्त घटनाको संयोगमा भएको हो, पार्टीले मलाई योग्य र उचित ठानेर पहिले गाउँपालिकाको उम्मेदवार बनायो, अहिले प्रदेशको सांसद बनायो, मैले पार्टी निर्णय र जनताको भावनालाई शिरोपर गरेर जनताको सेवकको रुपमा काम गर्छु।’
अहिले शाहीले सांसदमा विजयी हासिल गरेको क्षेत्र २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रकोसमेत समर्थनमा वाम गठबन्धन बनाएर राजमोका टेकबहादुर घर्तीले जितेको क्षेत्र हो। सांसद घर्तीको अल्पायुमै असामयिक निधन भए पछि रिक्त पदमा उपचुनाव गरिएको हो।
नवनिर्वाचित गण्डकी प्रदेशसभाका सदस्य शाहीले समय छोटो भए पनि मुलुकको समृद्धि र स्थायित्वका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उपनिर्वाचनमा विजयी भएपछि प्रतिक्रिया दिँदै उनले गाउँपालिकाको पराजय पछि प्रदेश सभाको ऐतिहासिक जितले आफुलाई खुशी र जिम्मेवार दुबै बनाएको बताए।
‘जनतन्त्र, जनजिविका र जनअधिकारको पक्षमा नीति कार्यक्रम तय गर्नमा भुमिका खेल्नेछु,’ शाहीले भने,‘जनतालाई परिवर्तन, समाजमा सुशासन आएको अनुभूति गराउन आफ्नो तर्फबाट इमान्दारीपूर्वक सक्दो कोशिस गर्नेछु।’
जिल्लाको पश्चिममा रहेको नेपालकै एक मात्र ढोरपाटन शिकार आरक्षसहित आँफ्नो क्षेत्र अवसर र विकासबाट पछाडी पारिएकाले त्यसका लागि यथेष्ट पहल र भुमिका खेल्ने उनले बताए।