माथिल्लो तामाकोशी : ५ महिनामा ५३ मिटर, कहिले सकिन्छ ३१० मिटर?
दोलखा : माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सबैभन्दा कठिन मध्येको ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा ५ महिनामा ५३ मिटरमात्र पेनस्टक पाइप जडान गरिएको छ। माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्न सुरु गरेको ५ महिनामा ३० प्रतिशत मात्र पाइप जडान भएको हो।
आयोजनाको तथ्याङ्क अनुसार ठाडो सुरुङमा एकमिटर पेनस्टक पाइप जडान गर्न तीनदिन लाग्ने गरेको पाइएको छ। सो तथ्याङ्कलाई आधार मानेर गणितिय हिसाब गर्दा बाँकी २ सय ५७ मिटर ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्न २५ महिना लाग्छ।
३७३ मिटर लम्बाईको तल्लो ठाडो सुरुङ भने एकसय ५० मिटर पेनस्टक पाइप जडान भइसकेको प्रवक्ता डा. न्यौपानेले बताए। तल्लो ठाडो सुरुङमा अष्ट्रियन कम्पनी एण्ड्रिज हाइड्रोले असार १ गतेबाट पेनस्टक राख्न सुरु गरेको थियो। ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङ असार १० बाट पेनस्टक जडान गर्न सुरु गरेको टेक्सम्याको रेल्वे इन्जिनियरिङले पाँच महिनाको अवधिमा ५३ मिटरमात्र जडान गरेको छ।
पेनस्टक जडान गर्दै जाँदा काम गर्न पनि सहज हुँदै जाने र कामको गति पनि बढ्ने आयोजनाका प्रबक्ता डा. न्यौपानेको भनाइ छ। तर, टेक्सम्याकोको कामको गति हेर्दा चैतसम्ममा एकतिहाई पनि काम हुने अवस्था देखिँदैन। पाँच महिनामा ५३ मिटर पेनस्टक जडान गर्नेले करिब चार महिनाको अवधिमा काम सक्ने कुनै आधार नरहेको आयोजनामा कार्यरत कर्मचारीहरु बताउँछन्।