गरिबबारेका गरिब विचार

गरिबबारेका गरिब विचार

गरिबी घटाउने कार्यक्रम टाठाबाठाको चर्ने ठाउँ भए, दाता र कर्मचारीले गरिबी बेचेर आफ्नो पेसा-व्यवसाय चलाए


गरिबी जीवनयापनका लागि साधनस्रोतको न्यूनता वा अभावको अवस्था हो— सेवा र वस्तु उपभोग स्तर कम हुनु। गरिबी एक पिँढीबाट अर्को पिँढीमा हस्तान्तरण हँुदै वा अपवादका रूपमा कारणवश अहिलेको पिँढीमा नै सिर्जना भएको हुन्छ।

मानव शरीरको जटिल संयन्त्र वस्तु र सेवाको उपभोगबाट प्राप्त हुने ऊर्जाबाट सञ्चालित हुन्छ। ऊर्जाको उपलब्धताले शरीरको अवस्था निर्धारण गर्छ। पर्याप्त छ, शरीर ठीक छ, न्यून छ, कमजोर छ। सेवा र वस्तुको उपभोग स्तर कम हुँदा शरीर सञ्चालनका लागि ऊर्जाको मात्रा घट्छ परिणाम शारीरिक, मानसिक मात्र होइन, सामाजिक हैसियतमा समेत ह्रास आउँछ।

विश्व बैंकले दैनिक एक अमेरिकी डलरभन्दा कम आम्दानी भएकाले जीवनयापनका लागि आवश्यक न्यूनतम वस्तु र सेवा प्राप्त गर्न नसक्ने भनी गरिबको वर्गमा राख्छ। संसारभर यस्ता मानिसको संख्या ७३४५ लाख (२०१९) रहेको अनुमान छ। फेरि, गरिबको वितरण पनि एकैनासको छैन। अफ्रिका र एसिया महादेशमा गरिबको संख्या अन्यत्रभन्दा निकै छ। अमेरिका, जापान तथा युरोपियन मुलुकमा त गरिबी नभएजस्तै छ।

समाजको गरिबलाई हेर्ने दृष्टिकोणमा समानता पाइँदैन। फलस्वरूप, घटाउने प्रयासमा विविधता छ। कुनै प्रयास कारगर छन्, कुनै छैनन्। गरिबीको गतिशीलतासँग सम्बन्धित यस्ता केही विचार यस प्रकार छन्-

१. गरिबी उन्मूलन गर्न सकिँदैन, घटाउने मात्र हो। सबै समाजमा केही मानिस सदावहार बेकामे हुन्छन्। यिनीहरू जन्मिँदै वा हुर्कंदैमा काम नलाग्ने हुन्छन्। यिनीहरूलाई कुनै हालतमा सुधार्न सकिँदैन। यिनीहरू गरिबीको दुश्चकमा रहन्छन्। गरिब भएकैले गरिब रहिरहन्छन्। फेरि, यस्ता मान्छेको उपस्थिति ज्याला स्थिर राख्न र हाते श्रमिकको उपलब्धताका लागि अपरिहार्य पनि हुन्छ। त्यसकारण राज्य सम्पूर्ण गरिबी निवारणमा लाग्नु उचित र ठीक होइन। सम्पनताको मानक अमेरिकामा ०.१७ प्रतिशत मानिसको घर छैन। तर अमेरिकी सरकार यसप्रति बेपर्वाह छ।

२. राज्यको सहयोग माग गर्नेलाई मात्र दिनुपर्छ। दरकार नहुनेलाई थोपर्नु हुँदैन। गरिबले जबसम्मलाई यस्तो चिज चाहिन्छ भन्दैन तबसम्म राज्य आफंै जान्ने हुँदाका प्रयास कामयावी हँुदैनन्। बलजफ्ती दिएको सहायताको मूल्य हँुदैन र यसले सहायताग्राहीलाई सहयोग पुर्‍याउन पनि सक्दैन। विद्यालयमा नपठाउने र स्वास्थ्य संस्थामा उपचार नगर्ने आदि कारण आपूर्तिमा असन्तुलन हो। आकलन गर्ने र उपभोग गर्नेबीचको असन्तुलन हो।

३. गरिबसँग साधन र स्रोत मात्र कम हुन्छ। उद्यमशीलता बढी हुन्छ। त्यसकारण घटाउने भनेको उद्यमशीलता प्रस्फुटनमा मद्दत गर्ने हो, अरू चिज होइन। पेटेन्ट अधिकारले बुद्धि पनि पुँजीमा हस्तान्तरण हुन्छ। जन्मँदैको साधन र स्रोतले मात्र मानिसको हैसियत निर्धारण गर्न सक्दैन। गरिबलाई हात समाएर हिँडाइरहनु आवश्यक छैन। अवसर र पे्ररकको उपयोग गरेर उद्यमी बनाउन सकिन्छ।

. सम्पन्नताको सिँढी चढ्न गाह्रो छैन। खालि सिँढीको पहिलो खुट्किलोमा पाइला राख्न मात्र गाह्रो हो। पहिलो खुट्किलोमा कदम राखेपछि खुरुखुरु माथि चढ्न सकिन्छ। सहयोग गर्ने भनेको खालि पहिलो खुट्किलोमा पाइला राख्न सक्षम बनाउने मात्र हो।

५. गरिबी घटाउने, सार्वजनिक नीति बनाउने र कार्यान्वयसम्मका सबै काम टाठाबाठाले गर्छन्। गरिबी रोग हो र यसको उपचार हामीले मात्र गर्न सक्छौं भन्ने मान्यता यी राख्छन्। अनुभव नभएकाले म जान्ने हुँ भन्दा काम प्रभावकारी हुँदैन। अझ विदेशी दातालाई त निर्देशित एजेन्डाका कारण गरिबको अवस्था र चरित्रका बारेमा थाहै हँुदैन। गरिबीको अनुभव नभएको यो वर्ग कारणभन्दा पनि लक्षणको उपचारमा लागेका हुन्छन्। त्यसैले गरिबी घटाउने कुरा सिर्फ बुद्धिविलास र अधिकारीको प्रचलित वाक्य मात्र बन्दछ।

६. गरिबको प्रत्येक पल र पूरा जीवन नै जोखिमयुक्त हुन्छ। जोखिमको मात्राले कामप्रतिको लगाव नियन्त्रण गरेको हुन्छ। जति धेरै जोखिम बढ्छ उत्ति नै कम गर्ने जाँगर हराउँछ। एउटा गरिबले सबै बेला र अवस्थामा धेरै किसिमका जोखिमको सामना गर्नुपर्ने हुन्छ। प्रत्येक जोखिमले माथि उठ्ने गरिबको प्रयासलाई क्षत्विक्षत् बनाइदिन्छ। लक्ष्यमा लाग्न दिँदैन, बाटो परिवर्तन गर्न बाध्य बनाउँछ।

७. हैसियत कमजोर भएका कारण गरिबलाई कसैले पत्याउँदैन। मद्दत गर्नेहरू पनि हच्किन्छन्। जोखिम धेरै र मद्दत कमले गरिबको क्षमता संकुचन हुन्छ। अभावका प्वाल टाल्दाटाल्दै ऊ फेरि गरिब नै बन्न पुग्छ। उत्थान केही समय बढ्दै गए पनि जोखिमले फेरि यथास्थितिमा ल्याउन केही बेर लाग्दैन।

८. गरिबी बाध्यता मात्र होइन, मानसिकता पनि हो। गरिबले क्षमता बढ्दा पनि कमजोरी हटाउने उपाय अवलम्बन गर्दैनन्, देखासिखी गरेर अनावश्यक सेवा र वस्तुमा प्राप्त साधनस्रोत खर्चिन्छन्। बारीको पौष्टिक मकै छाडेर चाउचाउ किनेर खान्छ। आय बढाउने एकांकी गतिविधिले गरिबीको कारण उत्पन्न हुने समस्या हट्दैन।

गरिबी उत्पादनका साधन र स्रोतको स्वामित्व र त्यसबाट प्राप्त हुने आय वितरणमा आधारित सामाजिक विभाजन हो। साधनस्रोत प्रशस्त भएकालाई धनी र न्यून वा नभएकालाई गरिब भनिन्छ। यो विभाजन जति बढी असमान हुन्छ सामाजिक तनाव पनि उत्तिकै मात्रामा बढ्छ। दार्शनिक जोन राउल संसारका सबै युद्ध, क्रान्ति वा आन्दोलन समानताका लागि भएको भन्दै प्रत्येक पटकका यस्ता घटना पछि समाज बढी समातामूलक भएको उनको दाबी छ। गरिबको हिस्सा धेरै भयो भने शासकीय व्यवस्थाले स्थिरता मात्र प्राप्त गर्न सक्दैन। सामाजिक नैतिकतामा पनि स्खलन आउँछ। हालैका दिनमा दक्षिण अमेरिका र पश्चिम एसियामा देखा परेको तनावलाई सामाजिक असमानतासँग जोडिन्छ।

आर्थिक वृद्धिले सबैको सम्पन्नता बढाउँछ भन्ने भ्रममा पर्नु हुँदैन। नत्र हामीले अठोट गरेको समृद्धि धनीलाई थप धनी बनाउने र सामाजिक असन्तोष बढाउने दिशातिर उन्मुख हुनेछ।

सन् २०१९ मा २९८ लाख जनसंख्याको अनुमान गर्दा नेपालमा हाल ६२.५ लाख गरिब छन्। नीतिनिर्मातालाई २१ प्रतिशत कम हो भन्ने लागे पनि एक गरिबका लागि सम्पूर्ण जीवन कष्टकर हुनु अभिशाप हो। नेपालका ६२ लाखको जीवन अभिशप्त रहनु नेपाली समाजका लागि पनि सुहाउने कुरा होइन।

करिब ६२ लाख जनसंख्यालाई गरिब राखेर नेपाली समाज शिष्ट र स्थिर रहन सक्दैन। देशको दिगो विकास र सामाजिक शान्ति र सद्भाव बनाइराख्न यीमध्येको धेरैभन्दा धेरैलाई थोरैभन्दा थोरै समयमा गरिबीबाट बाहिर ल्याउनुपर्छ। यसअगाडि गरिबी घटाउन अवलम्बन गरिएका कदमको कारणभन्दा पनि वैदेशिक रोजगार र त्यसबाट प्राप्त विप्रेषणको योगदान महत्वपूर्ण रहेको थियो भनिन्छ। यो क्षेत्र अरूको अवस्थामा भर पर्ने भएको र केही वर्षदेखिको स्थिति हेर्दा उल्लेख्य रूपमा वृद्धि हुन नसकेको यथार्थले सार्वजनिक क्षेत्रको बलियो प्रयास नभई नेपालको गरिबी घट्ने देखिँदैन। उल्लिखित विचारमा सत्यता भए पनि यही यथार्थमा टेकेर काम गर्नुपर्ने हुन्छ।

नेपालमा गरिबलाई सार्वजनिक निकायले पनि अविश्वास गर्ने र गरिबीबाट निकाल्ने उपाय हामीले मात्र जान्दछौं, उनीहरूको सहभागिता आवश्यक छैन भन्ने मान्यता हाबी रह्यो। गरिबी घटाउने कार्यक्रम टाठाबाठाको चर्ने ठाउँ भए। दाता र कर्मचारीले गरिबी बेचेर आफ्नो पेसा-व्यवसाय चलाए। एकाध गरिब अगाडि बढेको घटनालाई आफ्नो सफलता जोडेर सबै गरिबलाई अर्ती उपदेश दिइयो। उनीहरूको जोखिम, बाध्यता र क्षमता केलाउने काम भएन। उनीहरूको सहभागितामा जोखिम घटाउन भौतिक र मानसिक रूपमा तयार गर्ने, अवसर र उत्प्रेरक सघन बनाउँदै उद्यमशीलता जगाउने वातावरण बनाइएन। उद्यमशीलता जोखिमविनाको हँुदैन भन्नेमा ध्यान दिइएन, असफल हुनेबित्तिकै सुधार गर्नेभन्दा जति गरे पनि हँुदैन भन्दै कार्यक्रम नै नियोजन गरियो।

गरिबको कमजोरी र तागतको विश्लेषणमा उनीहरूको सहभागितामा बढाउँदै सार्वजनिक सेवा र वस्तुमा पहुँच अभिवृद्धि गरेर आउन सक्ने जोखिम कमजोर पार्दै उद्यमशीलताको विकास र संरक्षण गर्दै अगाडि बढनुपर्छ। असमानता वृद्धि हुन नदिन नगद वा कार्यक्रममार्फत साधन र स्रोतको पुनर्वितरणलाई अझ सघन बनाउनुपर्छ। आर्थिक वृद्धिले सबैको सम्पन्नता बढाउँछ भन्ने भ्रममा पर्नु हुँदैन। नत्र हामीले अठोट गरेको समृद्धि धनीलाई थप धनी बनाउने र सामाजिक असन्तोष बढाउने दिशातिर उन्मुख हुनेछ। समतामूलक बन्न नेपालीले सदावहार आन्दोलन गरिरहनुपर्ने अवस्था आउँछ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.