‘कला समाजको प्रतिविम्ब हुनुपर्छ’

‘कला समाजको प्रतिविम्ब हुनुपर्छ’

काठमाडौं : गत वर्षको घटना हो। कोलकातामा रहेका कलाकार सतद्रु सोभान पत्रिका पढिरहेका थिए। पत्रिकामा छापिएको एक खबरले उनलाई मर्माहत बनायो। खबर थियो, ‘एचआईभी संक्रमित एक परिवार कोलकाताकै अपार्टमेन्टमा लामो समयदेखि बस्दै आएका थिए।

वरपरका छिमेकी र समाजलाई उनीहरू एचआईभी संक्रमित हुन् भन्ने पत्तो थिएन। जब छिमेकीलाई उनीहरूको रोगबारे जानकारी भयो, तब रातको समयमा कुटपिट गरेर अपार्टमेन्टबाट उनीहरूलाई निकालिदिए। दुईजना ससाना बच्चासहितका उनीहरू तीन दिनसम्म बाटोमा बस्न बाध्य भए।’

खाना र पानीबिना नै यो परिवारको बिजोग बनाइदिएको थियो समाजले। कोलकाताजस्तो सहरमा सबैजना शिक्षित प्रायः छन्। जान्नेबुझ्ने छन् तर उनीहरूलाई थाहा छैन सामाजिक न्यायका कुरा। एचआईभी रोग लाग्नेहरू पनि बाँच्न पाउनुपर्छ भन्ने सामान्य चेतना पनि नभएका मानिस देख्दा सतद्रुलाई अत्यन्तै दुःख लाग्यो। यो खबरले उनलाई धेरै दिनसम्म चैनको निद्रा दिएन। केही दिनपछि कोलकाताकै केही ठाउँमा एचआईभीविरुद्ध पर्फम आर्ट प्रदर्शन गरे। यसअघि जेन्डर र सेक्सुआलिटीका विषयमा चित्र कोर्दै आएका, पर्फम आर्ट देखाउँदै आएका सतद्रुलाई सामाजिक समस्या पनि आर्टले समेट्नुपर्छ भन्ने लाग्यो। उनका अनुसार कलाकारलई सामाजिक जिम्मेवारीको बोध हुनुपर्छ।

कोलकातामा जन्मिए पनि नयाँ दिल्लीमा हुर्किएका हुन् उनी। व्यापारिक घरानाका छोरा। कला, संगीत र सिर्जनात्मक विषयले घरमा खासै ठाउँ पाउँदैनथ्यो। उनी भने घरमा कोही नभएको मौका छोपी घरका भित्ता रंग्याउँथे। कापी, कलम, रङ जे भेट्यो त्यसैले मनमा लागेका चित्र कोर्न बस्थे। उनको बच्चादेखिको लगाव थियो चित्रमा। चित्र कोर्न पाउँदा उनलाई रमाइलो लाग्थ्यो। सतद्रुले शान्ति निकेतन वेस्ट बंगालबाट बीएफए र एमएफएको अध्ययन सकाएका हुन्। इन्स्टिच्युट अफ फाइन आर्ट मोदीनगरमा लेक्चररका रूपमा केही समय काम गरे। युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट एमफिल सकेका छन्।

पछिल्लो केही समयदेखि सतदु्रले नयाँ दिल्लीमै बसेर भिजुअल आर्ट अगाडि बढाएका छन्। उनलाई जेन्डर र सेक्सुआलिटीको विषयले धेरै छुने गर्छ। नेपाल, भारत, पाकिस्तान, बंगलादेशलगायत दक्षिण एसियाका देशमा यो विषयमा अत्यन्तै समस्या उनले देखेका छन्। पितृसत्तात्मक सोचका कारण जेन्डरका विषयमा सहज रूपमा छलफल नै नहुने गरेको उनले भोगेका छन्। जेन्डर, सेक्सुआलिटी तथा कृत्रिमताले मानव जीवनमा पारेका प्रभावको विषयमा उनी भिजुअल आर्ट प्रदर्शन गर्छन्।

केही महिनाअघि उनी आर्ट प्रदर्शनको सिलसिलामा चीन गए। उनले प्राकृतिक रूपमा आफैं सन्तान उत्पादन गर्न नसक्ने जोडीले अरू व्यक्तिको स्पमद्वारा बच्चा उत्पादन गर्ने गरेको देखेका थिए। अस्पतालले नै कसको स्पम हो भनेर जानकारी नगराउने गरेकोमा सतदु्रलाई चित्त बुझेन। यसरी जन्मेको बच्चाले जीवनभर आफ्नो रियल मातापिता थाहा पाउन नसक्ने यथार्थले उनलाई दुःखी बनायो। चीन गएको बेला उनले एक विशेष कपडाले आफ्नो अनुहार छोप्दै बाबुआमाको खोजी गरिरहेको कारुणिक प्रस्तुति प्रदर्शन गरे। उनको यो प्रस्तुतिले धेरै मानिसलाई सोचमग्न बनायो। आफूलाई बच्चा दान गर्ने व्यक्तिको परिचय सार्वजनिक गरिनुपर्छ भन्ने आवाज उठ्न थाल्यो। यही प्रस्तुतिलाई उनले कोरिया र भारतका केही सहरमा पनि निरन्तरता दिए।

धर्मका नाममा भइरहने गरेको गलत प्रचार र मान्यतालाई पनि उनले आर्टको विषय बनाउने गरेका छन्। सामाजिक न्यायको विषयमा पनि काम गरेका छन्। आर्टका विभिन्न विधा इन्स्टलेसन आर्ट, परफरमर आर्ट, भिडियोग्राफी, फोटोग्राफी, चित्रकारिता, साउन्ड आर्टजस्ता विधामा पनि अब्बल मानिन्छन् उनी। आफ्नो काम समाजसँग प्रत्यक्ष जोडिन्छ भनेर दाबी गर्ने सतद्रु समाजबाटै परफम आर्टका विषयको सिर्जना गर्छन्।

सन् १९९३ देखि परफम आर्टमा सक्रिय सतद्रु बादल सरकार र रत्नावलिकनजस्ता चर्चित कलाकारका फ्यान हुन्। काठमाडांै इन्टरनेसनल परफरमेन्स आर्ट फेस्टिभलमा भाग लिन उनी नेपाल आएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.