भारतीय पक्षले समय नदिँदा माधव नेपालको दिल्ली भ्रमण रोकियो
काठमाडौं : नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा कुराकानी गर्न विशेष दूतका रूपमा भारत जान लागेका छन्। प्रधानमन्त्री केपी ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली जाने गृहकार्य गरे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय उपलब्ध गराउँदा जान पाएका छैनन्।
नेकपा सचिवालय बैठकमा बुधबार पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफू प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा सरकारको विशेष दूत बनेर दिल्ली जान लागेको जानकारी दिएका थिए।
‘प्रधानमन्त्री ओलीले १५-२० दिनअगाडि मलाई सरकारको प्रतिनिधिका रूपमा दिल्ली जानुहोस्, मोदीजीसँग कुरा गरेर आउनुहोस् भन्नुभएको थियो। मैले हुन्छ भनें। परराष्ट्र मन्त्रालयले प्रयास गरिरहेकै छ। मैले पनि भारतीय राजदूतसँग छलफल गरें। उताबाट कुनै जानकारी नआएकाले टुंगो लागेको छैन’, बैठकमा नेपाललाई उधृत गर्दै सचिवालयका एक सदस्यले भने।
अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको सचिवालय बैठकमा दिल्ली जानका लागि अहिलेसम्म भएका तयारीका विषयमा संक्षिप्त जानकारी गराएका थिए।
भारत सरकारले गत कात्तिक १६ मा कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूभाग समेटेर राजनीतिक नक्सा जारी गरेपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ।
प्रधानमन्त्री ओलीले कात्तिक २३ मा डाकेको सर्वपक्षीय बैठकले भारतीय राजनीतिक नक्सा मान्य नहुने निष्कर्ष निकालेको थियो। बैठकले लिम्पियाधुराबाट बग्ने नदी नेपाल-भारत सीमा क्षेत्र भएको भन्दै राष्ट्रिय सहमति कायम गरेको थियो।
सरकारले गत मंसिर ५ मा परराष्ट्र मन्त्रालयमार्फत ‘कूटनीतिक नोट’ पठाएर भारतीय कदमविरुद्ध विरोध जनाएको थियो। त्यसपछि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग औपचारिक संवादका लागि पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता विदेश विभाग प्रमुख माधव नेपाललाई विशेष दूतका रूपमा दिल्ली पठाउने तयारी गरेका थिए।
‘माधव कमरेडले प्रधानमन्त्रीले आफूलाई दिल्ली जान प्रस्ताव गरेको, त्यसपछि परराष्ट्र मन्त्रालयले औपचारिक प्रयास गरिरहेको, आफ्नो तर्फबाट पनि अनौपचारिक छलफल भइरहेको तर जाने विषयमा ठोस प्रगति भइनसकेको जानकारी बैठकमा गराउनुभयो’, सचिवालयका ती सदस्यले भने। दुई मुलुकबीच खास सन्दर्भ (विवाद वा सहकार्य) पर्दा यसरी विशेष दूत पठाउने गरिन्छ।
कूटनीतिक च्यानलमार्फत भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ताको समय मिलाउने र नेता नेपाल भारत जाने तयारी थियो। तर भारतीय प्रधानमन्त्रीसँगको भेटका लागि समय मिलिनसकेको छैन। ‘उहाँसँग समय लिन प्रयास जारी छ’, ती नेताले भने, ‘प्रधानमन्त्रीको पत्रसहित विशेष प्रतिनिधि दिल्ली जानुअगाडि भारतीय प्रधानमन्त्रीसँग समय लिनुपर्छ। त्यो मिलेको छैन।’
दिल्ली जाने विषयमा नेता नेपाल र अध्यक्ष दाहालबीच पटकपटक छलफल भएको छ। महासचिव विष्णु पौडेलले भने यस विषयमा पार्टीमा औपचारिक जानकारी नभएको बताए। उनले भने, ‘प्रधानमन्त्री र माधव कमरेडबीच केही छलफल भएको भए उहाँहरूले नै जान्ने कुरा भयो। हामीलाई यसबारे कुनै जानकारी छैन।’