‘उम्किन्छन्’ काम नगर्ने ठेकदार

‘उम्किन्छन्’ काम नगर्ने ठेकदार

प्रदेश ३ ब्युरो : प्रदेश ३ का विभिन्न जिल्लामा करोडौंका आयोजना अलपत्र छन्। ठेकदार सम्पर्कमै नआएपछि कतिपय ठाउँमा नयाँ सम्झौता गरिएको छ। तर, राजनीतिक आडमा ठेक्का लिएर काममा लापरवाही गर्ने ठेकदारलाई कारबाही नभएको सिन्धुलीको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतको दुखेसो छ।

सिन्धुलीमा मदन भण्डारी लोकमार्गअन्तर्गत कमला नदी, मध्यपहाडी लोकमार्गअन्तर्गत बहादुर खोला र खाङसाङको सोखु खोलामा पुल निर्माण दशकदेखि अधुरै छ। ३२ करोड लागतमा २०६८/६९ देखि रानीवास र हत्पते जोड्ने गरी कमला नदीमा पुल बनाउन थालिएको थियो।

पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेको कमला नदीको पुल। 

पप्पु कन्स्ट्रक्सनको लापरवाहीका कारण पुल अलपत्र छ। सम्झौताअनुसार २०७२/७३ मा काम सम्पन्न गर्नुपथ्र्यो। ४० प्रतिशत काम नसकी ठेकदार भागेको हो।

पप्पु कन्स्ट्रक्सनका निर्देशक हरिनारायण रौनियार प्रतिनिधिसभा सदस्य छन्। पर्सा निर्वाचन क्षेत्र ३ बाट निर्वाचित रौनियार सम्पर्कमा छैनन्। ६ मिटर चौडाइ र ५ सय ४६ मिटर लामो पुल निर्माण गर्नुपर्ने प्राविधिक प्रतिवेदनमा उल्लेख छ।

मध्यपहाडी लोकमार्गमा निर्माणाधीन दुई पक्की पुल आठ वर्षदेखि अलपत्र छन्। फिक्कल गाउँपालिका–४ खाङसाङ खोला र फिक्कलकै ६ नम्बर वडा बादुरा सोखु खोलामा पुल नबनेको हो। खाङसाङ खोलामा पप्पु कन्स्ट्रक्सन र बादुरा सोखु खोलामा नेपाल प्रगति जेभीले ठेक्का लिएका थिए।

मकवानपुर र सिन्धुली जोड्ने बागमती खोलाको पुल निर्माण सम्झौता अवधि सकिएको तीन वर्षमा ५० प्रतिशत मात्र काम भएको छ। पाँच वर्षभित्र काम सम्पन्न गर्ने गरी २०६८ असार २९ गते स्वच्छन्द भैरवले तत्कालीन धरान–चतरा–सिन्धुली–हेटौंडा सडक आयोनजना (हाल मदन भण्डारी लोकमार्ग सडक आयोजना)सँग सम्झौता गरेको थियो। उक्त अवधिमा काम नभएपछि २०७५ असोजसम्म म्याद थप गरिए पनि पुल बनेन। स्वच्छन्द भैरवले क्यानन गौतम जेभीलाई पेटी ठेक्कामा काम दिएको थियो। तर, सात वर्ष अवधिमा १२ वटा पिलर हालेर पेटी ठेकदार भागेपछि स्वच्छन्दले गत वर्षदेखि काम गरिरहेको छ।

मकवानपुरको गढी–५ आमभञ्ज्याङबाट ३ नम्बर वडाको काली खोला जोड्ने पुलको ठेक्का सम्झौता गत असार दोस्रो साता सकियो। नागार्जुन शंकरमाली जेभीले २७ प्रतिशत काम मात्र सकाएको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख पुष्कर पोखरलेलले बताए ।

उक्त कम्पनीले नै ठेक्का लिएको हेटौंडा–९ बाट हेटौंडा–१३ पदमपोखरी जोड्ने कुखरेनी खोलाको पुल पनि अलपत्र छ। निर्माण प्रगति ५५ प्रतिशत मात्र रहेको र ठेकदार सम्पर्कमा नरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। ४ करोड ६६ लाख २३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकामा ठेकदार कम्पनीलाई २ करोड ३८ लाख ४१ हजार रुपैयाँ भुक्तानी दिइएको पोखरेलले बताए।

मकवानपुरका पाँच स्थानमा निर्माण अलपत्र पार्ने कम्पनीलाई कालोसूचीमा राख्ने तयारी छ। महावीर, शिखर, तामाकोसी जेभीले दुई वर्ष समय लिएर निर्माण सुरु गरेको फापरबारी–भोर्लेनी सडकको काम एकतिहाइ पनि भएको छैन। पुल निर्माणको सम्झौता अवधि गत भदौमा सकिएको छ ।

महावीर, शिखर, तामाकोसी जेभीले ठेक्का लिएको मनहरी–चैनपुर–राक्सिराङ सडकस्थित आँपखोल्ची पुल पनि अलपत्र छ। १ करोड २१ लाख ६७ हजार रुपैयाँमा ठेक्का लिएको कम्पनीले दुई वर्षको अवधि गुजारेको एक वर्ष पुग्न लागेको छ। इलाइट, सपना, विद्याञ्चल जेभीले ठेक्का लिएको हटिया–बालबोध गुवाबारी सडकमा निर्माणाधीन पुलको म्याद सकिएको दुई वर्षसम्म पूरा भएको छैन।

नक्सा नै गलत

दोलखाको गौरीशंकर गाउँपालिकामा निर्माणाधीन दुई पुल १० वर्षदेखि अलपत्र छन्। नेपाल कन्सल्ट्यान्ट प्रालिले गलत नक्सा सिफारिस गरेका कारण गौरीशंकर गाउँपालिका–५ भोर्ले र वडा नम्बर ७ स्थित घट्टे खोलाबीचको पुल अझै नबनेको हो।

कन्सल्ट्यान्टले सिफारिस गरेको डिजाइन, मापदण्ड र तौलअनुसार पटक–पटक वर्कसप डिजाइन गर्दा पनि ५२ टन तौल अपुग भएको थियो। कन्सल्ट्यान्टले करिब १ सय ६४ टन स्टिल फेब्रिकेसनको सिफारिस गरेको थियो। दुई फरक वर्कसपमा डिजाइन गर्दा करिब २ सय १६ टनको हिसाब निस्किएपछि नक्सा गलत भएको सडक डिभिजन कार्यालय दोलखाका प्रमुख धमेन्द्र झाले बताए। २०६६ मा ६ करोड रुपैयाँ लागतमा रौताहा/ओमबुद्ध जेभीले यसको ठेक्का पारेको थियो। ३१ टन बढेको तौलको भुक्तानीका लागि १ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ।

गौरीशंकर गाउँपालिका–७ स्थित घट्टे खोलाको पुल २०६८ असार २९ मा ठेक्का सम्झौता गरेको सर्बउद्धार/फ्रेन्डस/ श्रेष्ठ जेभीले आठ वर्षदेखि अलपत्र छाडेको हो। १ करोड ९५ लाख ४७ हजार लागत रहेको साढे ७ मिटर चौडाइ ६० मिटर लम्बाइको पुल ८ वर्षमा एकापट्टिको आधार संरचना मात्र बनेको थियो। त्यो पनि बाढी र पहिरोले क्षति पुर्‍याएको स्थानीय बताउँछन्।तामाकोसी नदीको दुवैतर्फ आधारसंरचना बनेपछि अलपत्र अवस्थामा रहेको गौरीशंकर गाउँपालिका–५ स्थित भोर्ले पुल।

ठेकदार कम्पनीका प्रतिनिधि रामकाजी श्रेष्ठले आधिकारिक नापनक्सा उपलब्ध गराउन सडक कार्यालयमा निवेदन दिएको बताए। डिजाइन उपलब्ध नगराएकाले काम रोक्नुपरेको उनको भनाइ छ। सडक कार्यालय प्रमुख झाले ड्रोइङबिना एउटा आधार संरचना कसरी निर्माण गरियो भनेर आफू अन्योलमा रहेको बताए। ठेकदारलाई सहमतिमा ल्याउन प्रयास गर्ने नभए चालू वर्ष ठेक्का तोड्ने उनले बताए।

भूकम्पपछि काम ठप्प

काभ्रेको रोशी गाउँपालिका–७ र नमोबुद्ध नगरपालिका–६ खरीबोट जोड्ने रोशी खोलाको पुल आठ वर्षदेखि अधुरै छ। २०६५ मा पुल निर्माण सम्झौता गरेको कन्काई कान्छाराम कन्स्ट्रक्सन जेभीले २०७२ को भूकम्पपछि काम छाडेको हो। डाँडापारि क्षेत्रका बासिन्दाका लागि यो मुख्य बाटोमा पर्ने पुल हो।

पुरानो निर्माण कम्पनीसँगको ठेक्का रद्द गरी २०७५ साउनमा इलाइट कन्स्ट्रक्सनसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय काभ्रेले जनाएको छ। सय मिटरको पुल बनाउन १ करोड ५० लाख लागत अनुमान गरिएको छ।

वैकल्पिक सडकको ठेकदार बेपत्ता

काठमाडौं प्रवेश गर्ने मुख्य नाका हो, नागढुंगा। सवारी चाप बढेसँगै जामको समस्या देखिन थालेपछि विकल्पका रूपमा सरकारले धादिङको धार्केबाट काठमाडौं सीतापाइला जोड्ने सडक निर्माण थालनी गर्‍यो। तर, ठेकदार बेपत्ता भएपछि सडक स्तरोन्नति कार्य ठप्प छ।

स्तरोन्नति भइरहेको धार्के–सीतापाइला सडक। 

धुनीबेंसी नगरपालिकाको धार्के बजारस्थित पृथ्वी राजमार्गबाट ठूलो खोला–भीमढुंगा हुँदै सीतापाइला जोडिने २३ किलोमिटर सडकको जिम्मा ३ नम्बर प्रदेश सरकारबाट कोसी–न्यौपाने निर्माण कम्पनीले लिएको थियो। उक्त कम्पनी सडक विभागको सम्पर्कमा छैन। ७० प्रतिशत काम सकिए पनि गत असारदेखि ठेकदार कम्पनीले केही काम नगरेको साइट इन्जिनियर बोधप्रसाद भण्डारीले बताए।

गत असारसम्ममा सबै काम सक्नुपर्ने भए पनि त्यही मितिदेखि ठेकदार बेपत्ता छन्। ठेकदार कम्पनीका कोही प्रतिनिधि पनि सम्पर्कमा नरहेको प्रादेशिक डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यले बताए। ‘जसले ठेक्का पाएको हो उसले पनि अर्कै व्यक्तिलाई ठेक्का दिएको रहेछ’, उनले भने, ‘काम अलपत्र छाडेर ठेकदार कम्पनी सम्पर्कमै छैन।’

धार्केबाट ठूलो खोलासम्मको १३ किलोमिटर दूरीमा नाली बनाउने, सडक चौडा गर्ने, ह्युमपाइप गाड्ने र कजवे बनाउने गरी १२ करोड रुपैयाँमा ठेक्का लागेको थियो। मुख्य ठेकदार कम्पनीले स्थानीय ठेकदार सुरेश लामालाई जिम्मेवारी दिएर सम्पर्कविहीन भएको हो। लामाले पनि पैसा नपाएपछि काम गर्न छाडेका थिए।

सडक डिभिजनले अर्का ठेकदार शिवराम भण्डारीलाई ५ करोड रुपैयाँमा ठेक्का दिएको छ। चालू आर्थिक वर्षभित्र ग्राभेल पनि गर्नुपर्नेछ।

बहाना भूकम्पको

६५ वर्षदेखि सञ्चालित बालाजु–ककनी–पीपलटार सडकखण्ड स्तरोन्नति भइरहेको छ। पटक–पटक म्याद थप गरे पनि काम पूरा भएको छैन। ५१ किलोमिटर दूरीको मुड्खु–ककनी–पीपलटार खण्डको मुड्खुबाट ककनीसम्म शारदाप्रसाद अधिकारीको शैलुङ कन्ट्रक्सनले ठेक्का पाएको थियो। २०७१ सालमै सक्नुपर्ने काम भूकम्पको बहानामा ठेक्का लम्ब्याउँदै लगेको हो। ५४ करोड रुपैयाँ लागतको काममध्ये ४४ प्रतिशत शैलुङ कन्ट्रक्सनले पाएको थियो।

काठमाडौंबाट नुवाकोट हुँदै रसुवागढी नाका पार गरेर चीनको केरुङ जोड्ने पासाङल्हामु मार्गको यात्रा बालाजु–पीपलटार सडकका कारण सास्तीपूर्ण बनेको छ। एक्जिम बैंक भारतको ऋण सहयोगमा बालाजु–ककनी–त्रिशूली खण्डको ५५ किलोमिटर सडक दुई खण्डमा बाँडेर स्तरोन्नतिको काम भइरहेको छ। ककनीबाट त्रिशूलीसम्मको खण्ड पनि यस्तै अलपत्र छ। ७० करोड रुपैयाँमा कोसी निर्माण कम्पनीले ठेक्का लिएको थियो।

(सिन्धुलीबाट राजन गाउँले, मकवानपुरबाट कृष्ण सारू मगर, दोलखाबाट रवीन्द्र गौतम, काभ्रेबाट रोजन तामाङ, धादिङबाट मनीष दुवाडी, नुवाकोटबाट देवचन्द्र भट्ट)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.