मिठाईका डिब्बा बेचेर घरघडेरी
सुर्खेत : दुई दशकअघि उनलाई के खाउँ के लाउँ भन्ने चिन्ता थियो। परिवारमा कमाउने कोही थिएन। ऋण मागे पनि कसैले पत्याउँदैन थिए। तर, अहिले उनी ऋण माग्ने होइन दिने भएका छन्। उनी हुन्, वीरेन्द्रनगर १० निवासी नन्दप्रसाद चौलागाईं।
दुई अघि मिठाईका डिब्बा बनाउने व्यवसाय थालेका उनले अहिले सुर्खेतमा करोडौंको घरघडेरी जोडेका छन्।
कम्तीमा वार्षिक दुई लाख आम्दानी गर्दै आएका उनले मिठाई डिब्बा बेचेरै सुर्खेतमा एक बिघा जग्गा र एकतले पक्की घर जाडेको बताए। उनका अनुसार सिन्धु नामक एक संस्थाले उनकी श्रीमती नन्दारुपालाई डिब्बा बनाउने तालिम दिएपछि उनले पनि उक्त सीप सिकेका थिए।
हाल भारतबाट कच्चा पदार्थ ल्याएर उनले घरमै बनाएका तीन प्रकारका मिठाई डिब्बा सुर्खेत, दैलेख र जाजरकोटमा बिक्री हुन्छन्। सुरु सुरुमा बजार व्यवस्थापनमा उनले निकै कष्ट भोगेको बताए। तर, अहिले डिब्बा किन्ने व्यापारी उनको घरमै पुग्छन्। उनले भने, ‘प्रतिजोडा डिब्बा ३४ रुपैयाँमा बिक्री हुन्छ, बजार मागअनुसार वर्षदिनमा लाखौं डिब्बा उत्पादन गर्छु।’
अहिले सुर्खेतमा नन्दप्रसाद परिवारको मेहनेत र परि श्रमको समेत निकै चर्चा हुनेगर्छ। बेरोजगार युवा, अपांगता भएका व्यक्ति र लागुऔषधमा फसेका उनको परिवारलाई प्रेरणाको स्रोत ठान्छन्। सकिनसकी सधैं काममा व्यस्त हुन खोज्ने नन्दप्रसादलाई भेट्न हरेक दिन २०÷२५ जना घरमै पुग्छन्।
भाग्यले ठग्यो, मिहिनेत ठडिए
नन्दप्रसादका दुवै खुट्टा चल्दैनन्। उनकी श्रीमती पनि दुवै आँखा देख्दिनन्। साथमा रहेकी एउटी छोरी पनि बौद्धिक अपांग छन्। चौलागाईं परिवारलाई भाग्यले साथ नदिए पनि कर्म र मिहिनेतले सफलता प्राप्त भएको छ। चार जनाको परिवारमा तीन जना सदस्यको अवस्था सामान्य छैन। तर, पनि निरन्तरको कर्म र मिहिनेतले यो परिवार आर्थिक रूपमा भने सबल बन्दै गएको छ।
जुम्लाको लाम्रा गाउँमा जन्मेका ६६ वर्षीय उनी २४ वर्षौंदेखि सुर्खेत बस्दै आएका हुन्। दृष्टिविहीन श्रीमती र बौद्धिक अपांगता छोरीलाई साथमा च्यापेर जुम्लाबाट खाली हात सुर्खेत पसेका नन्दप्रसाद अहिले सबैको प्रेरणाको स्रोत बनेका हुन्। जीवन संघर्षका हजारौं दुःख पिडालाई लुकाएर समाजका अघि मिहिनेतले खुसीका साथ जिउनुलाई उनी आफ्नो नैतिकता ठान्छन्।
भाग्यभन्दा कर्ममा धेरै विश्वास गर्ने नन्दप्रसादले २०५५ सालदेखि घरमै मिठाई हाल्ने डिब्बा बनाउन थालेपछि कसैसँग मागेर खानु परेको छैन। ‘समाजमा अपांगताप्रति हेर्ने दृष्टिकोण फरक छ। हामी अपांगता भएका व्यक्तिले पनि मागेर खाने बानी छाड्नुपर्छ। आफ्नो सिप बेचेर खान सिक्नुपर्छ’, उनले भने, ‘मेरो घरका तीनै जना अपांगता मिलेर हरेक दिन मिठाई डिब्बा बनाउँछौं, त्यसैबाट आम्दानी भएको रकमले हाम्रो घरखर्च चल्छ।’ मिठाई डिब्बा बेचेरै आम्दानी भएको रकमले उनले छोरालाई बीएडसम्म पढाए।
१० वर्ष अस्पताल बस्नुको पीडा
‘म नेपाल आर्मीमा थिएँ, २०४१ सालमा ड्युटीमै बसेको बेला एक्कासी बिरामी भएपछि आर्मीको जहाजले जुम्लाबाट त्रिचन्द्र मेट्रो हस्पिटल माहाकालथान काठमाडौं ल्यायो, प्यारालाइसिस भएर मेरो दुवै खुट्टा चल्न छाडे’, उनले भने, ‘उपचारको सिलसिलामा १० वर्ष अस्पतालमै बस्नुपर्यो, त्यहीबेला घरमा श्रीमतीका आँखा फुटे भने जेठी छोरीको मृत्यु भयो, कान्छी छोरी पनि बौद्धिक अपांगता भई, मलाई भाग्यले ठग्यो तर कर्मले जितेको छुँ।’
पहिलेको परिवार एउटै ठाउँ बसेर हाँसखेल गरेको र अहिलेको अशक्त परिवार एउटै ठाउँ बसेर संघर्ष गरेको क्षण सम्झेर उनी अन्नपूर्णसँग भक्कानिए। ‘म दुई वर्षको दूधे बालक हुँदा मेरो बाबा बिते, आमालाई गाउँलेले अर्केसँग पोइल लगाइदिए, आफन्तकैमा हुर्किदा मलाई आमा–बाबाको माया थाहा छैन’, उनले थपे, ‘म जान्नेबुझ्ने भएदेखि सानैमा कालापहाड जान थालेँ, गाउँमा एक छाक खान दिनभर अर्काको काम गर्नुपथ्र्यो।’
बाल्यकाल दुःखले बिताएका नन्दप्रसादले नेपाल आर्मीमा भर्ती भएपछि अक्षर चिनेका हुन्। आफूलाई नेपाल आर्मीले बचाएर दोस्रो जन्म दिएको भन्दै उनी आर्मी र आर्मी संस्थालाई भगवान सम्झेर पुकार्छन्। उनी आर्मी अस्पतालमा उपचारका लागि १० वर्षसम्म बसेका थिए। ‘अस्पतालमा मलाई हिनताबोध भयो, सरकारको कामै नगरी सेवा मात्रै कत्ति लिनु भन्ने सोचाइ आयो’, उनले भने, ‘बरु मरे पनि घरमै मर्छु सोचेर पछि आर्मीबाट राजीनामा दिएर घर फिर्ता भएँ, अहिले जेजस्तो अवस्थामा छु, खुसी छु, अर्कातिर हेर्नुभन्दा आफै मिहिनेत गरियो भने सुख मिल्दो रहेछ।’